बन्ने भयो इतिहास झल्काउने गोरखा गेट

0

हाम्रो गोर्खा
गोरखा ।  इतिहास झल्काउने गरी मझुवा देउरालीमा गोरखा गेट निर्माण हुने भएको छ । झण्डै १ करोडको लागतमा गोरखा जिल्लाको मुख्य प्रवेशद्धार मझुवामा गोरखा गेट बन्न लागेको हो । पृथ्वीराजमार्गबाट आँबुखैरेनीहुदै गोरखा प्रवेश गर्ने मझुवा देउरालीको मस्र्याङ्दी पुल नजिकै बन्ने गेटको एक कार्यक्रमका बिच गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले शिलन्यास गरेका हुन् । गोरखा ऐतिहासिक जिल्ला हो, इतिहास हेर्न र बुझ्नैका लागि यहाँ धेरै आन्तरिक र बाह्य टुरिष्ट आउछन्’ नगरप्रमुख पन्तले भने ‘गोरखा प्रवेश गर्ने सबैलाई इतिहासको झल्को दिने गरी हामीले स्वागत गेट बनाउदैछौ ।’

राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको शालिक सहित बन्ने गेट निर्माणका लागि यस बर्ष नगरपालिकाले ६० लाख बजेट छ्ुट्याएको जनाएको छ । गोरखा प्रवेश गरेलगत्तै जिल्लाको झलक दिने गरी गेटको निर्माण हुने बताइएको छ ‘जिल्ला प्रवेश गर्ने वित्तिकै यसले गोरखाको झलक देओस भन्ने हाम्रो अभिप्राय छ ।’ पन्तले भने ‘यसबाट जिल्लाको पर्यटन ब्यवसायमा पनि फाइदा पुग्ने हाम्रो विश्वास छ ।’

यस बर्ष छुट्याइएको ६० लाखबाट भौतिक संरचना निर्माण हुने बताइएको र त्यसपश्चात जिल्लाको पहिचान झल्कने खालका विभिन्न सामाग्री र सुचनाहरु उक्त गेटमा राख्ने नगरपालिकाको तयारी छ । ‘त्यो खाली गेट मात्र होइन, गोरखाको इतिहास र परम्पराका झल्काउने खालका कुराहरु हामी गेटसँगै राख्छौं’ नगरप्रमुख पन्तले भने ‘त्यहाँ गोरखाका चिनारी, महत्वपूर्ण जानकारी, इतिहास, सुचनापाटी समेत राखिने छ ।’

भौतिक पूर्वाधार निर्माणको काम सकेपछि सजावटका लागि नगरपालिकाले दोश्रो चरणको ठेक्का लगाउने नगरपालिकाका प्रमुख इन्जिनियर प्रकाश ढकालले बताए । ‘यो गेटमा दुई वटा द्धार हुन्छन् एउटा आउने र अर्को जाने’ ढकालले भने ‘त्यसको दायाँ बायाँ दुई वटा कोठा बनाईन्छ र त्यहाँ जिल्लाका महत्वपूर्ण सूचना, गोरखा नगरपालिकाको प्रोफाईल लगायतका विभिन्न कुराहरु राख्ने गरी हामीले स्टिमेट गरेका छौ ।’

जिल्लाकै सुुसु इन्जिनियरिङ एण्ड कन्सट्रक्सन प्रालिले निर्माण गर्ने उक्त गेटको भौतिक संरचना चैत्रसम्म सकिने इन्जिनियर ढकालको दावी छ । त्यसपश्चात अन्य सजावटको काम पनि यही आर्थिक वर्ष भित्र हुने गोरखा नगरपालिकाले जनाएको छ । गेट गोरखाको परम्परा झल्कने खालको परम्परागत इट्टा र झिगटीको छानाले बनाइने उनले बताए । गेटमा पृथ्वी नारायण शाहको मूर्ति सहित क्रश खुकुरी समेत राखिने बताइएको छ ।

Share.

Leave A Reply