चौतारामा बैठक बस्नुपर्ने बाध्यता हट्यो

0

मोहसिन अलि मियाँ
गोरखा, २१ साउन
गोरखा नगरपालिका वडा नम्बर १४ सलाङ्गगिरीका महिलाहरुको खुल्ला चौर र चौतारामा बैठक बस्नुपर्ने बाध्यता अब भने हटेको छ । गोरखा नगरपालिकाको आर्थिक बर्ष २०७४÷७५ मा बिनियोजित बजेटबाट सलाङ्गगिरीमा महिला सामुदायिक भवन निर्माण भएपछि उनिहरुको समस्या हटेको हो । ‘अहिलेसम्म त चौतारा मै बैठक बस्ने गरेका थियौ, अरु ठाँउ पनि थिएन, बैठक बस्न कहिले चौर खोज्दनु पर्ने त कहिले चौतारा’ भवन निर्माण समितीकी अध्यक्ष ज्ञानुमाया सोडारीले भनिन् ‘जसोतसो दुख गरेर भवन बनाएका छौ, अब घामपानी जे भएपनि समयमै बैठक बस्न पाइने भयो ।’

नगरपालिकाको कार्यालयबाट बिनियोजन भएको १ लाख ५० हजार रकम र स्थानीयको श्रमदानबाट भवन निर्माण सम्पन्न भएको हो । ‘मैले चुनावमा गाँउका दिदीबहिनीसंग बाचा गरेको थिए, चुनाव पनि जिते, अनि त्यै बर्ष नै मैले वडा मार्फत यहाँ बजेट छुट्याउन लगाएको हुँ’ वडा नम्बर १४ का सदस्य नर बहादुर लामिछाने मगरले भन्छन् ‘उहाँहरुसंग गरेको बाचा पुरा भएको छ, उहाँहरुलाई मात्रै हैन अब भवनले सबैलाई सजिलो बनाउछ ।’


भवन मात्रै हैन सलाङ्गगिरीमा शिवालय मन्दिर पनि निर्माण भएको छ । महिला भवन कै प्रांगढमा निर्माण भएको मन्दिर समेत गोरखा नगरपालिका कै सहयोगमा निर्माण भएको अधयक्ष सोडारीको भनाई छ । नगरपालिकाको ७५ हजार र स्थानीयको सहयोग एवम श्रमदानबाट गाँउमा पहिलो पटक मन्दिर बनेको उनको भनाई छ । ‘हाम्रो गाँउमा अहिलेसम्म पनि मन्दिर थिएन, मन्दिरमा पुजा गर्न पनि टाढा जानुपर्ने बाध्यता थियो, अब त्यो पनि हट्यो’ उनले भनिन् ।


निर्माण सम्पन्न भएको सामुदायिक भवन र मन्दिरको सोमबार एक कार्यक्रमका बिच संयुक्त रुपमा नगरप्रमुख राजनराज पन्तले उद्घाटन गरेका छन् । कार्यक्रममा नगर उपप्रमुख बिना कुमारी श्रेष्ठ, वडा अध्यक्ष राम बहादुर खड्का, वडासदस्यहरु नरबहादुर लामिछाने मगर, केशव बहादुर देवकोटा, नेपाली काँग्रेसका भानु थापा, स्थानीय महिला समुहकी रोशनी राना लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा भवन तथा मन्दिर निर्माणमा सहयोग गर्ने दाताहरुलाई सम्मान समेत गरिएको थियो ।

Share.

Leave A Reply