पुल बनेपछि बाह्रै महिना यातायात चल्ने

गोरखा नगरपालिकाको छेवेटार र खोप्लाङ गाविस जोड्ने पक्की पुल

गोरखा नगरपालिकाको छेवेटार र खोप्लाङ गाविस जोड्ने पक्की पुल

२०६८ पुस २३ गते, शनिवार १५:१०:२८ बजे

नरहरी सपाकोटा , हाम्रो गोरखा संवाददाता

गोरखा नगरपालिको छेवेटार बजार र खोप्लाङ्ग गाँउ विकास समिति जोड्ने दरौँदी नदि माथि पक्की पुल बनेपछि मध्य र उत्तरी गोरखाका विभिन्न गाविसमा वर्षैभरि गाडी चल्ने भएको छ । ९५ मिटर लम्बाई र ४.२५ मिटर चौडाईको पुलको चार वर्ष पछि निर्माण कार्य सकिए सँगै औपचारिक उद्घाटन पनि भैसकेको छ ।

२२ गते शुक्रबार प्रधानमन्त्री डा. बावुराम भट्टराईले मुस्ताङ्ग गाडीमा चढेर पुलको उद्घाटन गरेका थिए । सार्वजनिक सवारी साधन भने केही दिनपछि सञ्चालन गर्न दिइने ११ किलो छेवेटार–भालुस्ँवारा बारपाक सडक आयोजनाले जनाएको छ । अहिले दरौंदी नदिबाटै सवारी साधन वारपार गर्दै आएका छन् । जसले गर्दा नदिमा पानीको प्रवाह बढी हुने समयमा सवारी साधन सञ्चालन हुन सक्दैनथ्यो ।
      केही वर्ष अघि नदि पारीको सडक खण्डमा ग्राभेल गरिएपछि भने ब्यवसायीहरुले वर्षायाममा पनि नदि पारि यातायात सुविधा उपलब्ध गराउँदै आएका थिए । “अब वर्षायाममा पनि सो क्षेत्रमा सदरमुकामबाट सिधा वससेवा सञ्चालन हुन्छ” यातायात ब्यवसायी समिति गोरखाका कोषाध्यक्ष नारायण खत्रीले राजधानीसँग भने ।
      पुल निर्माण भएपछि गोरखा निर्वाचन क्षेत्र नं २ र ३ का अधिकाशं गाविसमा पुग्न सहज हुने भएको छ ।  ४ करोड ५० लाख लागतमा पुल बनेको हो । बिच भागमा गडर राखेर गएको मंसिर २६ गते पुलको ढलान भएको थियो । ढलान भएको २८ देखि ४० दिनमा गाडी गुडाउन सकिने सडक आयोजना कार्यालयका प्रमुख गणेश कडेँलले बताए । २२ गते पुलको उद्घाटन गरिएपनि माघको पहिलो साताबाट मात्र नियमित यातायातका साधन पुलमा गुड्न सक्ने निर्माण कम्पनी सैलुङ्ग कन्स्ट्रक्सनले जनाएको  छ । नवनिर्मित पूलको उदघाटन सँगै निर्माण कम्पनीले आयोजना कार्यालयलाई पुल हस्तान्तरण गरेको छ । 
   यस अघि नै पुल निर्माण भई सक्नु पर्ने भएपनि निर्माण कम्पनीले समयमा नै काम नगर्दा ढिला भएको हो । पुल निर्माण भएपछि गोरखाका मध्य तथा उत्तरी क्षेत्रका खोप्लाङ, मिरकोट, गाईखुर, पालुङटार, हर्मी, आँपपिपल,  थालाजुङ, छोप्राक, श्रीनाथकोट, जौवारी, मुच्चोक, हंसपुर, गाँखु, केराबारी, घ्याच्चोक, सिम्जुङ्ग, बारपाक, लाप्राक, ताकुमाझलाकुरीबोट, ताकुकोट, मसेल, सौरपानी, स्वाँरा, बारपाक, खरिबोट, लाप्राक लगायतका गाविसका स्थानियहरुलाई आवात जावतमा सजिलो हुनेछ ।
  त्यसक्षेत्रमा हिउँदको समय दरौँदी नदि तरेर सवारी साधन जाने गरेपनि वर्षाको समयमा यात्रुहरुले निकै सास्ती खेप्नु परेको थियो । पुल उद्घाटनको लागि तयारी सुरु गरिएको बताए । उनले भने ‘उद्घाटनको केहि दिन पछि पुलमा नियमित यातायात गुड्न सुरु गरिन्छ ।’

यसमा तपाईको प्रतिक्रिया

थप स्थानिय समाचार