मेरी पाकिस्तानी आमा……

0

न्यूयोर्क — आमाको कुरा गर्दा पाकिस्तान को नाम ? पाठकहरुलाई अलि अनौठो लाग्ला । संयोग भनौं गोर्कीको आमा पछि मैले एउटा आमाको आँशुको बारेमा कविता पढ्ने अवसर पाएँ । त्यो कविता पकिस्तानी कवि फैज अह्मेद फैजको थियो ।

माक्सिम गोर्कीको “आमा” पढ्दा, नेपालमा लोकतन्त्र थिएन । लुकेर पढ्नु पर्थ्यो । म प्रेमको प्रदर्शन गर्ने ब्यक्ति होईन, यो मेरो स्वभाव भित्र पर्दैन । आमा पढेपछि मेरो, यो अनौठो स्वभाव झन दिगो भयो । उदेक लाग्दो कुरा त के भने म आफुले मन पराएकी केटीले पनि मेरो मन पढिदिउन भन्ने चाहन्थें । मेरो “साइलेन्सलाई” सम्झिदिउन भन्ने सोच्थें । तर उनले बुझिनन्, उनका लागि म काले कलौटे, नालायक थिएँ । त्यसपछि मैले प्रेमको खोज त्यागि दिएँ । यो खोजेर पाइने कुरै होईन । मैले त्यो प्रेम पाइन ।

मेरो असफल प्रेमले मलाई अलि उदण्ड, अलि बिद्रोही स्वभावको मान्छे बनायो । त्यसपछि मैले महिला साथी र प्रेममा आमा खोज्न थालें किन भने भने मलाई यदी निस्वार्थ कोइ प्रेम गर्छ भने मेरी आमा हुन् भन्ने कुरा छर्लङ भयो । मेरी आमालाई मैले केहि दिन सकेको छैन तर उनले मलाई धोका दिन्छिन्, यो कल्पना बाहिरको कुरा हो ।

पकिस्तानको र मेरो साइनो फैज अह्मेद फैजले जोडेका हुन भन्दा हुन्छ ।

मत रो मेरो बच्चे

रो, रोके अभी

तेरी अ्म्मी कि आन्ख लगि है

मत रो, बच्चे कुच हि पेह्ले

तेरे अब्बाने

अप्ने गमसे रुक्सत लि है

(नरो नानी, रुइ रुइ तिम्री आमाको आखा निदाएका छन्, नरोउ नानी, केहि छिन पहिला तिम्रो बाबाले आफ्ना पीडालाई बिदाइ गरिसके) द्वन्द्वको बालकमा पर्ने असर र बेदना बोल्ने, मार्मिक, हृद्य बिदारक यस कबिताले मेरो नजरमा फैज अह्मेद फैजलाई पाकिस्तानी मात्र नभइ बिश्व नागरिक र दक्षिण एसियालाई जोड्न सक्ने एक प्रेम मुर्तीका रुपमा स्थापित गर्‍यो ।

म भारतको सिमा नजिकको शहरमा हुर्केको ठिटो भारतीयसँग रगतको नाता भएको मान्छे, पाकिस्तानीसँग आत्मियताको कल्पना पनि थिएन । अनेकौं मतभेदका बाबजुद भारत मेरो लागि लोकतन्त्रको प्रर्याय हो । गान्धीको हत्या पछि लन्डन टाइम्सको सम्पादकीयमा भनिए झै, “भारतले मात्र गान्धी यानी “बापु” लाई जन्म दिन सक्छ” भन्ने कथन मलाई सही लग्न थालेको छ । भारतको स्वतन्त्रता अदभुत छ । बिभिन्न उतार चढावका बाबजुद त्यहाँको लोकतन्त्रलाई कुनै शक्तिले बिस्थापित गर्न सक्दैन किनकी यसको बिजारोपण गान्धीले गरेका थिए ।

संसार बिचित्रको छ । गान्धीको देशसँग रहन, सहन, मन जोडिएको यो नेपालीले फैज अह्मेद फैजको कबिताकी “आमालाई” अमेरिकामा भेट्यो । मेरी पाकिस्तानी आमा बेगम नाजिर ताहिरलाई ।

कुरो तेति खेरको हो, जब म अमेरिकामा कुनै एक स्टोरमा काम गर्थें । कमजोर अंग्रेजी, ब्यापारको ‘ब’ नजानेको यो पत्रकारलाई काम सिकाउन अरु सहकर्मी त्यति उदार देखिएनन् । दुई वर्षअघि एक जना पाकिस्तानी नौ जवान म काम गर्ने स्टोरमा काम गर्न थाले । म उनलाई अवलोकन गरिरहेको थिएँ । नयाँ काम नयाँ ठाउ मैले आफ्ना सुरुवाति दिन स्मरण गरें । ति नौजवान सोहेब ताहिरलाई म सक्दो काम सिकाउन थाले । उनले एक दिन मेरो आँखामा हेरेर भने, “खुदा आपको तरक्की वर्कत दे ।” उनले मलाई अङ्गालो हाले ।

अर्को दिन उनकी आमा उर्दुमा “खाल्दा” बेगम नाजिर ताहिर बिरयानी लिएर आइन् र भनिन बेटा तुम दोनो के लिए लाई हुँ, मिलके खाना । यसरी दिनहुँ सोहेबको लागि मात्र नभएर “खाल्दा” मेरा लागि पनि खाना ल्याउन थालिन् । सोहेबले मेरो बारेमा खाल्दालाई सबै रेपोर्टिङ गर्थे । एक दिन बडो कडाइका साथ “खाल्दाले” मलाई भनिन्, सराब पिना कम कर बर्ना कान के निछे दुङ्गी । उनी पेशाले शिक्षिका थिइन्, मैले धेरै दिन पछि एउटी गुरुमाको अवतार अमेरिकामा पाएँ । उनी मेरी गुरुमा भन्दा आमा “खाल्दा” थिइन् । मेरे तीन बच्चे है, अब चार होगए सम्झा टाइगर उनी भन्ने गर्थिन् ।

उनको माया र ममताको अगाडि धर्म, भौगोलिक सिमाना, राष्ट्रियता सब लघु शब्द प्रतित हुन्थे । केही दिन पहिले उनले मलाई भनेकी थिइन् । अब त तैंले विवाह गरि सकिस्, अब मैले होईन बुहारीले मलाई खाना ख्वाउनु पर्छ ।

उनले थपिन्, संसारमा सबै थोक भ्रम हो । मृगतृष्णा हो । सत्य त केवल प्रेम हो, यही प्रार्थना “इबाद्त” हो । त्यसैले प्रेमलाई समेट्ने कोसिश गर्नु पर्छ । घर, परिवार, समाज देश र प्रकृतिमा पनि प्रेम देख्नु पर्छ । उनले यसो किन भनिन्, मलाई थाहा छैन, अनयासै मैले उनको पाउ छोएँ र ढोगे । खाल्दा आखाभरी आँसु लिएर घरतर्फ लागिन्, म उनलाई आँखाबाट ओझेल नहुन्जेलसम्म हेरिरहें ।

तर, आज खबर पाएँ, मेरी पाकिस्तानी आमाले सधैका लागि आँखा बन्द गरिछन् । हृद्यघातबाट उनको मृत्यु भएछ । खाल्दा तिमी त संसार छाडेर सदैका लागि निदाइछेउ । खाल्दा तिमीले आफ्नी बुहारीलाई खान बनाएर खुवाउने सौभागय पनि दिइनौ । मेरी “खाल्दा” आमाको पार्थिब शरिर पाकिस्तान लागिंदै छ । म केहि बोलिन । मनै मन भने, खाल्दा तिमी मृत्यु पछि पनि एउटा सन्देश लिएर पाकिस्तानी धर्तीमा पुग्दै छेउ, “सत्य त केवल प्रेम हो यही प्रार्थना, इबाद्त हो ।”

धन्य आमा तिमी महान छेउ…
KantipurDaily
Share.

Leave A Reply