ओझेलमा उहिया

0

यदु अधिकारी

गोर्खा जिल्लाको नाम लिनासाथै माथिल्लो र तल्लो मनास्लु भनेर छुट्टयाउने गरिन्छ । यही तल्लो मनास्लुको धार्चे गाउँपालिका साविक उहिया गाविस. प्राकृतिक दृष्टिले मनोरम भए पनि धेरैका लागि बेखबरझैं छ । गुम्दा, लाप्राक र सिर्दिबाससँग सिमाना जोडिएको यो गाउँ बुढीगण्डकीदेखि हिमालको फेद ठूलो दूध पोखरीसँग फैलिएको छ ।

त्यहाँको स्थानीय भाषामा ‘उहिया’ अर्थात् ‘हिमाल देखिने गाउँ वा प्रशस्त आलु हुने ठाउँ’ भन्ने बुझिन्छ । अठार सय खोलाबाट बगेको नदी सिर्दिबासको जगत्, उहियाको तातोपानी हुँदै तल बगेको छ । भोट खोला जाने एकपाइले भीर त्यहाँ छ । बूढापाकाहरू नुन लिन जाँदा भोर्लाको पातले आँखालाई छेकी नदीतर्फ नहेरी कुना मात्र हेरेर बाटो काट्थे रे ।

गोरखा उत्तरी भेगमा पर्ने उहिया–७ मा पर्ने तातोपानी बुढीगण्डकी तीरैतीर हुँदै ३ दिनको पैदलयात्रामा पुग्न सकिने गन्तव्य हो । तातोपानी क्षेत्र प्रसिद्ध मनास्लु र उत्तरी नाकाबाट तिब्बत जाने मूल बाटोमा पर्ने भएकाले पर्यटक तथा गोरखाको उत्तरी भेगका छेकम्पार, विही, प्रोक, ल्हो, सामागाउँ, सिर्दिबास, चुम्चेतलगायत गाविसका बासिन्दा यही बाटो भएर हिंड्ने गर्छन् । यो भेगमा तातोपानीका उत्खनन गर्नै बाँकी अनेक मुहान छन्, अहिले ४ वटा उहियामा र एउटा केरौंजामा मुहान पाइएको छ । उहियामा दिंलादेवी मन्दिर छ । प्राकृतिक रूपबाट बनेको देवीको मूर्तिमा ढोका पनि ढुंगाकै छ । पहराको बीचमा रहेको यस मन्दिरमा जाने आउने बाटो हाल सजिलो बनाइएको छ ।


उहियाँ गाउँ सदरमुकामदेखि २६ कोस टाढा पर्छ । बुढीगण्डकीको तीरदेखि ठूलो दूधपोखरीसम्म उच्च रहेको गाउँलाई हिउँले ढाकिएको पहराले छुट्टयाएको छ । खोर्ला (पराक्रमी) कोटजस्ता अनगिन्ती पुरातात्त्विक पर्यटकीय सम्पदा यहाँ छ । उहियामा ऐतिहासिक, पुरातात्त्विक, सामाजिक, सांस्कृतिक, प्रचुर प्राकृतिक सम्पदा छ । पर्यटकलाई विश्वास जितेर गोरखा र उहियाको प्राचीन, आधुनिक कला, जातजाति, संस्कृति र वेशभूषा देखाएर मन जितेमा नेपाल, गोरखा साथै उहियावासीको कल्याण हुनेछ ।

यो लेख कान्तिपुर पब्लिकेशनको कोसेलीका लागि यदु अधिकारीले लेखेका हुन् ।

Share.

Leave A Reply