उपन्यास- युवराजकी प्रेमिका ताक्ने एडीसी

२०७१ मंसिर १३ गते, शनिवार १७:०८:१३ बजे

krishna abiralकृष्ण अविरल

बूढानीलकण्ठनजिकै भर्खरै खुलेको पार्कभिलेज होटेलको विशेष क्याबिनमा एउटी युवतीसँग शारीरिक प्रेमालाप गरेर निस्केपछि युवराज निकै फ्रेस देखिन्थे, एकछिन अघिसम्मको मानसिक तनाव निकै टाढा पुगेजस्तो । साधना गरेर बाहिरिएको साधुको जस्तो धप्प बलेको अनुहार देख्दा लाग्थ्यो, उनीभित्र कुनै मानसिक तनाव छ र !

युवराजले पार्किङबाट प्राडो गाडी बाहिर निकाले । एडीसी अघिल्तिरकै सिटमा बसे ।

गाडी बेतोडले बत्तियो । हात्तीगौँडा, बाँसबारी हुँदै दक्षिणतर्फ । नारायणगोपालचोकमा आइपुगेपछि एकछिन ट्राफिक जाममा पर्‍यो । तर उनले विपरीत दिशाबाट गाडी आउने बाटोपट्टिबाट सडक छिचोल्ने काम गरेनन् । सालिन तरिकाले नै जाम खुल्ने प्रतीक्षा गर्न लागे ।

चोक पार गर्ने बेलामा भने एउटा मोटरसाइकलवाला जितेर कहाँ नै पुगुँला भनेजस्तो गरी उनको गाडीलाई उछिन्न आयो । युवराजको गाडीको गति पनि तीव्र नै थियो । मोटरसाइकलवालासँग दुई इन्चको दूरीले मात्र ठोक्किनबाट बच्यो । युवराजले तुरुन्तै स्टेयरिङ बायाँ नघुमाएको भए मोटरसाइकलवाला त्यहीँ पछारिने थियो ।

झन्डैले दुर्घटनाबाट बचे पनि मोटरसाइकलवालाको सातोचाहिँ एकछिनका लागि चम्पट कस्यो । उसले मोटरसाइकलको गति पहिलेभन्दा कम बनाउँदै गाडीवालालाई मनमनै सराप्यो पनि ।

नारायणगोपालको सालिककै छेउ उभिएको ट्राफिकले त्यो दृश्य देखिरहेको थियो । गाडीको गति देख्दा उसलाई सिट्टी बजाउन मन नलागेको होइन । सिठ्ठी उठाएर मुखमा पुर्‍याइ नै सकेको थियो । उसका आँखा गाडीको कालो सिसा र नम्बर प्लेटमा परिहाले । उसको ब्रहृमले विद्युतीय गतिमा आदेश दियो- “यो भीआईपी गाडी हो । सिट्टी बजाउने काम नगर ।”

युवराजको प्राडो अब शिक्षण अस्पताल, पानीपोखरी हुँदै अगाडि बढयो । लैनचौरनिर आइपुगेपछि अचानक उनका आँखा बाटो काट्न लागेकी पातलो ज्यान भएकी एउटी सुन्दरीमाथि परे ।

युवराजले गाडीको तीव्र गतिलाई तुरुन्तै नियन्त्रणमा लिए । युवतीलाई आरामले बाटो काट्ने मौका दिए । अनि झ्याल भित्रैबाट युवतीको होसियारीपूर्ण हिँडाइलाई राम्ररी नियाले । कारण- रातो कुर्ता सुरुवाल लगाएकी, अन्दाजी २२ वर्षजतिकी त्यो युवती दोजिया थिई । सलले छोप्ने प्रयास गरे पनि करिब पाँच महिनाजतिको गर्भ भएको पेट पिल्टिक्क परेर बाहिर निस्केको थियो । पेट देख्दा लाग्थ्यो, गर्भे-बच्चा निकै खाइलाग्दो छ ।

ती युवतीलाई देख्नासाथ युवराजलाई दुई वर्षअघि हैरान बनाउने एउटी युवतीको याद आयो । उनले छेउमा बसेका एडीसीतर्फ पुलक्क हेरे । उनलाई आफ्नै धुनमा निमग्न देखेपछि युवराज हल्का मुस्कुराए ।

खासमा युवराजले शिरमा लगाउने मुकुटको अर्को नाम भएकी ती युवतीलाई बूढानीलकण्ठ पढ्दाका दिनदेखि नै उपयोग गर्दै आएका थिए । ताहाचलतिर घर भएकी राणा थरकी ती युवती आफूलाई बिहा गरेर महारानी बनाउँदैनन् भन्ने थाहा पाउँदापाउँदै पनि युवराजको सान्निध्यबाट टाढा हुन सक्तिनथिन् । राजतन्त्रको जगजगी भएको समयमा युवराजसँग दुस्मनी मोल्ने साहस कसले गरोस् ?

खासमा उनी सधैँका लागि विदेश जान चाहन्थिन् । तर परिवारबाट अनुमति मिल्दैनथ्यो । कारण, उनी बाबुआमाकी एक्ली छोरी थिइन् । त्यसमा पनि आमा डायबिटिजकी रोगी । बाबुले भन्थे- “तिमीलाई यहाँ के नपुग्दो छ र विदेश जानुपर्ने ?”

उनीसँग भेटघाट गर्ने ठाउँहरू पनि तिनै थिए, जहाँ पछिल्लो समय बिहा गर्न लागेकी प्रेमिकासँग भेटघाट गर्थे । युवराजसँगको उठबसकै कारण उनले एबोर्सन मात्रै तीनपटक गरिसकेकी थिइन् ।

उनी हरेकपटक युवराजसँग गर्भ नरहने गरी सम्बन्ध राख्न आग्रह गर्थिन् । तर युवराजको कानमा कहिल्यै बतास लाग्दैनथ्यो । आफैँले समस्याको सामना गर्नुपर्ने भए पो बतास लागोस् ?

चौथोपटक पनि गर्भ रहेपछि भने एबोर्सन गर्न मानिनन् । किनकि उनलाई डाक्टरले नै चेतावनी दिएका थिए- “अब पनि एबोर्सन गर्नुभयो भने तपाईँको पाठेघर सधैँका लागि काम नलाग्ने हुनसक्छ ।”

युवराजले फकाए । फकाउँदा पार नलागेपछि धम्क्याए । त्यसपछि पनि नभएपछि अनेक प्रलोभन देखाए । तर अहँ, उनले मान्दै मानिन् । एउटै कुरा भनिरहिन्- “हजुरले मलाई बिहा गरेर महारानी बनाइबक्सनुपर्छ भन्ने होइन । तर एबोर्सन गरेर सधैँका लागि बाँझी हुन चाहन्नँ ।”

धेरै सोचविचारपछि युवराजले कतै बङ्गला किनेर राखिदिने योजना बनाए । भित्रिया रानीको सम्मान दिने प्र्रस्तावसहित । सोचे, हजुरबुबा, जिजुहजुरबुबाले भित्रिया रानी राख्नुभएको थियो भने मैले राख्दा के फरक पर्छ ?
तर युवराजको त्यो योजना पनि युवतीलाई स्वीकार्य भएन । एक्ली छोरी, बाबुआमालाई छाडेर अन्यत्र एक्लै बस्न सक्तिनथिन् । कसैसँग बिहा भए त एउटा कुरा ।

असाध्यै तनाव भएपछि युवराज कोही केटा खोजेर बिहा गराइदिने निष्कर्षमा पुगे । तर भन्नेबित्तिकै आफ्नो गर्भ बोकेकी युवतीको बिहा कोसँग गरिदिने ? जोकोहीसँग स्तर नमिल्ने । स्तर सुहाउँदोसँग बिहा गराइदिँदा कुनै पनि बेला कुरा बाहिर आउला भन्ने डर ! युवराज असाध्यै तनावमा परे ।

चर्को झमेलामा परेपछि आफ्नो विश्वासपात्रलाई सुनाउनु हरेक मान्छेको विशेषता हो । युवराजले पनि त्यो कुरा आफ्नी खास प्रेमिकालाई नसुनाइरहन सकेनन् । सबै कुरा बेलिविस्तार लगाइसकेपछि भने- “तुरुन्तै उसको बिहा गरिदिनुपर्ने भो । कोसँग गरिदिने होला ? जोकोहीसँग बिहा गर्न उनी नमान्ने, सुहाउँदो खोज्दा कुरा सार्वजनिक होला भन्ने डर ।”

ती युवतीसँग युवराजको हिमचिमबारे केही कुरा उनलाई पहिल्यैदेखि थाहा थियो । युवराजले उसलाई महारानी बनाउँदैनन् भन्ने कुरामा पनि उनी विश्वस्त थिइन् । तैपनि उनको मनमा नजानिँदो भय भने कायमै थियो । उनी चाहन्थिन्, उसको उपस्थिति भित्रिनीको रुपमा समेत नहोस् ।

युवराज स्वयम्ले सल्लाह मागेपछि उनलाई बाटाको काँडा पन्छाउने उपयुक्त मौका आएजस्तो लाग्यो । सोच्नका लागि छिनभर पनि नलगाइन भनिन्- “सरकार, हजुरलाई मेरो सल्लाह कस्तो लाग्छ कुन्नि ! उनको बिहाको लागि उपयुक्त मान्छे हजुरसँगै भएजस्तो लाग्छ ।”

“तिमीले कसलाई भन्न खोज्यौ ?” झप्प दाह्री पालेर बैरागीजस्ता भएका युवराजको मनमा कौतुहलको मूल फुट्यो ।

“सरकार, हजुर अन्यथा मानिबक्सन्न भने उनको बिहा …….. सँगै गराइदिँदा हुन्छ जस्तो लाग्छ । उनी अविवाहित छन्, लायक पनि छन् ।” युवराजका विश्वासिला एडीसीको नाम उच्चारण गर्दै उनले भनिन्- “सरकारको कुरामा नाइँ भन्न पनि सक्तैनन….. । कुरा बाहिर जाने खतरा पनि हुँदैन ।”

सुनेर खुसी भए युवराज । “एकदमै सही सल्लाह दियौ तिमीले ।” युवतीलाई अँगालो हालेर गालामा चुम्बन गर्दै भने- “तिमीमा वास्तवमै युवराज्ञी हुने योग्यता छ ।”

“मलाई लाग्छ उनीसँग बिहा भयो भने हजुर सधैँका लागि टेन्सनमुक्त हुन पाइबक्सन्छ ।” आफ्नो काँधमाथिको युवराजको हात पन्छाउँदै उनले भनिन् ।

(सोमबारदेखि सार्वजनिक हुने अविरलको नयाँ उपन्यास रक्तबीजको अंश)

साभार अनलाईन खबर
यसमा तपाईको प्रतिक्रिया