गोरखाको पर्यटन क्षेत्र – योजना, अवसर र चुनौती

0

मोहसिन अलि मियाँ
गोरखा ।
आर्थिक विकासको एउटा मापदण्ड पर्यटन व्यवसाय हो । पर्यटन क्षेत्रको प्रचुर सम्भावना बोकेको जिल्लामध्ये गोरखा पनि एक हो । आन्तरिक तथा बाहृय अधिक पर्यटक भित्राउन सक्ने सम्भावना रहेको गोरखाको विगतदेखि बर्तमान अवस्थालाई नियाल्दा सोचे अनुसार आफुलाई विकास गर्न नसकेको देखिन्छ । प्राकृतिक मनोरम दृष्यहरू, हिमशृङ्खला, धार्मिक महत्वका स्थल, प्राकृतिक तथा भौगोलिक विविधताले भरिपुर्ण जिल्ला गोरखा हो । त्यति मात्रैले गोरखाको परिचय अपुरो हुन्छ ।
राज्य एकिकरणको उद्गम स्थलदेखि भुकम्पको केन्द्रबिन्दुसम्म गोरखाको नाम अग्रस्थानमै छ र परिचित पनि । यि विविध नाम र परिचयलाई गोरखाले अहिलेसम्म सोचे अनुसार बेच्न सकेको देखिदैन । ११ स्थानीय तह रहेको गोरखाले अब इतिहास देखि भुकम्पसम्मलाई बेच्न सक्नु पर्दछ । हुन त गोरखालाई नेपालको सबैभन्दा बढी आन्तरिक पर्यटक आउने जिल्लाका रुपमा पनि लिइन्छ तर यहाँ भएको अथाह पर्यटकीय क्षेत्रको पहिचान गराउन नसक्दा पर्यटक बढ्न भने सकेका छैनन् ।


गोरखामा पर्यटन क्षेत्र विकासका लागि विगतमा प्रयास भने नभएका होइनन् । थुप्रै योजनाहरु बनेका छन् तर त्यसको कार्यान्वयन पाटो फितलो हुदा अलपत्रै भएका देखिन्छन् । तर अव भने जिल्लावासीको केहि आशाको किरण पलाएको देखिन्छ । करिब २ दशकपछि प्राप्त भएको स्थानीय तहले पर्यटन क्षेत्रको विकासका लागि निर्माण गरेको योजनाले केही आशा जगाइदिएको हो ।
जिल्लाका ११ स्थानीय तहलाई हेर्दा सबै उत्तिकै प्रचुर सम्भावना र महत्व बोकेको देखिन्छ । दुई नगरपालिका र नौ गाउँपालिकाले आ–आफ्नो स्थानीय तहमा पर्यटन प्रवद्र्धनलाई महत्व दिदै करौडौ रकम विनियोजन गरेका छन् । तर पर्यटन विकासका लागि चुनौती र समस्या पनि उत्तिकै छन् ।

गोरखा नगरमा ‘मेगा टुरिजम प्रोजेक्ट’
गोरखा नगरपालिकाले पर्यटन क्षेत्रको विकास गर्न भन्दै ‘मेगा टुरिजम प्रोजेक्ट’ तयार पारेको छ । प्रोजेक्टमा भएका केहि योजना नगरपालिकाले यसै बर्षदेखि सुरुवात गरिसकेको छ भने केहि सुरुवातको चरणमै रहेको नगरप्रमुख राजनराज पन्तले बताएका छन् । तर केहि योजना भने आफुले चाहेर पनि गर्न नसकिने खालका रहेको उनको भनाई छ ।
नगरपालिकाले लाख देखि अरबौसम्म लागत लाग्ने योजनाहरु निर्माण गरेको छ । जस्तै भिमसेन पार्क, ताप्लेकोट, स्टोनपार्क, रानीबन, पश्चिमकाली, चिल्ड्रेनपार्क, भ्यू टावर, बुढिकोटी, गोरखागेट लगायतका योजना नगरपालिकाले यसै बर्षदेखि अघि बढाएको छ । यस बर्ष पर्यटन विकासका लागि करिब ८ करोड रकम बिनियोजन गरेको नगरपालिकाले अबको ४ बर्षपछि गोरखालाई नमुना पर्यटकिय साँस्कृतिक शहरका रुपमा स्थापित गराउने सपना देखेको छ । त्यस्तै गोरखा दरबार क्षेत्रमा गुरु गोरखनाथको प्रत्यामूर्ति सहितको गोरखनाथ पार्क निर्माणको योजना अघि सारेको छ । जसका लागि नगरविकास कोषसंग साझेदारीका लागि प्रकृया अघि बढेको नगरप्रमुख पन्तको भनाई छ । पर्यटन विकासका लागि नगरपालिकाले दरौदी नदिमा ¥याफ्टिङ्ग र प्याराग्लाइडिङ्गको समेत सफल परिक्षण गरिसकेको छ ।
त्यस्तै पश्चिमकालीदेखि रानीबनसम्मको क्षेत्रलाई धार्मिक पर्यटकिय क्षेत्र निर्माण गुरुयोजना तयार भइसकेको छ । यसैगरी लक्ष्मीबजारमा शिखरबेशी ताल निर्माण गर्न सकिने भन्दै नगरपालिकाले डिपिआर समेत तयार पारिसके पनि स्रोत अभावका कारण काम अघि बढ्न सकेको छैन । त्यस्तै सदरमुकाम र दरबार क्षेत्र वरपर पुरातत्व विभागले चर्चेका जग्गा धेरै रहेको र त्यस स्थानहरुमा पर्यटन पर्वद्धन गर्न र संरचना निर्माण गर्न नगरसंग अधिकार नभएकाले केहि अफ्टेरो परेको नगरप्रमुख पन्तको भनाई छ ।

पालुङ्गटारमा ‘स्पोर्टस् टुरिजम’
दौडमा जितेर राज्य जित्ने गरेको प्रथालाई निरन्तरता दिदै लिगलिगकोटमा अहिलेपनि बर्षेनी दौड प्रतियोगिता हुन्छ । यसैलाई पछ्याउदै पालुंटार नगरपालिकाले ‘स्पोर्टस् टुरिजम’लाई अघि बढाउने योजना बनाएको मेयर दिपक कडेंलले बताएका छन् । लिगलिगकोटमा संग्राहलय निर्माण गर्ने यस क्षेत्रलाई पर्यटकिय हब बनाउने उनको योजना छ । भुगोलले समेत साथ दिएको यस नगरपालिकाले तातोपानी, भुलभुलेखार देखि कालु पाण्डेको स्मारक हुदै थानकोमाइसम्म पदमार्ग निर्माण गर्ने योजना बनाएको छ ।
सरकारले अघि सारेको स्मार्ट सिटी, मेगा सिटी र औधोगिक क्षेत्र निर्माणले समेत पालुङ्गटारमा पर्यटन क्षेत्रका हिसावले सम्भावित देखिएको छ । त्यस्तै पालुङ्गटारले पर्यटनलाई आकर्षण गराउन भएका पोखरी, चौताराहरुको समेत जर्गेना गर्ने बताएको छ । तालपोखरी र त्यहा लाग्ने जात्रालाई ब्यवस्थापन गर्न सके राम्रै पर्यटक भित्राउन सकिने मेयर कडेंलको अपेक्षा छ । यसैगरी चेपे नदीको किनारमा पोखरीहरु निर्माण गर्ने, पालुङ्गटारमा खुल्ला विश्वविद्यालय स्थापना गर्ने, लिगलिगकोट, मिरकोट, धुवाँकोट लगायतका कोटहरुको प्रवद्र्धन एवम प्रचार गरी आन्तिरिक र बाह्य पर्यटकिय स्थलका रुपमा विकास गर्ने योजना पालुङ्गटारसंग छ । त्यस्तै पालुङ्गटारमा रहेको हवाई मैदानलाई संचालन गर्न सके पर्यटकको खाचो नहुने उसको ठम्याई छ ।

धार्मिक पर्यटकिय नगरी बनाउदै शहिद लखन
आफ्नो कार्यकालमा गाउँपालिकालाई पर्यटकिय नगरीका रुपमा विकास गर्ने लक्ष्य राखेको शहिद लखन गाउँपालिकाका प्रमुख रमेशबाबु थापा मगरले बताएका छन् । प्रशिद्ध मनकामना मन्दिर यसै गाउँपालिकामा पर्ने भएकाले पनि पर्यटनको सम्भावना निक्कै रहेको देखिन्छ । एक बर्षमा १० लाख भन्दा बढि आन्तरिक र बाह्य पर्यटक भित्राउने मनाकामना मन्दिरलाई ब्यवस्थित बनाउने मुख्य उदेश्य गाउँपालिकाको छ । त्यस्तैे वक्रेश्वरी मन्दिर, भिमविरेश्वर लगायतका मन्दिरलाई प्रवद्र्धन गर्ने योजना निर्माण भएको छ ।
गाउँपालिकाले ६ स्थानमा होमस्टे संचालनको खाका तयार पारिसकेको बताएको छ । ताक्लुङ्गको पौवाटारलाई इको टुरिजमका रुपमा विकास गरी पर्यटक भित्राउने दाउमा रहेको शहिद लखनले यस बर्ष पर्यटन प्रवद्र्धनका लागि करिब ५० लाख रकम छुट्याएको जनाएको छ । त्यस्तै भ्यू टावर निर्माण, काउले भङ्गारमा शहिद लखन थापा संग्राहलय निर्माण गर्ने योजना पनि गाउँपालिकाले अघि सारेको छ ।
जलाशययुक्त बुढिगण्डकी जलविद्युत आयोजनाले समेत यस गाउँपालिकाका धेरै स्थान ओगट्ने भएकाले पनि पर्यटनको सम्भावना रहेको देखिन्छ । तर गाउाँपालिकाले तयार गरेको बिभिन्न योजना निर्माणका लागि स्रोत नभएकाले थालनी गर्नै मुस्किल रहेको प्रमुख थापाले बताएका छन् ।

‘एग्रो टुरिजम’ लाई अघि बढाउदै अजिरकोट
अलैची र अन्य जडिबुटीको अधिक सम्भावना बोकेको अजिरकोट गाउँपालिकाले ‘एग्रो टुरिजम’ लाई अघि बढाउने भएको छ । जिल्लामा अलैची खेतीको पकेट क्षेत्र मानिने अजिरकोटमा त्यसलाई संरक्षण र प्रवद्धन गर्न मात्रै सके पनि पर्यटनका क्षेत्रमा फड्को मार्न सक्छ । दुधपोखरी, नारदपोखरी, रुविनाला, लगायतका ५ भन्दा बढि मनोरम पोखरीहरुलाई समेत लाई प्रवद्धन गरी टुरिजम सञ्जाल बनाउने उदेश्य लिएको यस गाउँपालिकाले १५ दिनको पर्यटन ट्रेकिङ्ग रुट बनाउने योजना बनाएको गाउँपालिका अध्यक्ष फणिन्द्र धितालले बताएका छन् ।
भच्चेक बजार, सिरानडाँडाँ, ओलाङ्ग, अजिरकोट लगायतलाई ब्यवस्थित बनाई बिभिन्न स्थानमा होम स्टे संचालनको तयारी गाउँपालिकाको छ । जनैपूर्णिमामा नागे र नाम्चेमा लाग्ने मेलालाई ब्यवस्थित गरी आन्तरिक र बाह्य पर्यटनलाई यहाँको प्रकृतीसंग जस्ताको तस्तै घुलमिल हुन सक्ने वाताबरण बनाउन योजना नै निर्माण भएको अध्यक्ष धितालको भनाई छ । पुछारमा चेपे र ठूला टार, सिरानमा पोखरी र मनोरम डाँडाँहरु मात्रै संरक्षण र प्रवद्धन गर्न सके आफ्नो गाउँपालिकामा आन्तरिक र बाह्य पर्यटक ओइरिने सपना गाउँपालिकाले बोकेको छ । तर त्यसका लागि सबैभन्दा ठूलो चुनौती आर्थिक स्रोत नै देखिन्छ । यस बर्ष करिब ६० लाख रकम पर्यटन प्रवद्र्धनमा हालेको गाउँपालिकाले बिभिन्न निकायसंग समन्वय गरी अर्गानिक टुरिजमको स्वाद दिन खोजिरहेको बताएको छ ।

धार्चे ‘खुल्ला संग्राहलय’
धार्चे गाउँपालिकाले आफुलाई ‘खुल्ला संग्राहलय’ का रुपमा स्थापित गराउन खोज्दै छ । गाउँपालिकाभित्र अवस्थित अथाह भौगोलिक तथा प्राकृतिक सम्पदाहरुलाई नै बेचेर बर्षेनी लाखौ पर्यटक भित्राउने सपना धार्चेले लिएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङ्गले बताएका छन् । साथै धार्चेले भुूकम्पलाई समेत बेच्न सक्ने सम्भावना देखेको छ । एनआरएले लाप्राकमा निर्माण गरेको ५ सय ७३ घरको एकिकृत बस्तीमा मोडल भिलेस कम्युनिटी होम स्टेको अवधारणालाई धार्चेले अघि सारेको छ ।
गणेश हिमालको बेसक्याम्पसम्म पद मार्ग निर्माण योजना पनि धार्चेले प्राथमिकताका साथ अघि बढाएको जनाएको छ । माछाखोलामा गण्डकी नदिबाट लिफ्टिङ्ग गरेर तातोपानी कुण्ड बनाउने, ह्यारी हिल, इमान गुरुङ्ग स्मृती पार्क, भिसी थमन पार्क चुङमाङ डाँडाँ पार्क लगायत योजना निर्माण गरी पर्यटक बढाउने दाउमा धार्चे लागेको छ ।
यस बर्ष पर्यटन विकास गर्न भन्दै १ करोड बजेट बिनियोजन गरेको धार्चेले खुल्ला पहाडलाई मूर्तिको आकार दिन पहल सुरु गरिसकेको छ । बिशाल चट्टानयुक्त पहाडहरुलाई बिभिन्न भगवानहरुको मूर्तिको आकार दिने, शिव लिङ्ग निर्माण गर्ने, टुइन्स पार्क लगायत प्राकृतिक सम्पदालाई रंगाएर खुल्ला संग्राहलय बनाउने नमुना प्रयत्न पनि धार्चेले थालेको छ । यसैगरी धार्चेको पर्यटन विकास गर्न यसैबर्ष लगानी सम्मेलनको समेत आयोजना गर्ने अध्यक्ष गुरुङ्गले बताएका छन् । ‘धार्चेधाम–घुम्न जाम’ नारा लिएको धार्चेले पर्यटन सूचना केन्द्र समेत स्थापना गर्ने र कम्तिमा १० गाउँमा नमुना होम स्टे संचालन गर्ने योजना बुनेको छ ।
पर्यटनको अत्याधिक सम्भावना रहेको धार्चे विकासमा भने पहिलो चुनौती भौगोलिक विकटला हो । बजेट र कर्मचारी अभावमा सोचे अनुसार काम अघि बढाउन नसकेको धार्चेले जनाएको छ ।

उत्तरी क्षेत्रका लागि चार करिडोर निर्माण गर्दै आरुघाट
उत्तरी गोरखाको मुख्य नाकाको रुपमा रहेको आरुघाट गाउँपालिकाले चार पैदल करिडोर निर्माण गर्न लागेको बताएको छ । धार्चे, चुमनुब्री, धादिङ्गको गणेश हमिालसम्म पुग्ने पैदल करिडोर निर्माणको योजना बनाउदै आरुघाटले आरखेत, थुमी, सतिडाँडाँ, मनिखर्क, धार्चे, रुबिनाला करिडोर बनाउन यसै बर्षबाट सुरु गर्ने गाउँपालिका अध्यक्ष पूर्ण दाहालले बताएका छन् । जिल्लाकै दोस्रो ब्यापारिक केन्द्रका रुपमा परिचित आरुघाट बजारमा प्रविधिमैत्री पर्यटन सूचना केन्द्र स्थापना गर्न थालनी भइसकेको छ ।
पर्यटन विकास गर्न विस्केट फण्ड समेत स्थापना गरेको गाउँपालिकाले प्याराग्लाइडिङ्ग, रक क्लाइमिङ्गको सम्भाव्यता अध्ययन गरिसकेको छ । त्यस्तै डोडरे खोलामा बञ्जी जम्प संचालन गर्न समेत योजना बनाएको आरुघाटले जनाएको छ । गाउँपालिकाको पर्यटन विकासको सम्भाब्यता अध्ययनका लागि आरुघाटले यसै बर्ष बिभिन्न निकायबाट विज्ञ मगाएको छ । पर्यटन क्षेत्रमा सम्भावना बोकेको आरुघाटले पार्क निर्माण र होम स्टे संचलनलाई यसै बर्षबाट सुरु गर्ने बताएको छ । गत बर्ष मनाशलु हिमाल पदमार्ग जान मात्रै ७ हजार पर्यटक यसै नाकाबाट गएकाले आगामी बर्षबाट यसलाई बृद्धि गर्ने र आरुघाटलाई पर्यटन हव बनाउने सपना बोक्दै गाउँपालिकाले यस बर्ष २० लाख रकम छुट्याएको छ ।
तर अझैसम्म बुढिगण्डकी जललविद्युत आयोजनाले यस क्षेत्रको मुआब्जा निर्धारण समेत नगरेको र केहि बर्षदेखि जग्गाहरुको बेखबिचन र बैंक धितो रोक्का गरेकाले आर्थिक कारोबार न्यून रहेकाले यसको असर पर्यटन प्रवद्र्धनमा देखिएको अध्यक्ष दाहालको भनाई छ ।

 

‘गुरुयोजना’ बनाउदै वारपाक सुलिकोट
पर्यटन प्रवद्र्धनका लागि वारपाक सुलिकोट गाउँपालिकाले ‘गुरुयोजना’ निर्माण गर्ने भएको छ । ‘सुन्दर सुलिकोट–संवृद्ध सुलिकोट’ बनाउने सपना लिएको सुलिकोटले गुरुयोजना निर्माण गरी काम थाल्ने भएको हो । वारपाक यसै गाउँपालिकामा पर्ने भएकाले पनि पर्यटनको अधिक सम्भावना यहाँ देखिन्छ । यस बर्ष पर्यटन क्षेत्रको विकास गर्न १ करोड रकम खर्च गर्ने लक्ष्य राखेको गाउँपालिकाले एसिया कै सबैभन्दा ठूलो मानिने सिता गुफाको प्रवद्र्धनलाई विशेष प्राथमिकताका साथ राखेको गाउँपालिका अध्यक्ष विष्णु भट्टले बताएका छन् ।
त्यस्तै भूकम्पको केन्द्रविन्दुलाई पनि बेच्ने गरी धेरै योजना निर्माण गरेको उनको भनाई छ । वारपाकमा भूकम्प स्मृती पार्क निर्माणलाई ब्यवस्थित बनाई अघि बढाउने, वारपाक मै भ्यू टावरको कामको थालनी यसै बर्षबाट गर्ने गाउँपालिकाको लक्ष्य छ । यसैगरी पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले यस अघि नै वारपाकमा नेपाल कै सबैभन्दा ठूलो झण्डा स्थापना गरिसकेको छ । देउरालीबाट सुलिकोट हुदै थार्चोक, ठोट्नेरीबाट धार्चे निकाल्न मनासलु पदमार्ग निर्माणको कामलाई पनि गाउँपालिकाले प्राथमिकताका साथ अघि बढाउदैछ । कम्तिमा ७ गाउँमा होम स्टे संचालनको वाताबरण बनाउने, शहिद दिल बहादुर रम्तेल स्मृती पार्क निर्माण गर्ने, बजेनी पोखरीलाई तालका रुपमा विकास गर्ने, सुलिकोट, रुपाकोट लगायतका पहाडहरुलाई पर्यटकिय स्थलका रुपमा विकास गर्ने गरी विज्ञहरुको सहयोगमा गुरुयोजना निर्माण गर्न लागेको बताएको छ ।
अबको ४ बर्षमा सुलिकोटलाई जिल्लाकै पर्यटकिय आधार इलाकाका रुपमा विकास गर्ने गरी काम गर्ने गाउँपालिका अध्यक्ष भट्टको भनाई छ । तर त्यसका लागि बजेट अभाव, भौगोलिक विकटता, राजनैतिक अस्थितरता इत्यादी मुख्य चुनौती रहेको गाउँपालिकाको ठहर छ ।

सिरानचोकले राजाको दरबार खोज्ने
सिरानचोककोटको घना जंगलभित्र रहेको पुरातत्व संरचनाहरुको अनुसन्धान एवम संरक्षण गर्न सिरानचोक गाउँपालिकाले लागेको छ । जंगलभित्र रहेको ३ वटा दरबारका भग्नावशेषहरुको खोजी गरेर त्यसको प्रवद्र्धन गर्ने गाउँपालिका अध्यक्ष राजु गुरुङ्गले बताएका छन् । हालसम्म कुन राजाको दरबार हो भन्ने फेला नपरेपनि सिरानचोकमा बिभिन्न जातिय राजाहरुले राज गर्थे भन्ने किम्वदन्तीमा भेटिन्छन् ।
त्यस्तै दरबार वरिपरी रहेका श्रीनाथ मण्डली, राजवैद्य गुफा धुतुपारा लगायतलाई संरक्षण एवम प्रचार प्रसार गर्न सके आफ्नो गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सकिने सिरानचोकको ठम्याई छ । यसैगरी सिरानचोककोटको प्रवद्र्धन नभएकाले आफुहरु पछि परेको निश्कर्ष निकालेको गाउँपालिकाले यसैबर्षदेखि सो कोटको विकास निर्माणको काम थालनी गर्ने बताएको छ । यसैगरी अमरसिंह थापा यसै गाउँपालिकामा जन्मेका हुन भन्ने बिभिन्न इतिहास भेटिएपनि कुन ठाँउमा जन्मेका हुन भन्ने अहिलेसम्म पत्त्ता नलागेकाले यसको अनुसन्धान गरी पर्क निर्माण गर्ने पनि सिरानचोकले लक्ष्य लिएको छ ।
अबको ३ बर्षमा जिल्ला कै नमुना निकनिक स्पोटका रुपमा पनि विकास गर्न पनि सिरानचोकले योजना अघि सारेको अध्यक्ष गुरुङ्गले बताएका छन् । राम्चे, थालाजुङ्ग, चित्रेपोखरी, नामरुङ्ग लगायतमा होम स्टे संचालन गर्ने, प्याराग्लाइडिङ्ग, रक क्लाइमिङ्ग, रकक्लाइमिङ्ग लगायतको समेत सम्भाब्यता अध्ययनको काम यसै बर्षदेखि सुरु गर्ने सिरानचोकको योजना छ । थालाजुङ्ग, केराबारी, जौबारी लगायतमा ब्यवसायीक अलैची खेती, दरौदी करिडोरमा माछा पकेट निर्माण गरि पर्यटक भित्राउने दाउमा पनि सिरानचोक छ । तर अहिलेसम्म गुरुयोजना समेत निर्माण नसकदा योजनाहरु प्राथमिकतामा पर्न सकेका छैनन् ।

भिमसेन थापाको सम्झनामा संग्राहलय
बोर्लाङ्गमा जन्मेका भिमसेन थापाको संग्राहलय निर्माणका लागि भिमसेन गाउँपालिकाले योजना बनाएको छ । नेपालका प्रथम शहिदका रुपमा परिचित भिमसेन थापाको प्रचार प्रसार गरेर पर्यटक भित्राउने दाउमा गाउँपालिका छ । उनको जन्मघर भएकै स्थानमा घरको भग्नावशेष नभत्काई संग्राहलय बनाउन भिमसेन थापा गाउँपालिकाले यसै बर्ष २० लाख बजेट छुट्याएको उपप्रमुख विनु वाग्लेले बताएकी छिन् ।
त्यस्तै तान्द्राङ्गकोट पुरातत्व विभागले नै मन्दिर निर्माण गरिरहेकाले त्यस वरपरलाई संरक्षण एवम जगेर्नाका लागि भिमसेनले योजना निर्माण गरिरहेको छ । यसैगरी ठुलोपोखरीलाई संरक्षण गर्ने, अश्राङ्गलाई पिकनिक स्पोटका रुपमा विकसित गर्ने, लक्ष्मी नारायण धामलाई प्रवद्र्धन र स्तरोन्ती गर्दै पर्यटन विकास गर्ने लक्ष्य भिमसेनले लिएको छ ।
बुढिगण्डकी जलविद्युत आयोजना अन्तरगत सबैभन्दा बढि भुगोल यसै गाउँपालिकामा पर्ने भएकाले पनि भविस्यमा पर्यटनको ट्रान्जिट पोइन्ट बन्ने सम्भावना यहाँ छ ।

पर्यटन क्षेत्रमा आत्मनिर्भर बन्दै चुमनुब्री
हालसम्म पनि सडक यातायाताको पहुँचमा नपुगेको गोरखाकोे उत्तरी क्षेत्रको चुमनुब्री गाउँपालिकाले पदमार्ग निर्माणलाई प्राथमिकता दिने भएको छ । पूर्णतया पर्यटन ब्यवसायमा निर्भर रहेको यस गाउँपालिकाले पर्यटक भित्राउन धेरै योजनाहरु बनाएको अध्यक्ष धनबहादुर गुरुङ्गले बताएका छन् । हिमालपारीको पालिका भनेर चिनिने यहाँ पर्यटनका अधिक सम्भावना रहेपनि सोचे अनुसार विकास गर्न सकेको छैन ।
चुमभ्याली, पुरातात्विक गुम्बाहरु, बिभिन्न हिमाल, खोँच, टार लगायतलाई मात्रै प्रवद्र्धन गर्न सके यहाँ पर्यटक ओइरिने गाउँपालिकाले परिकल्पना गरेको छ । मनासलु हिमाल, गणेश हिमाल लगायतका अन्य साना हिमालहरु आरोहणका लागि गाउँपालिकाले पदमार्ग निर्माण गर्न लागेको जनाएको छ । त्यस्तै चुम्चेतको चुम्लिङ्ग, दोर्जोङ्ग हुदै रानागाउँसम्म पैदल मार्ग निर्माणको काम यसै बर्ष अघि बढ्दै छ । यहाँको मुख्य किनमेल गर्ने बजार नै तिब्बत रहेकाले पनि त्यस क्षेत्रका पर्यटक भित्राउन अझै सकेको छैन ।
त्यस्तै त्याहाका होटल ब्यवसायलाई ब्यवस्थित गर्न नसक्दा चुमनुब्रीले सोचे अनुसार पर्यटक भित्राउन सकेको छेन । गाउँपालिकाले आगामी दिनमा होटल ब्यवासायलाई ब्यवस्थित गर्दै बिभिन्न रुविनाला, लार्केपास लगायतलाई सहज बनाउन पदमार्ग निर्माण गर्ने योजना बनाएको छ । त्यस्तै बिभिन्न स्थानमा झोलुङ्गे पुल निर्माण पनि प्राथमिकताका साथ अ िबढ्ने अध्यक्ष गुरुङ्गको भनाई छ । हाल त्याहासम्म पुग्न हेलिकप्टर बाहेक अन्य साधन नभएको त्यस गाउँपालिकामा रहेका प्रोमा , कालताल, बिरेन्द्रताल लगायतलाई पनि प्रवद्र्धन गर्दै पर्यटनमा आत्मनिर्भर बन्ने सपना चुमनुब्रीले लिएको छ ।

गण्डकीले पर्यटनको जग बसाल्ने
पर्यटन विकासका लागि जग बसाल्ने योजना रहेको गण्डकी गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा रहेका प्राकृतिक सम्पदाहरुको संरक्षण र प्रचारप्रसार गर्ने पनि उसले योजना बनाएको छ । भुम्लिचोकमा रहेको भैरवीचौर र महादेवस्थान डाँडाँलाई प्रवद्र्धन गर्न सके पर्यटक भित्राउन सकिन्छ भन्ने कल्पना गण्डकीले गरेको छ । महादेवस्थानमा रहेको मन्दिरको जिर्णोद्धार भैरवीचौरमा बिभिन्न संरचना निर्माण गरी पिकनिक स्थलका रुपमा विकास गर्न गाउँपालिकाले पहल सुरु गरेको उपाध्यक्ष ललिता अधिकारीले बताएकी छिन् ।
त्यस्तै चेपाङ्गहरुको कला सँस्कृति र जातिय भेषभुषा लगायतलाई संरक्षण गर्दै संग्राहलय स्थापना गर्न गण्डकीले योजना बनाएको उनको भनाई छ । जलासययुक्त बुढिगण्डकी जलविद्युत आयोजना निर्माण भएपछि गण्डकी गाउँपालिका पर्यटनको ट्रान्जिट प्वाइन्ट हुने भन्दै भ्यू टावरहरुको निर्माण आफ्नो प्राथमिकतामा परेको गाउँपालिकाले जनाएको छ ।

अन्त्यमा,
गोरखाका ११ वटै स्थानीय पर्यटनका हिसाबले अत्यन्त सम्भावना बोकेको ठाउँ हो । केहि प्रचार भएर पनि विकासित बन्न सकेको छैन भने केही प्रचारप्रसारको अभावमा गाउँमै खुम्चिन बाध्य छ । यसले गर्दा स्थानीय तहले धेरै योजना अघि बढाएको देखिन्छ । तर बजेट अभाव सबैको मुख्य चुनौतीको बिषय बनेको छ ।
त्यस्तै कर्मचारी अभाव, भौगोलिक विकटता, आवस्यक स्रोत साधनको अभाव, योजना निर्माणको अभाव इत्यादी मुख्य समस्या देखिएको गोरखाको पर्यटन क्षेत्रको विकासमा प्रदेश र केन्द्र सरकारले समयमै ध्यान दिन सके गोरखाको मात्रै नभई प्रदेश र देशलाई फाइदा पुग्ने देखिन्छ ।
प्रतिकृयाका लागि ः news.mohasingorkha@gmail.com

Share.

Leave A Reply