कथा : पवित्रा

0

— विश्वेश्वरप्रसाद कोइराला

तिनको नाउँ थियो– पवित्रा ।

आँखा तानिएका, घाँटी गाँडले विकृत भएको, देब्रे गोडा दाहिनेभन्दा सानो भएकोले हिँड्दा खोच्याएर हिँड्नुपर्ने, ईश्वरको यो राम्रो सृष्टिमा पवित्रा यस्ती एउटी प्राणी थिइन् । तिनलाई बाहुनी भनीकन भात पकाउने ठाउँमा पस्न दिनु हिन्दू धर्मको खिसी गर्नु जस्तो थियो, तर तिनी केशवदेवको भान्छे बाहुनी थिइन् । र, पालैसँग तिनकी सुसारे, भाँडा माझ्ने, कुचो लाउने नोकर्नी र भान्छे बाहुनी हुन्थिन् । केशवदेवले तिनलाई बुँइगलमा एउटा कोठा दिएका थिए । एक–दुई चोटि त्यो कोठामा चियाउने मौका पर्दा एउटा गुन्द्री, त्यसमा बिछ्याउने र ओढ्ने दुवै काम चल्ने एउटा ठूलो पाखी र ननिसास्सिऊन् भन्ने उद्देश्यले भित्तामा प्वाल पारी बनाएको हावा जाने दुलोमा एउटा केशवदेवको थोत्रो काँगियो र एउटा मालीमा तेल भएको तिनले देखेका हुन् ।

तिनी एक्लै थिए र कसरी पवित्रा तिनको गृहस्थीको अङ्ग हुन आइन्– उनीले आफैं बिर्सिसके तर अब तिनको सट्टा अर्की सुग्घर बाहुनी राखूँ भन्ने विचार हुँदा पवित्रामाथि करुणा लाग्थ्यो र केशवदेव तिनलाई निकाल्न सक्तैनथे ।

केशवदेव जागिरे थिए, दिनभरि अड्डामा हुन्थे । बाहुनी तिनको सारा काम गर्थिन् । बिहान झिसमिसेमा उठी सडकको धारोमा नुहाई देशवदेवलाई नुहाउन पानी भरेर कौसीमा राख्थिन् । फेरि पूजाकोठाको सामग्री ठिक्क पार्थिन् अनि कोठामा कुचो लाएर भात पकाउने तरखरमा लाग्थिन् । खाटबाट उभिँदा कोठा मचक्क थर्कन्थ्यो कि केशवदेव उठेको उनलाई थाहा भइहाल्थ्यो । केशवदेव बडो नियमित रूपसँग सधैं एउटै समयमा उठ्थे र पवित्रालाई तिनको उठ्ने समय थाहा थियो । पवित्रा हतपताएर दिसा जाने लोटामा पानी राखिदिन्थिन् र कौसीमा आएर साबुन, माटो, धोती, रुमाल राखिदिन्थिन् । हात धुवाउँदा सोध्थिन्, “राति निद्रा राम्ररी प¥यो, बाबु ? राति किन त्यतिबेर पढिरहेको ? दिनभरि काम ग¥यो र राति पनि धेरै जाग्राम बस्तो भने त आँत टुट्छ ।”

चिन्तित भएर तिनी भन्दै जान्थिन् । केशवदेव उत्तर दिन्थे, “राति गर्मी थियो, निद्रा चाँडै परेन ।”

“गर्मी त के भन्नु, नेपालमा हिजोको जस्तो गर्मी भएको कहिले थाहा थिएन,” पवित्राले भनिन् र करुवाको टुटीबाट पानी खसाल्दै विचार गर्न थालिन्— राति उनको कोठाका झ्यालहरू खुला राख्न बिर्सिन् । गर्मी पनि कति परेको, बिस्तारै–बिस्तारै नेपाल त मधेसैजस्तो हुन थाल्यो । भन्छन्— कलीमा सारा दुनियाँमा गर्मी बढ्छ रे !

भात खाने बेलामा केशवदेवले भने, “दालमा नुन पुगेको छैन ।”

पवित्राले घाँटीबाट ऊँटले कराएको जस्तो ध्वनि निकालिन् र जिब्रो काढिन् । तिनको आँखा सिलौटामा पिँधेको नुनमा प¥यो । कामको अलमलले नुन हाल्न बिर्सिछन् । हतपताएर सिलौटाबाट नुन लयाएर केशवदेवको थालको कुनामा हालिदिइन् ।

“आज बाबुले खानै सक्नुभएन । म पनि कस्ती हुस्सू ! सबै काम यसै गरेर बिगार्छु ।”

जब केशवदेव अड्डा जान भनेर लुगा लाउन थालेका थिए, पवित्राले एक कचौरा ढकी बनाएर ल्याइन् । “बाबुले जिउनार भएन, भोकै कसरी अड्डा जाने भनेर यति पकाएर ल्याएकी,” कचौरालाई लुगा लाइरहेका केशवदेवको गोडानेर राखेर आफू ढोकाको कुनामा उभिएर पवित्राले भनिन् ।

बाबु अड्डा जानेबित्तिकै तिनी तलको ढोका लाएर कौसीमा भाँडा माझ्न थाल्छिन् । रछानका भातका सिता टिप्न भनेर कौवाहरू झुम्मिन्थे । कौवा जब तिनको हातैबाट सिता टिपूँला जस्तो गर्थे, तब मात्र तिनी कौवाहरू धपाउन तत्पर हुन्थिन् । जतिचोटि धपायो, उतिचोटि त कौवाहरू टाढा–टाढा जान्थे, तर फेरि पछि नजिकै आई सिता टिप्न थाले । अनि पवित्राको क्रोधको सीमा रहँदैनथ्यो । धपाउन छोडेर गाली गर्न थाल्थिन्, “मोरा, कीरा परेका !”

छिमेकको घरको कौसीमा एउटी नेवारकी स्वास्नी पनि भाँडा माझिरहेकी हुन्थी । त्यो भन्न थाल्थी, “हेर, कस्तो नकच्चरो कौवा रहेछ । एक्लै भएकी पवित्रा बज्यैलाई दुःख दिँदो रहेछ ! बाजे पनि हुनुहुन्न ।”

पवित्रा त्यो सहानुभूतिको शब्द सुनेर भन्न थाल्थिन्, “बाबु त अड्डा जानुभएको छ । दिनभरि अड्डामा काम गर्दा–गर्दा थाकेर पाल्नुहुन्छ, राति गर्मीले निद्रा पर्दैन । अड्डाको सारा काम वहाँले नै गर्नुपर्छ, अरू सबै कारिन्दा बकमफुसे छन् । वहाँ नभए त कामै थामिन्छ । नेपाल राज्यभरिको सबभन्दा गाह्रो काम गर्नुपर्छ । भन्सार अड्डाले नेपालबाट जाने, नेपालभित्र पस्ने मालको हिसाब राख्नुपर्छ, कहीँ बिराउनुभयो भने मेरो टाउकोमा …। आहारा फेरि कति थोरै छ नि ! अलिकति केही चुक भयो भने भातै रुच्तैन । हाम्रो बाबुले धेरै पढ्नुभएको छ, सब पास सिध्याउनुभएको छ, अंग्रेजी पढ्न साह्रै गाहारो हुन्छ, भित्र शरीर तोडिदिन्छ ।”

बेलुकाको भात पकाउन चाहिने पानी लिन धारामा जाँदा छिमेकका अरू नोकर्नी–चाकर्नीहरू पानी भरिरहेका थिए । पवित्राले पर्खनुप¥यो । नजिकैको ठूलो ढुङ्गोमाथि बसेर भन्न थालिन्, “अचेल नेपालमा मधेसकै जस्तो गर्मी पर्न थालिरहेछ । रातभरि उकुसमुकुस हुन्छ ।”

पानीको गाग्री कम्मरमा राखेर सिँढी उक्लनै आँटेकी थिइन्, दुई–तीन वटा मानिसले ‘केशवजी हुनुहुन्छ ?’ भनेर सोधे । यिनीहरू एउटै अड्डामा काम गर्ने मानिसजस्ता थिए । पवित्राले झोकले हेरेर उत्तर दिइन्, “हुनुहुन्न, हुनुहुन्न ।” र, भुत्भुताउँदै माथि उक्लिइन्, “यी कहाँका नाठाहरू आएर बाबुको समय नष्ट गर्छन् ।”

केशवदेव माथि नै थिए, अड्डाबाट आएर तमाखु खाइरहेका थिए । पवित्रालाई कोही आएको मन पर्दैनथ्यो । गाग्रीलाई भान्सामा राखेर केशवदेव भएनेर गएर भनिन्, “अहिली दुई–तीन मानिस आएका थिए । मैले हुनुहुन्न भनेर पठाइदिएँ । एकछिन पनि बाबुलाई फुर्सत दिँदैनन् ।”

केशवदेव एकछिन नबोली बसे । फेरि बिस्तारै भने, “आएका मानिसलाई त्यसरी फर्काउनु हुन्न । यो बानी बडो नजाती हो ।”

पवित्रा आफूलाई धिक्कार्दै फर्किइन् । घरमा आएका अतिथिलाई फर्काउनु हुँदैन । यो त साह्रै नराम्रो बानी– अलच्छिन लाग्छ ! भोलिदेखि कसैले तल ढोका ढ्याक–ढ्याक ग¥यो भने निर्दा गोडाले सकेसम्म दगुरेर स्वाँ..स्वाँ..फ्वाँ..फ्वाँ.. गर्दै ओर्लेर भन्थिन्, “बाबु त अहिले घरमा हुनुहुन्न । माथि पाल्नुहोस् न, एकछिन बस्नुहोस् । अब बाबुको अड्डाबाट आउने बेला भो ।”

जब तिनले सुनिन्, बाबुले एउटी केटीको तस्बीर हेरेर उनीसँग बिहा गर्ने निश्चय गरे, उनलाई भयानक दुःख भयो । दिनभरि कसैसँग नबोली आफ्नो काम गरिरहिन् । राति सारा शरीरमा दर्द भयो, ज्वरांश पनि थियो । तर, भोलि बिहान सधैंको जस्तो झिसमिसेमा उठेर धारोमा पानी भर्न पुगिन् । भन्न थालिन्, “अब हाम्रो बाबुको चाँडै बिहा हुन्छ । धेरै तस्बीरमा छानिएकी केटी छन् । ठीक गुलाफजस्तो अनुहार छ ।”

भाँडा मस्काइरहेको बेलामा छिमेकको कौसीमा भाँडा माझ्न लागेकी नेवार्नीलाई सम्बोधन गरेर पवित्राले भनिन्, “सुन्यौ, हाम्रो बाबुको बिहा हुन्छ । केटी आँखामा राखूँ जस्ती छन् ।”

नेवार्नीले जिस्क्याएर भनिन्, “ए, अब तिम्रो सौता आउने भइन् ?”

पवित्राको कण्ठबाट अत्याहटको एउटा ध्वनि मात्र निस्क्यो । फेरि ह्या…ह्या… गरेर हाँसेर भनिन्, “धत् !” र, अबेरसम्म अनौठो ढङ्गसँग हाँसीमात्र रहिन्– ह्या… ह्या… ।

मालिक जब घरमा आए, पवित्राले बिस्तारै भनिन्, “यतिका वर्ष भो मैले तलब पाएकी छैन ।”

केशवदेवले भने, “तिम्रो सारा तलब मैले ब्यांकमा राखिदिएको छु । तिमीलाई चाहियो र अहिले ? किन ?”

पवित्राले अर्कैतिर मुख फर्काएर उत्तर दिइन्, “हामी खर्च गर्छौं ।” हामीको, ‘हा’ सोझै कण्ठबाट आएको थियो । मुख अर्कोतिर फर्काएकी हुनाले केशवदेव केवल गलगण्ड मात्र देख्न पाउँथे ।

भोलिपल्ट पोल्टोमा आफ्नो जीवनको सारा कमाइ लिएर पहिले बाँडाकहाँ गइन्, “दाइ, मलाई सुनका चारवटा चुरा बनाइदेऊ । अचेलका मानिसले लाउने जस्तो हुनुपर्छ । खुब राम्रो बनाउनू है ।”

यति भनेर पोल्टोबाट रुपियाँ खन्याइन् । बाँकी रहेको रुपियाँ लिएर लुगाको पसलमा पुगिन्, “मलाई एउटा राम्रो फरिया देऊ । सिलिककोस र एउटा राम्रो चोलो— ढाकाको । तिम्रो पसलको सबभन्दा राम्रो लुगा दिनू ।” पोल्टोमा बाँकी रहेको सारा रुपियाँ पसलेको अगाडि खन्याइदिइन् ।

बिहाको दिन तिनको फुर्ती हेर्नलायकको थियो । यताउति गरिरहन्थिन् । एकछिन स्थिर बस्न सक्तिनथिन् । कोठालाई लिपिन्, पोतिन्, राति छिमेकका नोकर्नीहरूलाई बोलाइन्, भोज खुवाइन् र रत्यौली खेल्न थालिन् । एउटी मयलपोस– सुरुवाल लाएर दुलहा बनी, जुँघा नभएको ओठ मुसार्दै भन्न थाली, “म दुलहा हुँ, मसँग को बिहा गर्छ ?”

त्यहाँ बसेका नोकर्नीहरूलाई यो बडो हँस्यौलो थियो । सबै हाँसे, पवित्राको ह्या…ह्या… पछिसम्म सुनिन्थ्यो । पवित्रा जुरुक्क उठेर आफ्नो कोठाभित्र पसिन् र ढाकाको चोलो र रेशमी फरिया लाएर आइन् र भनिन्, “म तिमीसँग बिहा गर्छु ।”

फेरि सबै कोलाहल मच्चाउँदै हाँस्न थाले । दुलहा हुने मायाको भाव देखाउँदै दुलही भएकी पवित्रालाई आलिङ्गन गर्न अगाडि बढी । पवित्रा लाज मान्ने भाव देखाउँदा देखाउँदै दुलहा बन्नेको गोडामा परेर रुन पो थालिन् । सबै जना छक्क परे । पवित्रा हुँक्क–हुँक्क गरेर खुब रोइन् । एकछिनपछि बिस्तार–बिस्तार उठेर आफ्नो कोठाभित्र पसिन् र भित्रबाट ढोका लाइन् ।

भोलिपल्ट दुलही ल्याउने दिन पवित्रा सधैंकी जस्ती प्रशन्न थिइन् । आफ्नो सबभन्दा राम्रो लुगा लाएर, कपाल कोरेर ढोकामा दुइटा गाग्रोमा पानी राखेर दुलाहा र दुलहीलाई स्वागत गर्न ढोकामा आइन् र उभिइन् । केशव पहिले तामदानबाट ओर्लेपछि उनकी पत्नी ओर्लिन् । दुलहा अघि–अघि, दुलही पछि–पछि आफ्नो घरभित्र पसे । पवित्रा ढोकाको एउटा कुनामा उभिएर ह्याँ…ह्याँ… हाँसिरहिन् ।

कोठामा केशवदेव उभिरहेका थिए, उनैनेर लाजले एउटा पोको जस्तो भएर बिहाको लुगा लाएकी तिनकी पत्नी थिइन् । पवित्राले बिस्तारै कोठाभित्र पसेर केशवदेवलाई सम्बोधन गरेर भनिन्, “यो वहाँलाई मैले टक्र्याएकी ।”

यति भनेर पवित्रा खोच्च्याउँदै कोठाबाट निस्किन् । दुलहीले निहुरेर पवित्राले छोडेर गएको चुरालाई हेरिरहिन् । केशवदेव चुरालाई उठाएर औंलामा नचाउन थाले र घोरिए ।

बिहाको रमझम सिद्धिएपछि पत्नीले गृहस्थीमा आफ्नो स्थान लिइन् । भान्सामा तिनी आफैं बस्न थालिन्, पवित्राले बाहुनीको काम गर्न परेन, कोठामा कुचो लाउनु, पानी भर्नु र भाँडा माझ्ने काम मात्र बाँकी रह्यो । तर, उनी भान्सामा आएर दुलहीले पकाएको हेर्थिन् र भन्थिन्, “बाबुलाई त्यसरी पकाएको मन पर्दैन, मसला तेल धेरै हाल्नु हुँदैन । रामतोरियामा पानी हालेको वहाँलाई घिन लाग्छ । त्यसलाई भुट्नु पो त पर्छ । तिहुनमा नुन धेरै नहाल्नुहोस् बरू बिलिनै असल मान्नुहुन्छ… । दूध एक झल्को मात्र उम्लेको– चिनी थोरै परेको … ।”

नयाँ दुलहीले काम बिगार्दा फरियाको फुर्को मुखमा बुजो हालेर उता फर्केर हाँस्थिन् ।

दिउँसो भाँडा माझ्दा छिमेककी नेवार्नीलाई भन्थिन्, “म बूढी हुन थालिछु । चाँडै थाक्छु, पानी ओसार्दा स्वाँ…स्वाँ… हुन्छ । राति जिउ कटकटी खान्छ । अब कक्रक्क परेर गुँडुलिएर बस्नुपर्ने भएछ ।”

स्केच साभारः sadrishya.com

Baarhakhari.com

Share.

Leave A Reply