मनकामना र धार्मिक पहिचान

0

डा. प्रकाशचन्द्र लोहनी

जहाँ आस्था, श्रद्धा समर्पणको भाव रहन्छ त्यहाँ भगवानको उत्पत्ति हुन्छ । हाम्रो देशमा मनकामना यस्तै तीर्थस्थल हो। दिनमा हजाराैं मानिस त्यहाँ पुग्छन् र चेतन/अचेतन मनको कुनै कुनामा शायद श्रद्धा र समर्पण लिएर पुग्छन्। केही दिनअगाडि यस्तै भावना बोकेर म मनकामना मन्दिर पुगेंँ । यस्तै ३ घण्टाको उकालो १० मिनेटमा केवुलकारमा पार गरियो । मनकामनामा केबुलकारबाट उत्रिसकेपछि बाटैमा यो केवलकारका सर्जक लक्ष्मण बाबुको सालिक थियो। लक्ष्मणको सालिकलाई नमस्कार गरेँ। चिन्तक/सर्जक र उद्यमीहरूराष्ट्रका सम्पत्ति हुन् । त्यो बेलामा लक्ष्मण बाबुले ठूलो जोखिम बोकेर लगानी गरे । त्यो सफल भयो र त्यसले यस्तै अन्य केवलकार निर्माणको नयाँक्षितिज खोलिदिएको छ।

मनकामना मन्दिरको पुनर्निर्माण झण्डै सकिएको छ । केवलकारको स्टेसनदेखि मन्दिरसम्मको बाटो सफा छ । नयाँ घर बनेका छन् । बाटोको दायाँबाँयाको पसलमा धर्म र अर्थको संगम जताततै स्पष्ट छ । मानव इतिहास हेर्ने हो भने श्रद्धा र समर्पणसँग अर्थ सँगै जोडिएरै रहेको छ । अनि अर्थसँग राजनीति जोडिन्छ भने धर्म–अर्थ–राजनीति एकै सिक्काका ३ अङ्ग हुन पुग्छन् । यीबीचको सम्बन्ध र संघर्ष नै मानव सभ्यताको महत्वपूर्ण इतिहास हुन आउँछ । यी तीनबीचको समन्वय र व्यवस्थापनसँग इतिहासका विभिन्न कालखण्डमा ठूला क्रान्ति, संघर्ष र वैचारिक रूपान्तरणका अध्याय जोडिएका छन् र राष्ट्रको निर्माण र विनास भएका छन् । यी सम्बन्ध आजको एक्काइसौँ शताब्दीमा पनि सान्दर्भिक छन् । यी सम्बन्धलाई ठीक तरिकाले व्यवस्थापन गर्नु हाम्रा लागि पनि अब आवश्यक भइसकेको छ।

मनकामनाको मन्दिरमा तराई–मधेसका नेपाली हुन् या पहाड र हिमालका नेपाली,सबै पुग्छन्। विभिन्न जाति, क्षेत्र र समुदायबीचको धार्मिक र सांस्कृतिक एकतालाई यो तीर्थस्थलले बल दिएको छ।

दुई वर्षअगाडिको भूकम्पले मनकामना मन्दिरमा निकै क्षति पु-यायो तर अहिले पुनर्निर्माण भएको मन्दिर धार्मिक विधिअनुरूप उद्घाटन हुनमात्र बाँकी छ। मन्दिर पुजारी इन्सान थापा र पुनर्निर्माण समितिका सचिव प्रेमकुमारश्रेष्ठका अनुसार मन्दिरको पुनर्निर्माणका क्रममा छानामा सुनको जलप लगाइएको छ र भक्तपुरबाट कारिगारहरू लगेर सुन्दर काष्ठकलाका उत्कृष्ठ नमुनाहरू निर्माण गरिएको छ । खर्च भएको१५ करोड रुपियाँमध्ये ४ करोड नेपाल सरकारबाट दिइयो भने बाँकी रकम सबै चन्दाबाट उठेको छ । स्पष्ट छ– मनकामना भगवतीको मन्दिर हिन्दुु र बुद्ध धर्मावलम्वीको आस्था र श्रद्धाको केन्द्र हो।

मनकामना मन्दिरको कथा
मनकामना मन्दिर किन र कहिलेदेखि हाम्रो देश र विश्वका हिन्दुहरूका लागि श्रद्धा र समर्पणको स्थान बन्यो भन्ने इतिहास रोचक छ । मनकामना मन्दिरका पुजारी सिद्धलखन थापाका अनुसार पृथ्वीनारायण शाहका पुर्खा राम शाहको मनकामना नाम गरेकी रानी थिइन् । उनी साक्षात भगवतीको रूप थिइन् तर राजा र जनताका अगाडि उनी सामान्य महिला थिइन् । मनकामनामा ईश्वरीय यथार्थता गुरु गोरखनाथलाई थाहा थियो । यसै क्रममा गुरु गोरखनाथले मनकामनाका लागि शुद्ध चित्त भएको भक्त खोज्न थाले । यस्तो शुद्ध व्यक्ति खोज्दै जाँदा उनले दाउरा काटिरहेको लखन थापालाई भेटे । उसको निष्पक्ष सरलता देखेपछि गुरु गोरखनाथले उसलाई शिक्षा र ज्ञान दिए । यसपछि सामान्य व्यक्ति लखनथापा सिद्ध लखन थापा भए।

कालान्तरमा मनकामना देवीले यो संसार छाड्न लागेपछि सिद्ध लखन थापाले पनि देह छाड्ने इच्छा व्यक्त गरे । तर देवीले तिमी अहिले बस, म फेरिकुनै न कु्नै रूपमा प्रकट हुन्छु भनेपछि रोकिए । त्यसपछि आजको मनकामना मन्दिर भएको ठाउँमा आफ्नो खेत जोत्दा हलो ढुङ्गा फुटेर दूध निस्कियो । यो देखेपछि सिद्ध लखन थापा र सबै गाउँलेले यो मनकामना भगवतीको रूप भन्ने बुझी मन्दिर खडा गरे र लखन थापा पुजारी भई ध्यान गरे । उनै सिद्ध लखन थापाका सन्तानले त्यस समयदेखि मन्दिरको पुजारीको काम गरे र हालका पुजारी इन्सान थापा यही इतिहासको निरन्तरताका पात्र हुन्।

हाम्रो सनातन वैदिक धर्मको स्रोत र तीर्थस्थलहरूको समष्टिको अभिव्यक्तिका रूपमा नेपालको पहिचान वैदिक सनातन हिन्दु राष्ट्र भनी घोषणा गर्न किन हिच्किचाउने ?

आज मनकामना भगवतीको मन्दिर हिन्दु–बौद्ध सबैको श्रद्धा र समर्पणको थलो भएको छ । यहाँबर्सेनि करिब १० लाख भक्तालु केवलकारबाट आउँछन् भने अर्को ३ लाख हिँडेर या गाडीमा आउँछन् । यसमध्ये ३ लाखभन्दा बढी भारतीय तीर्थयात्री हुन्छन् । भारतीय तीर्थयात्रीहरूको संख्या बढेर गएको छ भने प्रचार–प्रसार भए धेरै नै बढ्ने देखिन्छ।

मनकामनाको पुनर्निर्माणमा प्राविधिक सहयोग नेपाल सरकारको पुरातत्व विभागले गरेको छ । भक्तहरूको स्वेच्छाबाट रकम संकलन गरिएको पुनर्निर्माण कमिटीका सचिव प्रेम श्रेष्ठले बताए । मन्दिर र आसपासको क्षेत्रमा धार्मिक पर्यटनको धेरै सभ्भावना छ तर यसका लागि केवलकार कम्पनी, सरकार र स्थानीय जनताको सहभागितामा ठोस योजना बनेको छैन।

अग्रगामी कदम
हाम्रो देश हिन्दु र बुद्ध धर्मको स्रोत हो । दक्षिण एसियाली क्षेत्रमा ऋषिमुनिहरू जब जीवन र मृत्युको अर्थ र यथार्थबारे चिन्तन गर्थे त्यसबखत उनीहरू हिमालयको काखमा रहेको नेपालमा आइपुग्थे । त्यसैले हाम्रो देश मानव जातिको ठूलो आध्यात्मिक थलो हो । महाभारत र रामायणका महत्वपूर्ण घटना यहीँ भएका छन् भने बुद्ध धर्मको सुरुवात पनि यहीँ ठाउँबाटै सुरु भएको हो । यो इतिहास र आध्यात्मिक तथा सांस्कृतिक सम्पदालाई पुरातन भनी सम्झने र जन्मदिनमा मन्दिरमा प्रार्थना गर्नुको सट्टा केक काट्ने र ‘भ्यालेन्टाएनडे’ मनाउनुलाई अग्रगमन सम्झने प्रवृत्ति पनि नेपालका ठालुहरूमा नदेखिएको होइन जुन आफैँमा लघुताभाषको चिह्न हो।

मनकामनाको मन्दिरमा तराई–मधेसका नेपाली हुन् या पहाड र हिमालका नेपाली,सबै पुग्छन् । विभिन्न जाति, क्षेत्र र समुदायबीचको धार्मिक र सांस्कृतिक एकतालाई यो तीर्थस्थलले बल दिएको छ । यो यथार्थता हाम्रो धार्मिक पहिचान हो र यसलाई स्वीकार गरी हाम्रो संविधानमा ठाउँ दिन अब ढिला गर्नुहुँदैन।

आजको नेपाल औपचारिकरूपमा जनताका प्रतिनिधिले बनाएको सविधान र कानुनअनुसार चलेको छ । यस परिवेशमाहाम्रो सनातन वैदिक धर्मको स्रोत र तीर्थस्थलहरूको समष्टिको अभिव्यक्तिका रूपमा नेपालको पहिचान वैदिक सनातन हिन्दु राष्ट्र भनी घोषणा गर्न किन हिच्किचाउने ? आजको नेपालको शासकीय पहिचान जनतामा निहित सार्वभौमिकताले निर्देश गर्छ भने नेपालको सांस्कृतिक पहिचान वैदिक सनातन हिन्दु राष्ट्रमा अडेको छ । यस अर्थमा जनताको सार्वभौमिकता अडेको शासन व्यवस्था र वैदिक सनातन हिन्दु राष्ट्रको नेपाली पहिचान हाम्रो देशको एकता र अखण्डताका महत्वपूर्ण  परिपुरक तत्व हुन् । यो तर्कलाई केही ‘अग्रगामी’ हरूले ‘पुरातनवादी र सामन्तवादी’ भनी आलोचना गरेका छन् । तर यो पहिचानको कुरा गर्दा संसारमा आज २६ राष्ट्र छन् जस्ले आफ्नो राष्ट्रिय पहिचान इसाई धर्मका रूपमा कुनै न कुनै रूपमा जोडेका छन् । उदाहरणका लागि स्विडेनको संविधानअनुुसार त्यहाँका राजा इसाई धर्म र त्यसमा पनि लुथरन सम्प्रदायको हुनैपर्छ । अझ बेलायतीहरू ‘चर्च अफ इङ्गल्यान्ड’ लाई बेलायतीको आधार र पहिचानका रूपमा लिन्छन्।

तर यही तर्क कसैले नेपालको सन्दर्भमा गरे त्यसलाई पुरातन भन्नु सिर्फ लघुताभाषमात्र हो । यथार्थता के हो भने नेपालको वैदिक सनातन हिन्दु पहिचानसँंग पश्चिमी राष्ट्रहरूभित्रका शासक र धार्मिक कट्टरपन्थीलाई नफरत छ । यही दृष्टिकोणलाई विभिन्न स्वार्थ र लोभको जालोमा नेपालका केही नेताले बोकेका छन् । त्यसैले नेपालमा कसैले हाम्रो देशको पहिचान सनातन वैदिक हिन्दु राष्ट्रभन्दा पुरातनवादी ठहरिन्छ तर बेलायतलगायत थुप्रै अन्य देशलेआफ्नो पहिचान इसाई राष्ट्रका रूपमा घोषणा गर्दा या कानुनमा व्यवस्था गर्दा त्यो अग्रगामी ठहरिन्छ । यो विरोधाभाष देख्न नसक्नु एक विडम्बना भएको छ।

वैदिक सनातन हिन्दुधर्मले एक ईश्वरवादको ठाउंँमा बहुईश्वरवाद मान्छ । त्यसै कारण यसको केन्द्रीकृत संगठन छैन र हुन पनि सक्दैन । बहुचिन्तन र बहुमार्गको आवधारणाका कारणहिन्दु धर्म विस्तारवादी हुन सक्तैन । यो गुण र लचकतालाई ग्रहण गरेर तथा यस क्रममा निस्केका कुरीति र विकृतिलाई निर्मूल पारेर विश्वका २०० करोड मानिसका लागि वैदिक सनातन हिन्दु पहिचानको उज्यालो ताराका रूपमा नेपाललाई उभ्याउनु हाम्रा लागि अग्रगामी कदम हो।

Source : Nagariknews.com

Share.

Leave A Reply