बोर्लाङ्गका कुमार रानालाई घर फर्काउन ६३ लाख साउदी पठाइयो

0

मोहसिन अलि मियाँ
गोरखा । गोरखा बोर्लाङ्गका कुमार रानालाई साउदी जेलबाट नेपाल फर्काउन संकलन भएको ‘ब्लड मनी’ परराष्ट्र मन्त्रालयमा बुझाइएको छ । सडक दुर्घटनाको मुद्धामा जरिवाना तिर्न नसक्दा साउदी जेल परेका भिमसेन थापा गाउँपालिका ७ का रानालाई घर फर्काउन ६२ लाख ७४ हजार रकम बिहिबार उनको परिवारले मन्त्रालयमा बुझाएको हो ।

रानालाई साउदी अदालतले २ लाख ९४ हजार रियाल जरिवाना तोकिएको थियो । तर दुर्घटनाका घाइते साउदी नागरिकले ४४ हजार रियाल मिनाह गरिदिएको र रानाले काम गर्ने कम्पनीबाट ५० हजार आएपछि नेपालबाट २ लाख रियाल मात्रै पठाइएको परिवार स्रोतको भनाई छ ।

बैदेशिक रोजगारीको शिलशिलामा २०७२ सालमा साउदी गएका रानालाई गैरकानूनी रुपमा गाडी चलाएको भन्दै साउदी सरकारले जेल सजाय दिइरहेको छ । उनले चलाएको गाडीको ठक्करबाट घाइते भएका साउदी नागरिकलाई क्षतिपूर्ति बापत तिर्नुपर्ने ८३ लाख नेपाली रुपयाँ उपलब्ध गराउन नसक्दा रानालाई आजिवन कारावासको सजाय सुनाइएको थियो ।

अदालतबाट यस्तो निर्णय आएपछि उनको जीवन रक्षा गरि घर फर्काउनका लागि बोर्लाङ्गकै कृष्ण ढकालको संयोजकत्वमा कुमार राना बचाउ अभियान सुरु गरी ‘ब्लड मनि’ संकलन सुरु गरिएको थियो ।

उनको जीवन रक्षाका लागि नेपाल स्थित बिभिन्न सामाजिक संघसंस्था तथा ब्यक्तिगत रुपबाट सहयोग प्राप्त भएको थियो । गत बैशाख पहिलो साताबाट सुरु भएको रकम संकलन अभियानले ५ महिनाको अन्तरालमै ६२ लाख ७४ हजार रकम उठाएर साउदी पठाउन सफल भएको अभियानका संयोजक ढकालले बताएका छन् । बिहिबार परराष्ट्र मन्त्रालयका निमित्त सचिव कृष्ण प्रसाद ढकाललाई रानाकी पत्नी अम्बिका राना र अभियानका संयोजक ढकालले रकम हस्तान्तरण गरेका हुन् ।

राना २०७१ सालमा खालिद एस अल कम्पनीमा हेल्पर काम गर्न गएका हुन् । उनले चलाएको सवारीले २०७३ बैशाख १२ मा स्थानीय खालिद विन फहाद विन सरद घाइते भएका थिए । घाइतेले अदालतमा मुद्दा दायर गर्दै उपचार खर्चका साथै २ लाख ९४ हजार रियाल अर्थात् करिब ८३ लाख नेपाली रुपैयाँ माग गरेपछि कुमार ८ महिना अघि जेल चलान गरिएको हो ।

साउदी प्रहरीले असोजको ११ गते रानालाई प्रक्राउ गरी हरासतमा राखिएको थियो । त्यसपछि त्यहाँको अदालतले कुमारलाई दोषि ठहर गर्दै गत माघ पहिलो हप्ता साउदीको अफिफ सेन्ट्रल जेल चलान गरेको हो । घाईते पक्षलाई क्षतिपुर्ति रकम नतिरे सम्म कुमारको रिहाई हुन नसक्ने साउदी अरब स्थित नेपाली दूतावासले बताएपछि रानालाई नेपाल फर्काउन अभियान चलाइएको थियो ।

Share.

Leave A Reply