नेपाल र कतारबीचको सम्बन्ध श्रम र रेमिट्यान्स भन्दा माथि किन उठ्न सकेन ? (अन्तर्वार्ता)

0

बिश्वमानचित्रमा बिकसित मुलुकको रुपमा परिचित कतार र नेपालबीचको सम्बन्धको झन्डै ४ दशक पुगेको छ। नेपालीहरु सन ८० को दशकमा नै कतार पुगेको पाइन्छ। ४० बर्षको लामो इतिहास हुँदासमेत नेपाल र कतारबीचको सम्बन्ध आजको दिनमा पनि श्रम र रेमिट्यान्स भन्दा माथि उठ्न सकेको छैन।

त्यसो त कतारका अमिर शैख तमीम बिन हमद अल थानीले सीएनएनसंगको एक अन्तर्वार्तामा नाम नै तोकेर नेपाली समुदायको मेहनत, परिश्रम, इमान्दारिताको प्रशंसा गरेका छन। कतारी अमिरले उक्त अन्तर्वार्तामा नेपालीको परिश्रम, मेहनत र इमान्दारिताले कतार समृद्दतर्फ बढ्दैछ भनेका छन। कतारी अमिरको उक्त भनाईले नेपाली समुदायप्रतिको कतारको सम्मान कति छ भन्ने बुझ्न सकिन्छ।

त्यस्तै ६ बर्षअघि कतारका नागरिक तथा राजपरिवारका सदस्य शेख मोहम्मद बिन अब्दुल्लाह अल थानीले नेपालको शैक्षिक क्षेत्रको विकासका लागि सगरमाथा चढे र त्यो सफलतालाई सम्मान गर्नका लागि कतार फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा नेपालको बालबालिकाको उन्नति देख्न चाहेकाले आफुले नेपालको सगरमाथा चढ्ने निर्णय गरेको बताएका थिए।

कतारले पटक पटक नेपालसंगको सम्बन्धलाई श्रम र रेमिट्यान्स भन्दा माथि लैजान इच्छा जनाएपनि नेपालको कुटनीतिज्ञहरुले त्यसलाई महत्त्व नदिंदा जुन उचाईमा नेपाल कतारको सम्बन्ध हुनुपर्ने हो त्यो हुन नसकेको जनगुनासो छ।

दुई देशको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन, श्रम र रेमिट्यान्सको सम्बन्धबाट अब व्यापारिक साझेदार मुलुक बन्न नेपालले गर्नुपर्ने बिषयमा केन्द्रित रहेर मोहम्मद अज्मत अलिले बिगत १२ बर्षदेखि कतारलाई आफ्नो कर्मभुमि बनाएका राष्ट्रिय मानब अधिकार समिति कतारका नेपाली संयोजक, खाडी मुलुक तथा अरेबिक भाषाका बिज्ञ, प्रोफेशर मोहम्मद रमजान अलि मियाँसंगको कुराकानी गरेका छन। प्रस्तुत छ कुराकानीको सम्पादित अंश

आजको दिनमा कतारमा नेपाली कामदारको अवस्था कस्तो छ ?

आजको सम्बन्धबारे केहि बोल्न अगाडी बिगतको इतिहासबारे हामीले केहि जान्नुपर्छ भन्ने लाग्छ। अध्ययनले १९८० को दशकदेखि नै नेपालीहरु श्रमका लागि कतार पुगेको बताउँछ। सन १९९५ अन्त्यमा नेपाल र कतारबीच हवाई सम्झौता भयो १९९६ मा उडान सुरु भयो। र त्यसपछि नेपालीहरु श्रमका लागि कतार जाने क्रम बढ्यो। नत्र त्योबेलासम्म अरब जाने भनिन्थ्यो। अरब भनेको खाडीका कुनै पनि मुलुक हुन सक्थ्यो।

संख्यात्मक हिसाबले कतारले सन २००६ मा एशियन गेम सफलतापुर्वक सम्पन्न गरेपश्चात नेपालीहरु त्यहाँ जाने क्रम बढेको पाइन्छ। त्यो बेला नेपालमा पनि एउटा संक्रमणकालीन अवस्था सकिएर नयाँ व्यवस्थाको सुरुवात हुँदैगर्दा त्यहि बर्ष १ लाख नेपालीहरु पुगेको पाइन्छ। सन २००७  सम्म यो संख्या करिब ३ लाख पुगेको तथ्यांकले देखाउंछ।

नेपाल भरखरै दन्द्वको चपेटामा निस्किएर नयाँ व्यवस्थाको सुरुवात गर्दै गर्दा कतार बिकासको गतिमा फड्को मार्दै थियो। २००७ मा कतारमा औलामा गन्न सक्नेगरि नेपाली व्यवसायी थिए। त्यो बेला अधिकांश नेपाली श्रमिकहरु अदक्ष कामदारमा गनिन्थे र आजको दिनमा पनि झन्डै ७० प्रतिशत नेपाली कामदार अदक्ष कामदारमा गनिन्छन। आजका दिनमा कतारमा नेपालीहरु पूर्वाधारको क्षेत्रमा, निर्माण, कृषिको क्षेत्रमा छन।

अहिले कतारमा अर्धदक्ष नेपाली कामदारको संख्या बढिरहेको छ। कतार एयरवेज, अन्य परियोजना, रेल प्रोजेक्ट लगायतका योजनाहरुमा र पछिल्लो पटक फुटबल स्टेडियम निर्माणमा नेपाली कामदार छन।

अहिले नेपाली व्यवसायीहरुको संख्या पनि बढिरहेको छ। कतारमा भएको नेपाली व्यवसायीहरुको संघ ‘नेपाली कतार व्यवसायी संघ’ मा झन्डै सयको हाराहारीमा छन। पर्यटन, सेवा, होटल, शिक्षा, कामदार आपूर्ति गर्ने कम्पनी, आइटी, ट्राभल एजेन्सी, इन्जिनियर क्षेत्रमा नेपालीहरुको व्यवसाय छ। त्यस्तै नेपालीहरु कतारको सरकारी कर्मचारी, प्राध्यापक, डाक्टर, चार्टड एकाउन्टेन्ट लगायतका क्षेत्रमा जागिरेछन। समग्रमा भन्दा कतारको प्रत्येक क्षेत्रमा नेपालीहरु संलग्न छन र नेपालीहरुले आफ्नो स्तरमा वृद्धि गर्दै लगेका छन।

नेपालीहरुको स्तर वृद्धि हुँदैछ भन्दै गर्दा त्यहाँ नेपाली श्रमिकको श्रमको सम्मान छैन, श्रमको शोषण छ भन्ने कुरापनि उत्तिकै आउँछन ?

कतारमा नेपाली श्रमको सम्मान छ छैन भनेर भन्नलाई हामीले श्रम सम्बन्धमा अन्तराष्ट्रिय मापदण्ड हेर्नुपर्ने हुन्छ। कतारले अन्तराष्ट्रिय श्रम संगठन (आइएलओं) संगको सहकार्यमा कतारको श्रम ऐन नै संसोधन गरेको छ।

कतारको तुलनामा अन्य देशहरुमा श्रमिकहरु बढी शोषित भएको मैले पाएको छु। कतारमा बिगतमा केहि बहुराष्ट्रिय कम्पनी आए, जसले कामदारलाई गर्ने ब्यवहार राम्रो देखिएन र कुनै समयमा समस्या देखिएको पनि हो। तर यसरि समस्या आउनेमा एउटा पनि कतारी कम्पनी छैनन।

कतारमा  नेपाली श्रमिकहरु मेहनती, इमान्दार हुन्छन भन्ने छ र नेपालीप्रति बिश्वास अत्यधिक छ। तर जसरि अन्तर्राष्ट्रिय मिडियाहरुमा नेपाली श्रमिकहरुलाई शोषण गरिएको भन्ने कुराहरु ल्याइयो वास्तवमा त्यो एउटा फन्डा मात्रै थियो। नेपाली श्रमलाई कतारबाट मात्रै नभई खाडी मुलुकबाट नै बिस्थापित गर्नका लागि यस्तो हत्कण्डा मच्याइएको हो।

कुनै बेला कतारमा मृत्युको संख्या बढेको हो। तर त्यसको कारण सवारी दुर्घटना थियो। अधिकांश नेपालीहरुले सवारी दुर्घटनामा ज्यान गुमाएको पाइएको छ। नेपालीहरुले कतार जानअघि लिनुपर्ने कतारबारे लिनुपर्ने सामान्य शिक्षापनि नलिई गएकाले पनि त्यस्तो घटना बढेको पाइएको छ। आजसम्म कुनै पनि कतारीले नेपालीको हत्या गर्यो भन्ने कुरा सुन्न आएको छैन। बरु कहिलेकाहीं नेपालीबाटै वा अन्य देशका नागरिकबाट नेपालीको हत्या भएको सुन्न पाइन्छ।

तर कतार भन्नेबित्तिकै आजपनि लाशको बाकसको कुरा पहिले आउँछ, नकि रेमिट्यान्स वा अन्य कुरा, यस्तो हुनुमा यहाँले के कारण देख्नुहुन्छ ?

कतारमा समस्या छैनन भन्ने कुरा होइन। त्यहाँको समस्यालाई मैले दुई पाटोमा छुट्याउछु। कतारमा भएका कतारी कम्पनीहरुमा श्रमको शोषण, हत्या, मृत्यु भन्ने कुरा आजसम्म सुन्न पाइएको छ र भेटिएको छैन।

जति समस्या आएका छन त्यो बिदेशीहरुले कतारमा स्थापना गरेका कम्पनीहरु हुन। समयमा तलब नपाउने, कन्ट्रयाक्टको अवधि सकिएपछि घर फर्कन नपाउने, आवाशीय परिचयपत्र नपाउने जस्ता समस्या यी कम्पनीहरुमा देखिए।

तर सन २०१६ मा नै श्रम सम्झौता संसोधन भएपछि लगभग धेरै समस्या समाधान भएका छन। ऐनमा नै कामदारलाई बैंकिङ प्रणालीमार्फत तलब दिनुपर्ने कुरा व्यवस्था भएपछि अब समयमा तलब नपाउने भन्ने समस्या नै रहेन।

ऐनमा नै आवासीय परिचयपत्र नबनाउने कम्पनीलाई कारबाही हुने र भारि जरीवाना तिर्नुपर्ने भएपछि अब आवासीय परिचयपत्र नपाउने भन्ने समस्या रहेन। त्यस्तै कामदारसंग नै पासपोर्ट हुनुपर्ने ऐनले व्यवस्था गरिदिएको छ अब यसले पनि सम्झौता अवधि सकिएपछि घर फर्किन नपाउने भन्ने हुदैन। त्यसमा पनि भर्खरै मात्र अक्टुबर २८, २०१८ बाट कतारबाट बाहिरिंदा एक्जिट भिजाको नचाहिने व्यवस्था भएको छ। हिजो ओभर स्टे हुँदा कामदारले प्रति दिन १० रियालका दरले हजारौं जरीवाना तिर्नुपर्थ्यो तर अब त्यो जरीवाना कम्पनीले नै तिर्नुपर्छ। र हिजो ओभर स्टेका कारण कालोसुचिमा पर्थे तर अब त्यो पनि नहुने भयो।

बाकसको कुरा मात्रै किन बढी सुनियो भन्ने कुराले ठुलो अर्थ राख्छ। कतार एउटा सानो मुलुक हो। तर पनि कतारले विश्वकप २०२२ को आयोजना गर्दैछ। कतार अब पेट्रोल भन्दा ग्याँसमा केन्द्रित हुँदैछ र बिश्वमानचित्रमा शक्तिशाली मुलुकको रुपमा उदय हुँदैछ। कतारको प्रगति हिजो ठुला र बलिया भनिने राज्यलाई चित्त बुझेको छैन। त्यसैले गर्दा कतारबाट नेपाल भित्रिने सिप, रेमिट्यान्सलाई बिर्साउनेगरि लासको बाकसका मात्र कुरा हुन्छन। जानेर या नजानेर अन्तराष्ट्रिय केहि संचार माध्यमको चपेटामा नेपाली मिडियापनि परेका छन। यसले गर्दा हाइलाइट हुनुपर्ने कुरा ओझेलमा परेका छन।

नेपाल र कतारबीचको सम्बन्धलाई श्रम र रेमिट्यान्समा मात्र सिमित राख्ने हो या कतारको समृद्धिबाट केहि लिन नेपालले आफ्नो रणनीतिमा  परिवर्तन पनि गर्नुपर्ने हो ?

भर्खरै मात्रै सम्मानीय राष्ट्रपतिको भ्रमणको क्रममा नेपाल र कतारबीच ३ वटा बिषयमा सम्झौता भएको छ। कृषि र खाद्यान्न सुरक्षा मामिलामा, अफिसियल, कुटनीतिक र बिशेष राहदानी बाहकलाई बिना भिजा कतार प्रवेशबारे, सुरक्षाको मामिलामा नेपाल र कतारबीच सम्झौता भएको छ।

कृषि सम्बन्धमा भएको सम्झौता नेपाल भन्दा पनि कतारको लागि बढी महत्त्वपूर्ण छ। कतारले भर्खरै मात्र आर्थिक नाकाबन्दी झेलिरहेको छ, यस्तोमा नेपालले खाद्यान्न, फलफुल, तरकारी लगायतका कृषिजन्य उत्पादनहरु कतारमा आपूर्ति गर्न सक्छ। कतारलाई चाहिने पिउने पानि, अलैची, जडिबुटी लगायतका उत्पादनहरु समेत नेपालले कतारलाई आपूर्ति गर्न सक्छ।

अब नेपाल र कतारबीच श्रम र रेमिट्यान्स मात्र नभई आर्थिक कुटनीति तर्फ ध्यानदिनुपर्छ। बिगतमा अदक्ष रुपमा कतार प्रवेश गरेकाहरु अहिले दक्ष म्यानपावर बनेका छन। उनीहरु दक्ष म्यानपावर बन्नलाई नेपालले एक रुपैयाँ खर्च गर्नुपरेको छैन तथापी त्यो जनशक्ति समृद्ध नेपालको निर्माणका लागि ठुलो अर्थ राख्छ। अब नेपालले कतारलाई श्रममात्र बेच्ने होइन, यहाँको स्प्रिंग वाटर, कृषिजन्य उत्पादन आपूर्ति गर्न सक्नुपर्छ।

नेपालको समस्या भनेको नेपाल र कतारबीच सम्झौता गर्ने तर कार्यन्वयन नगर्ने समस्या छ। अर्को कुरा नेपालमा लगानी गर्नलाई यहाँको कानुन अत्यन्त घुमाउरो पारा भएको बिदेशीहरुको भनाई छ। कतारको ठुला लगानीकर्ताहरु नेपालमा लगानी गर्न चाहन्छन तर यहाँको घुमाउरो कानुनले गर्दा उनीहरुले असहज महसुस गरिरहेका छन।

कतारको ठुलो लगानीकर्ताको कम्पनीको रुपमा परिचित डायर कतारले विश्वका बिभिन्न देशमा लगानी बढाईरहेको छ तर नेपालमा आउनका लागि उनीहरुले यहाँको कानुन देखाउने गरेको पाइएको छ। लन्डनमा कतारले गरेको लगानीबाट नेपालले केहि सिक्नु पर्छ।

त्यस्तै नेपालले कतार लगायतका खाडी मुलुकका अरेबिकलाई पर्यटक भनेर चिन्न सकेको छैन। नेपाल आउने युरोप अमेरिकाका पर्यटकहरुले गर्ने खर्चको तुलनामा कतार लगायतका खाडी मुलुकका पर्यटकले गर्ने खर्च अत्यधिक हुन्छ। त्यहिपनि नेपालले त्यो बिषयलाई बुझ्न सकेको छैन। एउटा कतारी नेपाल आउँदा उसलाई महँगो आलिशान होटल चाहिन्छ, खाना उस्तै चाहिन्छ, चढ्नको लागि ल्याण्डक्रुजर नै चाहिन्छ, किनकि उनीहरुको खर्च गर्ने क्षमता अत्यधिक हुन्छ। आखिर त्यस्तो पर्यटक ल्याउन नेपालले किन सक्दैन ? यसको उत्तर अब खोज्न पर्छ।

नेपालमै रोजगारी सृजना गर्ने र विदेशमा भएका नेपालीलाई पनि नेपाल नै भित्र्याउने सरकारको रणनीति छ, अहिलेकै अवस्थामा प्रवासी नेपाली नेपाल फर्कन सक्ने सम्भावना कति छ ?

आजको अवस्थामा प्रवासी नेपाली नेपाल फर्किहाल्ने अवस्था छैन। प्रवासमा भएका नेपालीहरु त्यहाँको रोजगारी छाडेर तत्कालै नेपाल आइहाल्ने अवस्था छैन। किनकि विदेशमा भएका प्रवासी नेपालीहरु नेपाल फर्कने वातावरण बनिसकेको अवस्था छैन।

नेपालमै रहेका नेपालीहरुमा विदेश जानुपर्छ भन्ने तिब्र इच्छामा कमि आउन सकेको छैन। किनकि नेपालमा राज्यले बिकल्प दिइसकेको अवस्था छैन। राज्यले सामाजिक सुरक्षा कोष लगायतका योजनाहरु ल्याएको छ तर यहीं आएर श्रम गर्न, व्यवसाय गर्नका लागि वातावरण बनिनसकेको प्रवासी नेपालीहरुको बुझाई छ।

कुनै बेला सामान्य जागिरेको रुपमा कतार पुगेकाहरु अहिले स्थापित व्यवसायी बनिसकेका छन। जनकपुरका दुई दाजुभाई अब्दुल हफिज र अब्दुल बासिद ले कतारमा संचालन गरेको ‘बेला’ को भन्ने ब्राण्ड कतारमा स्थापित ब्राण्ड हो। एयर कन्डिसनको क्षेत्रमा कतारमा उनीहरुको यो व्यवसाय एक नम्बरमा छ। नेपालीसंग केहि गर्न सक्ने क्षमता त रहेछ। यस्तो क्षमता भएकाहरुलाई राज्यले चिन्नलाई ढिलाई गर्नुहुदैन।-www.bizpati.com

Share.

Leave A Reply