कथा : चिमचिमे घडी

२०७१ मंसिर ९ गते, मंगलवार ०९:०७:५१ बजे
वसन्तविवश आचार्य
प्रशान्ते नेवारका बा (ड्याड) ले कोरियाबाट चिमचिमे घडी ल्याइदिएपछि टोलभरिको हिरो ‘ऊ’ नै भएको थियो। सर्टका बाहुला माथिसम्म सारेर प्रशान्तेले हातमा चिमचिमे घडी टिलिक्क टल्काउँदा सबैको मुखभरि पानीको ताल पथ्र्याे। अरुले के के सोच्थे कुन्नी? मैले भने त्यति राम्रो घडी ल्याइदिने प्रशान्तेका बा, किन मेरा बा भएनन् होला ? भनेर पछुतो मानिरहन्थेँ।
 
‘ड्याडीले दशवटा घडी ल्याउनुभएको छ’ प्रशान्तेले हामीलाई झनै लोभ्याउँथ्यो। संसारमा खुसीको अन्तिम विन्दु नै त्यै होलाजस्तो लाग्थ्यो मलाई। 
 
कहिलेकाहीँ मेरो टिठलाग्दो अनुहार देखेर त्यो घडी दिइहाल्छन् कि भनेर प्रशान्तेका बाका अगाडि मलिन अनुसार पनि बनाएर देखिइरहन्थेँ म। बुढाले यसो मायालु पाराले हेरेका बेला घडी दिन आँटेकी जस्तो लाग्थ्यो। तर त्यो दिन कहिल्यै आएन।
 
चिमचिमे घडीको रहरले मन भित्रत्रै पाकेको बेला ‘काले’ अर्थात विनोदेले जुक्ति ल्यायो।
 
‘हेर् बड्डा तेरा बाजस्तै मेरा बाले पनि मलाई घडी किन्दिन्नन् तर मसँग एउटा जुक्ति छ, मान्छस् ?’
 
   यस्ता उटपट्याङ जुक्तिको त ऊ खानी नै थियो। धेरै पटक मलाई नचाहिँदा काम गर्न लगाएर मार खुवाइसकेको थियो। तर पनि घडीको ‘ग्ल्यामरस’ले धमिला कुराहरू बढारिदियो। मैले टाउको दायाँबाँया पारे।  
 
काले ! गुच्चाका लागि टोल भरिकै ‘वेष्ट प्लेयर’। गुच्चा खेलेर धेरै जित्ने भएकाले कालेको हाफ पाइन्टको दुइटै गोजी पूरै प्वाल परेको हुन्थ्यो अनि आधा पुठ्ठा देखिनेगरि लत्रिएको हुन्थ्यो। कालेका बा उसलाई गालि गर्थे। तर पनि कालेले गुच्चाले हाफ पाइन्टको गोजी च्यात्न छाडेन। जति भने नि नमानेपछि कालेका बाले उसलाई गोजा नभएको कट्टु किनिदिए। ‘तुँ शेर तो मै सवा शेर’ कालेले बुढाको मेख मार्न उल्टै मज्जाले व्लेड लगाएर कट्टु दुई दिनमै टुक्रायो। 
 
कालेका बाबु इण्डियन र आमा नेपाली थिइन्। बाले दिनभरि बरफ बेच्थे। आमा भने कुरा बेच्थिन। मलाई कहिलेकाहीँ सित्तैमा बरफ दिने भएकाले मलाई कालेका बा साह्रै गुणी लाग्थे। काले सधैँ आफ्नो बालाई ‘देशी’ भनेर हेप्थ्यो। घरमा कालेकी आमाकै हैकम थियो। कालेकी आमा कहिलेकाहीँ तिनपाने खाएर ‘खिया’ लागेको खुकुरी नचाउँथिन्। कालेका बा त्यस्तो बेलामा हाम्रो कोठाको खाटमुनि लुक्न आउँथे। मैले बरफको गुण फिर्ता गर्थे।
काले आफूलाई सुनिल सेठ्ठी नै ठान्थ्यो। दुवैको मिल्ने विशेषता भनेको ‘कालो’ अनु्हार मात्रै थियो।
 
टोलभरि माइला नेवारको घरमा मात्र टिभी थियो। हामीलाई टिभी कोठाभित्र छिर्न अनुमति थिएन। हाम्रा लुगा र शरिरभन्दा राम्रो माइला नेवारको टिभी कोठाको भुइँ थियो। हामी जालीले छोपेको त्यो झ्यालबाट टिभी हेथ्र्याैँ। टिभी सादा थियो तर, त्यसमा इन्द्रेणी रङको प्लाष्टिक बाहिरबाट लगाइएको थियो। हाम्लाई त्यो रंङ्गीन लाग्थ्यो। 
 
‘हम पाँच’, भन्ने हिन्दी हाँस्य सिरियल त्यो बेलामा साह्रै चर्चित थियो। जी टिभीबाट आउने त्यो सिरियलमा भित्तामा टाँसिएको फोटोबाट एक महिला बोल्थिन् मलाई त्यो निकै रमाइलो लाग्थ्यो। काले पनि ध्यान दिएर हेर्थ्यो त्यो सिरियल। एकपटक जी टिभीमा नै बलबान भन्ने फिलिम हामीले हेरेका थियौँ। नबुझे पनि फिलिमको हिरोले बेस्मारी कुटेको दृश्य हेरेपछि कालेले प्रशान्तेलाई हिरोको नाम सोध्यो। सुनिल सेठ्ठी रहेछ त्यो फाइटरको नाम। कालेले आफ्नो नाम आफै न्वारन गर्यो ‘सुनिल सेठ्ठी’। त्यसपछि कसैले उसलाई सुनिल सेठ्ठी नभनेर काले भन्यो भने सिधै लात खान्थ्यो। कालेले त्यसपछि कोठाभरि सुनिल सेठ्ठीको पोष्टर टाँस्ने मात्र होइन, स्कूलको कापीको ‘कभरमा’ समेत ‘सुनिल सेठ्ठी (विनोद)’ भनेर लेख्यो। 
 
हामी तुलसीपुरको सेन्टर स्कुलमा कक्षा ४ मा पढ्थ्यौँ। चार कक्षाबाट मात्र अंग्रेजी पढाई हुन्थ्यो। संसारको सवैभन्दा गाह्रो काम अंग्रेजी पढ्ने नै होला जस्तो लाग्थ्यो। अंग्रेजीको गृहकार्य कसैले पनि मिलाउँदैनथ्यो। 
 
कालेले अंग्रेजी गृहकार्यको कापीमा पनि ‘सुनिल सेठ्ठी’ लेखेको रहेछ। एकातिर सवै होमवर्क बिगारेको अर्कातिर ‘हिरोको’ नाम लेखेको, हेडसरले तिन पुस्ता पुग्ने गरी मर्मत गर्नुभयो। खुट्टामा यसरी पिट्नु भएको थियो कि पिसाब फेर्दा उसलाई खुट्टो उचाल्नु पथ्र्यो। आकाश नहेरेर दिसा र पिसाव नआउने काले कसैले थाहा नपाउन भनेर ट्वाइलेट जान थाल्यो। अनि कहिल्यै सुनिल सेठ्ठीको नाम पनि लिएन। 
 
एकपटक पैसा चोरेर कालेले मलाई  फिलिम हेर्न जाने प्रस्ताव राख्यो। मैले नमान्ने कुरै भएन। स्कुल छाडेर हामी ऊँ शान्ति सिनेमा हलमा फिलिम हेर्न गयौ। फिलिम हल भनेपछि मन ‘गार्डेन गार्डेन’ हुन्थ्यो। हामीलाई हलको पर्दामा दृश्य देख्न पाए सवै पुग्थ्यो, कुन फिलिम लागेको छ ? कस्तो छ ? भन्ने कुराको खासै चासो लाग्दैनथ्यो। विडम्वना त्यो हलमा चलेको फिलिम पनि सुनिल सेठ्ठीको ‘रक्षक’ भन्ने  रहेछ। काले हलको पर्दामा सुनिल सेठ्ठी देखिने वित्तिकै हलवाट फुत्त वाहिर आयो मैले भने पूरै हेरेँ। 
 
आफूले फिलिम हेर्न नपाएको झोंकमा घरमा आएर कालेले आमालाई कुरा लगाइदिएछ। मेरो राम धुलाई गर्नुभयो आमाले। साला ! संगत गर्न लायक मान्छे नै थिएन तर, छाड्न पनि मन नलाग्ने। कहिलेकाहीँ मन बेस्सरी दुखाए पनि काले मसँग निकै मिल्थ्यो। घडी लगाउने कुरामा पनि हाम्रो कुरा ठ्याक्कै मेल खाएको थियो। 
 
‘हेर् प्रशान्तेका बासँग दराजमा धेरै घडी छन् रे! त्यसलाई चोर्न लगाम्। काले चोर्ने, झगडा गर्ने, पिट्ने जस्ता अकरण ‘ब्यहोरा’को वादशाह  थियो। म भने यस्ता कुराबाट सधैँ टाढा रहने प्रयास गर्थेँ। तर पनि लोभ देखाएर उसले मलाई जस्तो काम भएपनि गराई छाड्थ्यो।
 
कालेले भनेअनुसार दुवैले प्रशान्तेलाई निकै फकायौँ। रहरले मान्छेलाई जे पनि बनाउँदो रहेछ। काले त्योभन्दा अगाडी कसैका सामु त्यसरी झुकेको मैले देखेको थिइनँ।  कालेले महिना दिनभरि बाको बरफको डिब्बाबाट बरफ चोरेर खान दिने सहमति गरेपछि प्रशान्ते घडी चोर्न तयार भयो। हामी घडीको आशामा पखेटा भिरेर मन उडाउन थाल्यौँ। अपरिपक्व चोर प्रशान्ते पक्राउ परिहालेछ। त्यसका बाले हामीलाई बोलाएर तोरीको फूल देखिनेगरि गालामा चड्काए।
 
केही बोल्न सकेनाैँ। रहर न हो, चोटले कहाँ हराउँथ्यो र। ‘जहर’ले त एकैपटकमा मार्छ, रहरले पटकपटक मार्दोरहेछ। त्यस्तै रहर झनै शिलालेखमा कुदिएका अक्षरजस्तै नमेटिने भएर गयो। झनै घडी लगाउन मन लाग्यो।
 
क्रमशः निरज, विनोद, पर्शुराम सवैले बा आमाका अगाडि रोइकराई हातमा घडी टिलिक्क टल्काए। बाँकी म र काले रह्याँै। मेरो रहर बिस्तारै पाइन्टमा टाँसिएको चुइँगम जस्तो बन्दै जान थाल्यो। 
 
केटाहरुलाई न समयको खाँचो हुन्थ्यो नत कुनै व्यस्तता तर पनि मिनेट न नघाएर घडी हेर्ने उनीहरुको बानी परेको थियो। म घुटुक्क थुक निल्थे, काले पनि। केटाहरु छिनभरलाई लगाउन घडी दिन्थे। ‘ओ हो मेरो हातलाई कति सुहाएको’ मख्ख पर्थे। केही सेकेन्ड, अनि तड्पिरहन्थे केयौँ घण्टा। 
 
घरको अवस्था घडी किन्नसक्ने थिएन। तर, रहरहरूले अवस्था हेर्दा रहेनछन्। फुत्त आइपुग्थे कता हो कताबाट, सम्हाल्नै नसक्नेगरि। घरमा भन्ने साहस थिएन। म सानैदेखि घरको कुरा बुझ्थेँ। धेरै पटक आमाले कसौँडी प्वाल पर्ने गरी पन्यूले चलाउँदै भाडाे नितारेको मैले देखेको थिए। 
 
यस्ता धेरै पीडाले च्वास्स मुटु घोंचिरहन्थ्यो। म आँखाको वलेनी रोक्नै सक्तैनथँे। आमा नाटक रच्नुहुन्थ्यो ‘भाडो माझ्न साह्रै धौ हुन्छ पूरै कोतर्नुपरो।’
 
मलाई बिस्तारै खेल्न जान पनि मन मरेर आउन थाल्यो। घडी टल्काउनेहरूको समूहमा रित्तो हात काले र म मात्र थियौँ। घडीको प्यासले मन आकुल व्याकुल बनाउँथ्यौँ। आफैँ एक्लै हराउँथे। कहिलेकाहीँ प्यासले मन थाम्न गाह्रो गाह्रो पथ्र्याे। अनि डटपेनले मज्जाको घडी बनाउथँ। आफै मख्ख पर्थेँ। तर त्यो खुसी वालुवाको घरजस्तै हुन्थ्यो। किनकी घडीका सुँइहरू टसमस गर्दैनथे।
 
घर बालाई चिमचिमे घडी किन्दिनुस् भन्ने साहस गर्नै सकिनँ। कतिपटक रहरले धकेल्दै वा सम्म पु¥याउँथ्यो। बाको डर होइन, उहाँको मलिन अनुहारले मलाई भित्रैबाटै मेरा मनका कुराहरू लुकाउन बाध्य बनाउँथ्यो। 
तुलसीपुरको वीरेन्द्र्र चोकमा बाटोभरि काउन्टर राखेर घडी बनाउने ससना पसल थिए। म दिनको एकपटक ति घडी पसलका घडीहरू हेर्दै मन शान्त बनाउथेँ। घर आइनपुग्दै घडी रहर मनमा छिरिसकेको हुन्थ्यो।
 
स्कूलमा पनि प्रायः केटाहरू हातमा घडी टल्काउदँै आउथे। सबैसँग चिमचिमे घडी हुन्थ्यो। जसको घडी राम्रो हुन्थ्यो त्यसलाई सवैले घेरा हाल्थे। बिष्णे थियो एक जो हातको घडी टल्काउँदै रवाफ देखाउँथ्यो ‘यस्तो पाजी घडी के लगाउने ? केटा हो मेरो नयाँ घडी आउँदैछ।’ मेरो रिसको पारा तातेर आउँथ्यो। सालेका दाँत उछिट्याइदिउँ कि जस्तो लाग्थ्यो, तर सम्हालिन्थे। मैले गरिवीबाट सिकेको ठूलो आदर्श थियो यो। 
 
८ वर्षको वालापन न हो, त्यतिवेला छेपारो मारेपछि पैसा भेटाइन्छ भन्ने ‘मिथक’ बनेको थियो। कतिपटक घडी बनाउन रहरले पैसा भेटाइन्छ कि भनेर छेपारो समेत मारेर बजार बजार डुलियो। माखो भेटिए पो।
एकदिन मध्यान्तरको समय। म चौरमा एक्लै बसेर घाम तापिरहेको थिएँ। विद्यालयमा नास्ता या पैसा खासै लैजाने बानी थिएन। विहान भात खायो अनि साँझ बचेको वासी भात। नास्ताको खासै आवश्यकता पनि पर्दैनथ्यो। आनिवानी काँचको माटो न हो जस्तो बनायो उस्तै बन्ने। 
 
कालेले साइन पेनका केही डब्बा लिएर आयो। अनि रङ रङका साइन पेनले हात भरि ठूलो घडी बनाइदियो। म सर्टका बाहुला माथिसम्मै सारेर कक्षामा गए। सवै अवाक् भए मलाई देखेर। एकैछिनमा राजेन्द्रेले खिसी गर्न थाल्यो। 
कालेले न्वारन देखिको बल लगाएर उसको मुखमा बजाइदियो। मुखबाट रगत बगाउँदै राजेन्द्रे भुइँमा पछारिदियो। खिसी गर्नेहरू साइड लागे। कालेले रगताम्य पारेपछि हामीलाई जिस्काउने क्रम बन्द भयो। हामी दिनदिनै रङ्ग बदलेर फरक फरक घडी बनाएर विद्यालय जान थाल्यो। कता कता उमेरमा घडी रहर मेटिएको आभाष भयो 
 
बासँगै इण्डिया गएको काले कहाँ छ थाहा छैन। कालेले सुनिल सेठ्ठीका सिनेमा अचेल हेर्छ होला ? अनि म जस्तै जीवनभर घडी नलगाउने प्रण पनि गरेकै होला त?


साभार सेतोपाटी
यसमा तपाईको प्रतिक्रिया