जिल्लाको पछिल्लो समसायिक बिषयमा नयाँ शक्तिको चासो

0

मोहसिन अलि मियाँ
गोरखा । नयाँ शक्ति पार्टी नेपाल गोरखाले जिल्लाको समसायिक बिषयलाई समेटेर ज्ञापन पत्र बुझाएको छ । पछिल्लो समय जिल्लामा देखिएका बिभिन्न समस्यालाई समेटेर नयाँ शक्तिले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । जिल्लामा भुकम्पपिडितले पुनःनिर्माणमा भोग्नुपरेका समस्या, नजिकिदै गरेको चाडवाडलाई मौका छोपेर कालोबजारी मौलाएको, गोरखा दरबार पुनःनिर्माणमा ढिलासुस्ती भएको, बुढिगण्डकी आयोजनाका प्रभावितका समस्या लगायतका बिषयबस्तु ज्ञापन पत्रमा समेटिएका छन् ।

नयाँ शक्ति गोरखाका संयोजक ज्ञानेन्द्र कुमालले हस्ताक्षर गरेको १० बुदे ज्ञापन पत्रमा लेखिएको छ ‘नजिकिदै गरेको दशै तिहार लगायतको चाडवाडमा कालोबजारी मौलाउन सक्ने सम्भावना रहेकाले अनुगमनलाई प्रभावकारी रुपमा अघि बढाइयोस्’ पत्रमा उल्लेख छ ‘भुकम्प गएको ३ बर्ष ५ महिना बित्दा अझै कैयौं जनाताहरुको घर पुनःनिर्माण हुन सकेको छैन । अझै कैयौंको नाम लाभग्राहीमा समेत छुट भएको छ, यसले गर्दा भुकम्पपिडितले सास्ती भोग्नुपरेकाले तत्काल समस्या समाधान गरियोस् ।’

देशमा पछिल्लो समय हत्या हिंशा र बलत्कार बढेको र राज्यको संयन्त्र फितलो र निरिह देखिएको भन्दै नयाँशक्तिले देश जटिल अराजकता तर्फ उन्मुख हुन सक्ने खतारा प्रति चिन्ता ब्यक्त गरेको छ । त्यस्तै पछिल्लो समय सरकारले हचुवाको भरमा जगाभावी कर थोपर्ने काम गरेको भन्दै तत्काल कर आतंक बन्द गर्न समेत माग गरिएको छ । चाडवाड नजिकिदै गर्दा उपभोग्य बस्तुमा भएको चरम मुल्यबृद्धि तत्काल फिर्ता लिन माग गर्दै पत्रमा लेखिएको छ ‘नेपाल आयल निगमले बिना टेण्डर वाइडबडी जहाज खरिदका क्रममा अनियमितता र भ्रष्ट्राचार भएको र तत्काल सम्बन्धितलाई कारबाही गरियोस्’ पत्रमा उल्लेख छ ।

त्यस्तै ३३ किलो सुन तस्करीका नाइकेहरुलाई कारबाहीको सट्टा संरक्षण गरेको भन्दै नयाँ शक्तिले सरकार नै अपराधीको संरक्षणमा लागेको आरोप लगाएको छ । त्यस्तै बुढिगण्डकी जलविद्युत आयोजना गेजुवा कम्पनीलाई दिने सरकारी निर्णय राष्ट्रघाती कदम भएको ठहर गर्दै तत्काल निर्णय फिर्ता लिई स्वदेशी लगानीमै निर्माण गर्न माग गरेको छ । यसैगरी बुढिगण्डकी प्रभावित क्षेत्रमा लगाइएको लाभकर हटाउनुपर्ने भन्दै नयाँशक्तिले मुआब्जा निर्धारण नभएका क्षेत्रमा तत्काल प्रकृया अघि बढाउन समेत माग गरेको छ ।

ज्ञापनपत्र बुझ्दै जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत गौतम भण्डारीले तत्काल प्रधानमन्त्रीलाई पठाउने बताए । नयाँ शक्तिले सोमबार गण्डकी प्रदेश भरीका जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको जनाएको छ ।

Share.

Leave A Reply