के मुस्लिमहरु यो देशका नागरिक होइनन् ?

0

-साबिर अन्सारी

सदा झैं कार्यालय समयमा फुर्सद निकालेर एकछिन समाचारका वेबसाईट चहार्दै गर्दा अचानक असोज ३ गते बिहीबारका दिन कम्प्युटरका स्क्रीनमा ब्रेकिंग न्यूज आउन लाग्यो कि सुनसरीको रामनगर भुटाहामा रैयान नेसनल स्कुल सञ्चालन गर्दै आएका खुर्सिद आलमको बिहीबार अपरान्ह गोली हानी हत्या गरियो भनेर ।

अझ विस्तृत रुपले पढ्दै तथा बुझ्दै जाँदा दुई वटा भारतीय नम्बर प्लेटका मोटरसाइकलमा आएका ४ जनाको समूहले दिनदहाडै आलममाथि गोली प्रहार गरेको र हत्या गरेपछि भारत प्रवेश गर्न लाग्दा हत्याराहरुलाई सीमामा तैनाथ नेपाल प्रहरीले पक्राउ गर्ने प्रयास गर्यो। तर, उनीहरु प्रहरी जवानमाथि गोली प्रहार गरी भारत छिर्न सफल भएको समाचार आयो।

फेरि अन्तर्आत्माले आवाज दियो कि मृतक आलमको हत्या आतंकवादीकै आरोप लगाएर भारतकै हात होला भनेर। नभन्दै घटना भएको करिब केही घण्टा भित्र नै मृतक आलम विभिन्न अपराधिक क्रियाकलापमा संलग्न रहेको भनी भारतीय तथा हाम्रै नेपाली मिडियामा पनि प्रशारण तथा प्रकाशित हुन थाल्यो। मेरो शंका वास्तविकतामा परिणत हुन थालेको थियो। मन एकदमै उदास हुन लागेको थियो। कसैले यो आरोप गलत रहेको छ भनी प्रतिकारका निम्ति मिडियामा आवाज उठाउँछन् कि भनेर आशा गरें। तर सरकारमै रहेका पार्टीका मुस्लिम अगुवा कहिलएकाहरु गृहमन्त्रीलाई भेट गरेर तस्बिर तथा सेल्फी पोष्ट गरेर आफ्नो कर्तव्य निर्वाह गरेको ठानी मज्जाले आराम गर्नमा मात्र तल्लीन रहे। विभिन्न मिडियामा आएका र आईरहने नेपाली मुस्लिमप्रति आतंकवादीको बिल्ला भिराउने प्रति कुनै चासो तथा आक्रोश क्षणिक भर रहेको देखिन्छ। दुर्भाग्यवश नेपाली मुस्लिमहरुका कुरा नेपाली मिडियामा बढी ठाउँ नपाउनु तथा मुस्लिमले प्रतिकार स्वरुप बोल्न र लेख्न समेत असक्षम रहेका साथैं सक्षम भएकाहरुको कुरा पनि मिडियाले ठाउँ नदिएर नेपालीका साथैं दुनियाँका नजरमा आतंकवादीको तक्मा लगाउनमा विवश भएका छन्।

त्यस घटना लगत्तै विभिन्न सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित गरियो कि घटनाको प्रकृति हेर्दा हत्यामा भारतीय सुरक्षाकर्मीकै संलग्नता रहेको, आलमलाई मुम्बईमा भएको बम विस्फोटमा संलग्न रहेको आरोपमा हत्या गरिएको साथैं यसअघि आलमलाई पक्राउ गरेर बुझाउन भारत सरकारले नेपाल सरकारलाई आग्रहसमेत गरेको भनी समाचार बजारमा छरपष्ट हुन थालें। आलम तत्कालिन नेकपा एमालेका जिल्ला कमिटिका सल्लाहकार थिए भने वर्तमान नेकपाका संगठित सदस्य। यद्यपी पार्टीबाट आफ्ना कार्यकर्तालाई बचाउका निम्ति कुनै विज्ञप्ति समेत प्रकाशित गर्ने जरुरी सम्झिएन।

आलम मात्रै होइन उनीभन्दा अघि धेरै नेपाली मुस्लिमको ज्यान भारतीयको आक्रमणबाट गइसकेको छ। भारतको आँखाको कसिँगर बनेका नेपाली मुस्लिम मारिनुको मुख्य दुईवटा कारण रहेको देखिन्छ। पहिलो कारण भनेको भारतीय नक्कली नोटको कारोबार र आतंकवादलाई संरक्षण गर्नुका साथै लागूऔषध र भारतले संरक्षण गरेका डनहरु सँगको दुस्मनीका कारण प्रमुख रहेको देखिन्छ। यसका साथैं भारतमा विभिन्न आरोप लागेर विस्थापित भएका मुस्लिमलाई नेपालमा संरक्षण दिई नागरिकता दिलाएको र खुल्ला सीमाका कारण भारत प्रवेश गरी आपराधिक घटना घटाउन सहयोग गरेकोसम्म आरोप लगाएर नेपाली मुस्लिमको हत्या गरिँदै आएको पछिल्ला प्रहरी अनुसन्धानले समेत देखाएको छ।

उक्त हत्या काण्डबारे बिभिन्न चर्चा-परिचर्चा चलिरहँदा नेपाल सरकारले भने उक्त घटनामा मारिएका खुर्शिद आलमलाई मन्त्रिपरिषद बैठकले शहिद घोषणा गर्दै क्षतिपुर्ती स्वरुप रु. १० लाख दिने निर्णय गर्दै सञ्चार तथा सुचना प्रविधिमन्त्रीले उनीविरुद्ध नेपालमा कुनै खालको आपराधिक मुद्दा नरहेको र उनी प्रसिद्ध समाजसेवी तथा राजनीतिकर्मीसमेत रहेको जिकिर गरेका थिए।

राष्ट्र निर्माणमा मुस्लिमका योगदान

नेपालमा सदियौंदेखि मुस्लिम समुदायको बसोबास रहदै आएको ईतिहसका पानाहरुमा वर्णन गरिएको पाईन्छ। नेपालका मुस्लिमहरू राजा रत्न मल्लको पालादेखि नै नेपालमा व्यापार-व्यवसाय गर्ने उद्देश्यले उपत्यकामा पहाडी मुस्लिमहरूले बसोबास गरेको पाइन्छ भने तराईका पूर्वदेखि पश्चिम जिल्लासम्म परापूर्वकालदेखि नैं आदिवासी जनजाति सरह बसोबास गरेको पाइन्छ।

धनबज्र बज्राचार्यद्वारा लिखित लिच्छवी कालका अभिलेख नामक पुस्तकका अनुसार नेपालमा मुस्लिमहरू सर्वप्रथम सन् १३२४ नोभेम्बर (वि.सं. १३८१ साल) मा प्रवेश गरेको ऐतिहासिक प्रमाण प्राप्त छ। ग्यासुद्दिन तुगलक बङ्गालबाट दिल्ली फर्कदा तिरहुतबाट फर्केका थिए। त्यतिबेला नेपालको तराई प्रदेशमा सिम्रौनगढ स्वतन्त्र राज्य थियो। गयासुद्दिन तुगलकले सिम्रौनगढमाथि आक्रमण गरेका थिए। उक्त आक्रमणको ठीक २५ वर्षपछि सन् १४४९ (वि.सं. १४०६) मा बङ्गालका सुल्तान शमसुद्दीन तुग्लकले नेपालमाथि आक्रमण गरे। यो आक्रमणको पहिलो असर मल्ल राजाहरूको राजधानी भक्तपुर माथि परेको उल्लेख छ। त्यसपछि मुस्लिमहरू क्रमशः कान्तिपुर र ललितपुरतर्फ बढे। उनीहरु सात दिनसम्म काठमाडौं उपत्यकामा बसेको देखिन्छ। उक्त आक्रमणको एउटै लक्ष्य थियो– यहाँका राजा महाराजाहरुको मृत्य हुँदा उनका ८/१० वटी महारानीहरु राजासँगै सती जानुपर्ने धार्मिक प्रथालाई तोड्नु भनेरबङ्गालका सुल्तान शमसुद्दीन तुग्लकले आक्रमण गरेको बताइन्छ। त्यसपछि सतिप्रथा तोड्न यहाँका राजामहाराजा राजी भए र बङ्गालका सुल्तान शमसुद्दीन तुग्लकले काठमाडौं छाडेर गएको देखिन्छ। उनका सेनाका केही जवानहरु यहाँ रहेर मल्ल राजाका सेनालाई प्रशिक्षण दिने गरेका इतिहास समेत भेटिन्छ।

त्यस पछिका राजा जयस्थिति मल्लले नेपालमा अनेकौं सुधारहरू र विशेषतः प्रशासनिक सुधारको मुख्य आधार मुस्लिम शासकको सुझावलाई बनाएको देखिन्छ। मल्ल शासकहरू मुस्लिम संस्कृति र परम्पराबाट निकै प्रभावित भएका देखिन्छन्। उनीहरूले लगाएका बस्त्रहरू र उनीहरूले प्रयोग गरेका देवान, बक्सी, काजी, सरदार, उमराव, कोतवाल, अदालत, फैसला, मिसिल आदि प्रशासनिक शब्दहरूबाट पनि यो कुरा प्रष्ट हुन्छ। यहाँसम्म कि बङ्गालका सुल्तान शमसुद्दीन तुग्लकले जुनबेला कान्तिपुरमाथि आक्रमण गरेका थिए, यहाँका धेरैजसो मठमन्दिरहरुलाई उनका सेनाले भत्काएका थिए। तर पछि यहाँका राजारजौटाहरुको अनुरोधमा उनले आफ्नै केही कारिगरहरु पठाई पशुपतिनाथ लगायतका मन्दिरहरु समेतलाई मुस्लिम कारिगरहरुबाट पुनः निर्माण गर्न लागाएको इतिहास पाईन्छ। यसको साथै जनकपुरको जानकी मन्दिरसमेत मुस्लिम कारिगरहरुले निर्माण गरेको बताइन्छ। यसको प्रमाणस्वरुप जानकी मन्दिर अगाडि मन्दिर बनाउनुभन्दा पहिला मुस्लिम कारिगरहरुले आफूले नमाज पढ्नका लागि मन्दिरको अगाडि नै मस्जिद निर्माण गरेका थिए। जुन मस्जिद अहिले पनि त्यहाँ अवस्थित रहेको छ।

अझ ईतिहासका पानाहरु खोतल्दै जाँदा नेपालको बाईसे र चौंबीसे राज्यहरूमा नेपाली सैनिकहरूलाई हात-हतियारको प्रशिक्षण दिन भारतबाट मुस्लिमहरू बोलाइएको थियो भने पृथ्वीनारायण शाहले वि.सं. १७९९ सालपछि नेपाल एकीकरण सुरु गर्दा मुसलमानहरूको ठूलो सहयोग पाएका थिए। गोरखामा हातहतियार बनाउने कार्यमा मुस्लिमहरुको ठूलो भूमिका रहेको थियो। मध्यकालिन नेपालमा अफ्गानिस्तान र टर्कीबाट घोडाको व्यापार गर्न आएका मुस्लिम व्यापारीहरू पनि यहाँ आएर बसोबास गरेको प्रमाण ईतिहासका पानाहरुमा पाइन्छन्।

यसका साथैं पृथ्वीनारायण शाहले उपत्यका र तराईका भूभागहरू विजय गर्दा बारा, पर्सा, रौतहट, सुनसरी, मोरङ, सर्लाही, सप्तरी, कपिलवस्तु, रुपन्देहीलगायतका जिल्लाहरुमा पहिल्यैदेखि नैं ठूलो सङ्ख्यामा मुसलमानहरूको बसोबास रहेको थियो। साथैं ती क्षेत्रहरु दिल्लीका सुल्तानको अधीनमा रहेको र प्रत्येक वर्ष १२ सय रुपियाँ दिल्लीका मुगल सम्राटलाई बुझाउने शर्तमा मकवानपुरका जमिनदारहरूलाई चर्चिएर बस्न दिइएको थियो। यसबाट थप कुरा के प्रष्ट हुन्छ भने त्यसबेलादेखि नैं नेपालको पूर्वी तराइको धेरैजसो भूभागहरूमा मुस्लिम शासकको अधिकार रहेको थियो।

आर्थिक-सामाजिक विकास सूचांकले जनसंख्याको ४ दशमलव ४ प्रतिशत रहेको मुसलमान समुदायलाई सीमान्तकृत देखाएको छ। सामाजिक, आर्थिक र राजनीतिकवृत्तमा उनीहरु धेरै पछाडि छन्। मुस्लिमहरु केन्द्रीय तथ्याङ्क विभागमा रहेको २०६८ को तथ्याङ्कअनुसार ७३ जिल्लामा बसोबास गरिरहेका छन्। यो तथ्याङ्कअनुसार मात्र दुई जिल्ला मनाङ र मुस्ताङमा बसोबास भएको देखिंदैन। तर केन्द्रीय तथ्याङ्क विभागको २०५८ सालको जनगणामा मुस्लिम समुदायको बसोबास नेपालको ७५ वटै जिल्लामा देखाएको थियो तर पछि २०६८ सालको जनगणनाले दुईवटा जिल्लामा नभएको देखाएको छ।

आतंकवादीका नाममा निशाना

नेपालका मुस्लिमहरु पीछडिएका अवस्थामा छन्। अधिकांश नेपाली मुस्लिम समुदाय गरिबीको रेखामुनी रहेको पाईन्छ। तुलनात्मक रुपले नेपाली मुस्लिमहरु अशिक्षित र बेरोजगार रहेका छन्। मदरसा शिक्षा प्रणाली हालसम्म पनि ब्यवस्थित हुन सकेको छैन। परम्परागत शैक्षिक ब्यवस्थाको रुपमा रहेको मदरसा शिक्षालाई सुदृढ र संस्थागत गर्न जरुरी देखिन्छ। मदरसा शिक्षालाई राष्ट्रिय मापदण्ड अनुसार र औपचारिक शिक्षाको समकक्षता र पद्धतिमा ल्याउन ठोस कार्यक्रमहरुको आवश्यकता देखिन्छ।

त्यसका बावजुद पनि यदि कोही मुस्लिमहरु केही बढी धनी वा सम्पन्न भए भने स्वयं समाजले नै आईएसआईको एजेन्टको रुपमा देख्न थाल्छ। अनि छिमेकी राष्ट्रले पनि केही न केही आरोप लगाएर हमला गर्ने तथा हत्या गर्ने गरेको छ। तर नेपाल सरकार चाहिँ मुकदर्शक भई सो घटनाको साक्षी मात्र बन्ने गरेको छ।

हत्या गरिएका केही मु्स्लिम अगुवाहरु:

  • मिर्जा दिलसाद बेग – राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद तथा पूर्वमन्त्रीसमेत रहेका वेगलाई २०५५ असार १५ गते राति काठमाडौंको सिफलमा भारतीय डन छोटा राजन समूहविरुद्ध काम गरेको भन्दै हत्या।
  • अब्दुल मजिद मनिहार – २०६६ असोज १९ गते नेपालगञ्जको लालीगुराँस होटलमा हत्या। भारतीय नक्कली नोटको कारोबार गरेको आरोप।
  • सौकत अलि बेग – २०६६ पुस १० गते बुटवल–४ मैना भन्ने ठाउँमा हत्या। भारतीय नक्कली नोट तथा आतंकवादलाई संरक्षण गरेको आरोप।
  • जमीम शाह – सञ्चार उद्यमी, २०६६ माघ २४ गते काठमाडौंको लाजिम्पाटमा दिनदहाडै गोली हानी हत्या। पाकिस्तानका लागि जासुसी गरेको आरोप।
  • युनुस अन्सारी – सञ्चार उद्यमी (पूर्व मन्त्री सलीम मियाँ अन्सारीका छोरा), ०६७ फागुन २६ गते केन्द्रीय कारागार, सुन्धारा भित्रै गोली प्रहार। नक्कली भारतीय रुपैयाँको कारोबारमा संलग्न भएको आरोपमा जेल सजाय काटिरहेका छन्।
  • फैजान अहमद – इस्लामिक संघ नेपालका महासचिव, २०६८ असोज ९ गते काठमाडौंको घण्टाघर अगाडि गोली हानी हत्या। मदरसा विस्तारमा संलग्न रहेको आरोप।
  • अफताब आलम अन्सारी – व्यापारी, २०७० पौष १७ गते भवानीपुर जितपुर, बारामा गोली प्रहार गरी हत्या। भारतीय नक्कली नोटको कारोबार गरेको आरोप।

स्रोत : विभिन्न संचार माध्यमबाट

यी बाहेक धरै नेपाली मुस्लिमहरुलाई भारतीय सुटरहरुले गोली हानी हत्या गरेका छन्। आतंकवादलाई संरक्षण, नक्कली भारतीय नोटको कारोबार, छोटा राजनसँगको दुश्मनी, इस्लामिक शिक्षा फैलाएको जस्ता आरोप लगाउँदै नेपाली मुस्लिमको हत्या हुँदै आएको छ।

सरकारको दायित्त्व

राष्ट्र निर्माणमा यो देशका अरु समुदाय भन्दा पनि अहम् तथा महत्वपूर्ण भूमिका खेलेका मुस्लिम समुदायलाई अरुबाट सम्मान तथा स्वाभिमानको खाँचो महसुस भईरहेको वातावरण सजिलै देख्न सकिन्छ। देशभित्र केहि घटना-दुर्घटना हुने बित्तिकै मुस्लिम समुदायलाई यो देशको अनागरिक झैं व्यवहार गर्ने गरेको पछिल्ला घटनाहरुले पुष्टि गरेको छ। जस्तै कि २०६१ साल भदौं १६ गतेका दिन ईराकमा मारिका १२ नेपालीहरुको हत्या पछि नेपालभित्र रहेका नेपाली मुस्लिमहरुलाई सौता झैं व्यवहार गरी तिनलाई लखेटी-लखेटी पिट्ने, तिनका घर-पसलहरु तथा मस्जिदका साथैं पवित्र ग्रन्थ कुरआनलाईसमेत जलाउने कार्य गरियो। ईराकमा मारिने नेपालीहरुका हत्यारा नेपाली मुस्लिम थिए त? रिसको आवेशमा आएर आफ्नै नागरिकलाई अर्को नागरिकले यस्ता घटना घटाउँदा पनि सरकार चुप लागेर बसेको त्यो कालो दिन कुनै पनि मुस्लिमले आफ्ना जीवनकालमा कहिल्यै बिर्सिने छैनन्।

पृथ्वीनारायण शाहको यो देशलाई एकीकरण गर्ने योजनालाई मूर्त रुप दिनका लागि आफ्ना अहम् भूमिका खेलेका मुस्लिम समुदाय माथि छिमेकी राष्ट्रले विभिन्न बहाना बनाएर दिनदहाडै गोली हान्ने कार्य भइरहँदा पनि सरकार चुपचाप बसेको छ।

यसका साथैं पाकिस्तानी आतंकवादीहरुसँग संलग्नताको आरोपमा नेपालका मुस्लिमहरु असुरक्षित भएको विगतका घटनाहरुले पनि देखाउँदछ। सांसद मिर्जा दिलसाद बेगदेखि खुर्शीद आलमसम्मको हत्याको शृङ्खला एकैखाले भएकोले अनुमान लगाउन सहज भएको हो। आखिर किन नेपाली मुस्लिमहरु भारतको शिकार बन्दै आईरहेका छन् त? के मुस्लिम समुदाय उच्च श्रेणीमा पुग्नु अभिशाप नै हो त? मुस्लिम नेताहरु तथा राज्य नै कहिलेसम्म निरही भएर मुस्लिमहरुको हत्या भईरहेको घटनाको साक्षी बनिरहने त? यी प्रश्नहरुको जवाफ नेपालभित्र रहेका मुस्लिम समुदायले राज्यसंग दशकौंदेखि माग गर्दै आएका छन्। तर राज्यले आफ्नो उत्तरदायित्त्व मुस्लिम समुदायप्रति कहिल्यैं पनि पुरा गर्न नसकेको कुरा लुकेको छैन। यी सबै घटनामा एउटै समानता छ र त्यो के भने यी कुनै घटनामा संलग्न कोही पनि कहिल्यै पक्राउ परेनन्। दुखका साथ भन्नु पर्छ कि लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि पनि मुस्लिमहरु मारिने संख्यामा कुनैं पनि कमी आएको मात्र होइन, हत्याको पारदर्शी ढंगले छानबिनसम्म भएको छैन।

राज्यले बुझ्न जरुरी छ कि नेपाली मुस्लिमहरुको आतंकवादसँग कुनै पनि सरोकार छैन। साथै यो पनि सबैलाई बुझ्न जरुरी छ कि कोही मानिस व्यक्तिगत रूपमा खराब भए पनि यसले समग्र मुस्लिम समुदायको प्रतिनिधित्व गर्दैन। अहिले नेपालमा कुनै पनि मुस्लिम मारिंदा ठिकै भयो भन्ने खालका सोचाइ अधिकांशमा विकास हुन थालेकोमा मुस्लिम समुदायलाई गम्भीर रुपले चिन्तित बनाएको छ। केही घटनाहरु हुने बित्तिकै सरकारले हतार हतारमा छानबिन कमिटी गठन गरेतापनि आजसम्म एक जना पनि ती अपराधीहरु पक्राउ परेको ईतिहास छैन। यसका साथैं मिडियामा पनि कहिल्यै मुस्लिमका पक्षमा आवाज उठ्दैन। भारतीय मिडियाले नेपाली मुस्लिमहरुलाई आतंकवादीको रुपमा प्रस्तुत गर्दछ। राज्य तथा मिडियाको यस्तो रवैयाले पनि मुस्लिम समुदाय वर्षौं देखि क्रोधित तथा अचम्भित छन्। यस्ता खाले हमला केवल मुस्लिम माथिको मात्र होइन, यो त सम्पूर्ण नेपालीको अस्मिता माथिको अक्रमण हो।

राज्य चार तत्वको सम्मिश्रण हो : निश्चित भूगोल, पर्याप्त जनसंख्या, सरकार र सम्प्रभूता। नेपालमा बितेका दुई दशकमा केही अप्रत्यासित हत्याहरू भएका छन्। छानवीन समितिहरू खटिए। प्रतिवेदनहरू पनि आए। तर, राज्यले नै सार्वजनिक गरेको प्रतिवेदनमा भनियो – हत्यारा अन्तर्राष्ट्रिय संगठित गिरोहसँग सम्बन्धित छ। सरकार उसलाई गिरफ्तार गर्ने कोशिससम्म गर्दैन। घट्ना त्यसै सेलाएर जान्छ।

यसरी हेर्दा नेपालको सम्प्रभूता नै खतरामा छ। यहाँ एकभन्दा बढी कानून चल्छ। कानूनी राज्यको खिल्ली उडेको छ। जनताले राज्यको शासन र कानूनलाई स्वीकार्ने तर राज्य र कानूनले उसको रक्षा गर्न नसक्ने देखिएको छ। कस्तो सम्प्रभूता हो यो? सम्प्रभूता गुमाएको राज्य दिवालीया हुन कत्ति पनि समय लाग्दैन। राज्यले यस कुरालाई गम्भीर रूपमा लिनु पर्छ। यदि हाम्रो देशको नागरिकले अपराध गरेको छ भने राज्यले नै उसलाई कानूनी कारवाही गर्नुपर्छ। मुस्लिम समुदाय सदैव न्यायको पक्षमा वकालत गर्दछ। हो, अपराधीले छूट पाउनु हुँदैन तर अपराधीलाई सजाय आफ्नै राज्यले कानुन अनुसार हुनुपर्छ। तब मात्र हाम्रो सम्प्रभूता जोगिन्छ, राज्य मजबुत हुन्छ।

– अन्सारी स्थानीय सुशासन तथा गैसस व्यवस्थापनका शोधार्थी हुन्।
साबिर अन्सारीको यो लेख कान्तिपुर दैनिकको अनलाइन संस्करणमा समेत प्रकाशित छ ।
Share.

Leave A Reply