माग्न जन्मेको नेपाली म

२०७१ पुस २० गते, आईतवार ०७:४८:४८ बजे
प्रणिका कोयु
माग्न जन्मेको नेपाली म
जतिपनि मागिरहन्छु
खाली आश मात्र गरिरहन्छु
कहिले छिमेकीले फाल्छन् कि भनी
कहिले छिमेकीको छिमेकीले टिठ्ठाउँछन् कि भनी
ङिच्च दाँत देखाउँदै
सोचलाई दानमा आएको रेशमी रिबनले बाँध्दै
यो बाटोदेखी त्यो कुइनेटोसम्म
त्यो कुइनेटोदेखी माथि आकाशसम्म
माथि आकाशदेखी अनन्तसम्म
जदौ गर्दै, हात पसारी टोकरी थाप्न म पछि पर्दिन
कसैले नदिए
सोचे जति नआए
धारे हात मात्र हैन
सत्तो सराप गर्दै हावामा थुक्छु
हो, हो थाहा छ, त्यो थुकको छिटा मैतिर फर्कनेछन्
तर त्यसो नगरी त मैले खाँट्टी मागेको हो - कसरी बुझ्लान् ए,
माग्नेको धर्म त निभाउनै पर्यो
आखिर माग्न जन्मेको नेपाली म!

साभार सेतोपाटी
यसमा तपाईको प्रतिक्रिया