देशभर सहुलियत पसल सञ्चालनमा, खाद्य सामग्रीमा ५० रुपैयाँसम्म छुट

0

सरकारले चाडपर्वलाई मध्यनजर गर्दै उपभोक्तालाई सहुलियत मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराउन एकीकृत सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयोजनमा नेसनल ट्रेडिङ लिमिटेड, नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेसन, दुग्ध विकास संस्थानलगायत वस्तु व्यापार गर्ने सरकारी निकायको सहभागितामा सहुलियत दरको पसल सञ्चालनमा ल्याइएको हो ।

गुणस्तरीय सामग्री उपलब्ध गराउन र कृत्रिम अभाव सिर्जना हुन नदिन सरकराले मुलुकभर ४७ स्थानमा सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याएको हो । उपत्यकामा तीन वटा ‘मोबाइल भ्यान’ मार्फत पनि सहुलियत दरमा उपभोग्य सामग्री उपलब्ध गराइएको छ ।
शुत्रबारदेखि सञ्चालन भएका सहुलियत मूल्य पसल आगामी कात्तिक २७ गतेसम्म चल्नेछन् । सरकारले वि.सं. २०६६ देखि जनतालाई सहुलियत मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराउन सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ ।

सहुलियत मूल्य पसलबाट साल्ट ट्रेडिङ कर्पोरेसन, नेपाल खाद्य संस्थान र दुग्ध विकास संस्थानले आकर्षक छुटमा उपभोग्य सामग्री उपलब्ध गराएका छन् । चामल, दाल, गेडागुडी, फापरको पीठो र खसी, बोका, भेडा तथा च्यांग्राामा प्रतिकिलो १० रुपैयाँ छुट दिइएको छ । डिडिसीले घ्यूमा प्रतिकिलो ५० रुपैयाँ छुट दिइएको छ ।

शुक्रबार रामशाहपथस्थित नेसनल ट्रेडिङ परिसरमा सहुलियत मूल्य पसलको शुभारम्भ गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले चाडपर्वका अवसरमा दैनिक उपभोग्य वस्तुमा थोरै मात्रामा भए पनि सहुलियत प्रदान गर्न पसल सञ्चालनमा ल्याइएको बताए ।

विभिन्न बहानामा उपभोक्तालाई ठग्ने छुट कसैलाई नभएको बताउँदै उहाँले उपभोक्तालाई गुठी र उपभोग्य सामग्रीमा मिसावट गर्ने व्यापारीलाई कारवाही गर्न कानून निर्माण भइसकेको बताए । चाडपर्वबाहेक अन्य समयमा पनि आम पसल सञ्चालकले सहुलियत दरमा उपभोग्य सामग्री उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।

उनले भने, “ऐन तथा नियमको परिधिभित्र रहेर नाफा आर्जन गर्न पाइन्छ, गुणस्तरीय सामग्री बिक्री वितरण गर्नुपर्छ, चाडपर्वको मुखमा कालोबजारी गर्न पाइँदैन, बजारलाई मर्या्दित र व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्छ ।”
मन्त्री यादवले चाडबाडका क्रममा उपभोग्य सामनको कृत्रिम अभाव सिर्जना गरेर मूल्यवृद्धि गर्ने प्रवृत्ति निरुत्साहित गर्न सरकार कडारुपमा प्रस्तुत हुने प्रस्ट्याए ।

(रासस)

Share.

Leave A Reply