बुंकोटमै सुरु भयो विशेषज्ञ डाक्टर सहितको सेवा

0

मोहसिन अलि मियाँ
गोरखा । गोरखाको बुंकोटमा बिशेषज्ञ डाक्टर सहितको सेवा सुरु भएको छ । शहिद लखन गाउँपालिका वडा नम्बर ७ र ८ को आयोजना तथा जिल्ला अस्पताल गोरखाको समन्वयमा सेवा सुरु भएको हो । बुंकोट स्वास्थ्य चौकीबाट अब हरेक हप्ताको शुक्रबार गोरखा अस्पतालका बिशेषज्ञ डाक्टरहरुले निशुल्क स्वास्थ्य जाँच गराउने ब्यवस्था मिलाइएको वडा नम्बर ७ का वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिएका छन् । ‘सदरमुकामबाट नजिक रहेर पनि स्वास्थ्य सेवाको पहुँचबाट यहाँका जनता टाढा हुनुपरेको अवस्था छ’ उनले भने ‘अब हरेक हप्ता बिशेषज्ञ डाक्टरहरुलाई गाउँमै ल्याएर जाँच गराउने प्रवन्ध मिलाएका छौ ।’

गाउँपालिकाको आर्थिक बर्ष २०७५/७६ को कार्यक्रम अन्तरगत वडा नम्बर ७ र ८ ले सो कार्यक्रमको सुरुवात गरेको जनाएको छ । जनतालाई गाउँमै निशुल्क र सहज रुपमा स्वास्थ्य सेवा दिने र सबैलाई सेवाको पहुँचमा पु¥याउने उदेश्यले कार्यक्रमको थालनी गरिएको वडाध्यक्ष श्रेष्ठको भनाई छ । ‘हामीले पहिला पनि जनतासंग प्रतिवद्धता गरेका थियौ, गाउँमै भरपर्दो स्वास्थ्य सेवा ल्याउछौ भनेका थियौ, आजबाट सुरु भयो, यसले पक्कै पनि यहाँका जनतामा ठूलो राहत मिल्नेछ’ वडा नम्बर ७ का वडाध्यक्ष श्रेष्ठले भने ‘यो अभियानमा हामीलाई गोरखा अस्पतालले सहयोग गरेको छ, अस्पतालसंग हाम्रो एक बर्षको एग्रिमेण्ट पनि भइसकेको छ ।’

यसका लागि जिल्ला अस्पतालले निशुल्क रुपमा प्रत्येक हप्ता विशेषज्ञ डाक्टर बुंकोट पठाउने र त्याहासम्म जाने आउने वडाले यातायात र खाजाको ब्यवस्था गर्ने सम्झौतामा उल्लेख छ । त्यस्तै सेवा संगै आवस्यक औषधी समेत निशुल्क दिने वडाले ब्यवस्था मिलाएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठका अनुसार यो सेवाले यस क्षेत्रका जनतालाई निक्कै फाइदा हुने बताउछन् । ‘दुईवटा वडाले जुन कार्य सुरु गर्नुभएको छ, यो अत्यन्तै सह्रानिय छ, यो कार्यक्रमले यस क्षेत्रका जनतालाई निक्कै फाइदा पुग्छ’ उनले भने ‘अब हामी यहाँ बाट मात्रै होइन, गाउँपालिका भित्र रहेका अन्य ५ स्वास्थ्य चौकीबाट पनि सुरु गर्न पहल गर्छौ, अहिलेसम्म स्याटेलाइट क्लिनिक मात्रै चलेको छ ।’

बुंकोटबाट यस्तो सेवा सुरु गर्न पाउदा आफुहरु पनि निक्कै खुसी भएको गोरखा अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर श्रीराम तिवारीले बताएका छन् । त्यस क्षेत्रका बिरामीलाई गाउँमै गएर सेवा दिन वडा कार्यालयबाट अनुरोध आएपछि आफुले सम्झौता नै गरेर काम अघि बढाएको तिवारीको भनाई छ । ‘वडा कार्यालयबाट अनुरोध आयो, हामी त्याहा गइदिदा सयौ बिरामीलाई सहज हुने भयो’ उनले भने ‘सामान्य बिरामी पर्दापनि सदरमुकाम धाउनुपर्ने बाध्यता अब त्याहा हुदैन, यसले हाम्रा पुराना बिरामीलाई गाउँमै गएर फलोअप पनि गर्ने मौका मिलेको छ ।’

जिल्ला अस्पतालको सेवा प्रभावित नहुने गरी बुंकोटमा सेवा सुरु गरिएको उनले बताएका छन् । यस अघि गोरखा नगरपालिका १० छेपेटारबाट पनि अस्पतालले दैनिक रुपमा बिशेषज्ञ डाक्टर सहितको सेटेलाइट क्लिनिक सञ्चालन गरिसकेको छ ।

बुंकोट स्वास्थ्य चौकीमा शुक्रबार संचालन गरिएको सो सेवाबाट ८० जना बिरामीले स्वास्थ्य परिक्षण गराएका छन् । अस्पतालकी  डा. सुचिता अमात्यायले बिरामीको स्वास्थ्य परिक्षण गराएकी हुन् ।

Share.

Leave A Reply