गोरखामा दशै सडक मेला हुने

0

मोहसिन अलि मियाँ

गोरखा । गोरखामा दशै सडक मेला हुने भएको छ । गोरखा चेम्बर अफ कमर्स गोरखा र नेपाल चेम्बर अफ कमर्स काठमाण्डौको संयुक्त आयोजनामा असोज २० देखि ३० गतेसम्म सदरमुकाममा दशै सस्तो बजार एवम् सडक मेला हुने भएको हो । चाडपर्वका बेला उपभोक्तालाई एउटै स्थलबाट आवस्यक सम्पूर्ण किसिमको सामाग्रीहरु बिक्रि वितरण गर्ने उदेश्यले मेला आयोजना गर्न लागिएको गोरखा चेम्बरले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

गोरखा बजार स्थित खेलकुद मैदान र बजार क्षेत्रमा ११ दिन सम्म चल्ने मेलाले स्थानीय स्तरमा उत्पादन भएका बस्तुहरुको प्रवद्धनमा मद्धत पु¥याउने आयोजकले अपेक्षा लिएको छ । ‘हाम्रा ठाउँमा उत्पादन भएका बस्तुहरुको प्रर्वद्धन गरी चाडवाडका बेला जनतालाई एकै ठाँउबाट सबै सामान सुपथ मुल्यमा दिने हाम्रो उदेश्य हो’ चेम्बर अफ कमर्स गोरखाका अध्यक्ष भाइचन्द्र श्रेष्ठले भने ।

महान पर्व वडादशै र तिहारको अवसर पारेर मौसम अनुकुल उपभोक्ताको सहजतालाई मध्यनजर गर्दै जिल्लामा पहिलो पटक मेला हुन लागेको आयोजकको भनाई छ । दशैका समयमा खरिद बिक्रि अत्याधिक हुने र उपभोक्तालाई सरल मुल्यमा गुणस्तरिय बस्तुको छनौट गरी उपभोग गर्ने अधिकारलाई प्राथामिकता दिई मेला आयोजना गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताएका छन् ।

‘गोरखामा हाट बजार पनि छैन, आफुले भनेको जस्तो सामान किन्न बजारभरी कुद्न पर्ने समस्या छ, पहिलेको अनुभवलाई हेर्दा उपभोक्ताले चाडवाडमा सामान किन्न निक्कै सास्ती भोग्नु परेको हामीले देखेका छौ’ उनले भने ‘अब एउटै ठाँउमा नुनदेखि सुनसम्म छानी छानी सुपथ मुल्यमा किन्न सकिने गरी मेला आयोजना गरेका छौ ।’

हरमटारी स्थित खेलकुद मैदानमा आयोजना गरिने मेलामा एक सय वटा ब्यापारिक स्टल निर्माण गरिने आयोजकको भनाई छ । त्यस्तै बजारक्षेत्रको सडक र पसलहरुलाई सजायर नयाँजारदेखि प्रतिक्षालयसम्म सडक मेला गरिने पत्रकार सम्मेलनमा बताइएको छ । ‘जिल्लामै पहिलो पटक हामी दशैलाई महा दशै बनाउने गरी मेला गर्दैछौ, बजारलाई दशैमय र मेलामय बनाएर थप ५ हजार भन्दा बढि नयाँ ग्राहक बजारमा ल्याउछौ’ गोरखा चेम्बरका महासचिव रामस्वरुप श्रेष्ठले भने ।

मेलामा दशैका लागि आवस्यक खाद्धान्न, लत्ताकपडा, श्रृंगारका सामाग्री, खसीबोका, कुखुरा लगायत कार मोटरसाइकलसम्मका सामान बिक्रिका लागि राखिने आयोजकले जनाएको छ । त्यस्तै मेला अवधीभर खेलकुदमैदानमा २४ सै घण्टा फ्रि वाइफाइ र बालउद्यानका सामग्रीहरुको समेत ब्यवस्था गरिने महासचिव श्रेष्ठको भनाई छ । मेलामा ४२ लाख ८५ हजार रुपैया खर्च हुने आयोजकले अनुमान गरेको छ ।

मेला आयोजना गर्न जिल्ला समन्वय समिती, जिल्ला प्रशासन कार्यालय, गोरखा नगरपालिका, जिल्ला खेलकुद विकास समिती, जिल्ला प्रहरी कार्यालय, रणसिंह दल गण, सशस्त्र प्रहरी बल गुल्म लगायतले सहयोग गरेको महासचिव श्रेष्ठले बताएका छन् । मेलामा गोरखा लगायत तनहुँ, लमजुङ, धादिङ्ग लगायतका जिल्लाबाट समेत अवलोकनकर्ता आउने अनुमान आयोजकले गरेको छ ।

Share.

Leave A Reply