देशको पाहुना
२०६८ पुस १२ गते, मंगलवार ११:५७:०१ बजे
काठमाडौ पढ्न बस्दाताका दुःख गरेर पठाइदिएका भौतिक
सामाग्रीहरु फ्रीज, राइसकुकर, व्लेण्डर आदि नचलाइकन राखिएका हुन्थे। म नभएको अवस्थामा घरको छत छिमेकीका वच्चाहरुको खेल मैदान बन्थ्यो। अनि उनीहरुले छाडेर गएका खेलौना टुक्राहरु त्यहाँ अलपत्र हुन्थे। त्यस्तो अस्तव्यस्त देखेर दिक्दारी व्यक्त गर्दै प्रायः म आमासमक्ष गुनासा गर्ने गर्दथे। ?तँ दुई दिन आउने
पाहुना जस्तो मान्छेलाई किन चाहियो यो सब ?,? आमा
फुस्फुसाउनु हुन्थ्यो।
यतिखेर म देश छाडेर परदेशमा छु। गोरखालाई छोडेर काठमाडौ बसे जस्तै। घरमा जस्तै देशको छतमा छिमेकीका सिपाही कुदेका, देशमा पनि दक्ष मानिसको अभावमा छरपष्ट भएका प्रयोगविहीन भौतिक उपकरणहरु, अनि ओइलाएका सिर्जनाका सुनाखरी र सुनगाभाहरु। घरदेश, देशघर, देशघर, घरदेश, मेरो दिमागमा फनफनी घुम्न थाल्यो। मलाई मेरो घर र देश उस्तै लाग्यो। मेरो
आमालाई जस्तै मेरो देशलाई पनि पछुतो लाग्दो हो- निकै ठूलो नागरिक जन्माइएछ भन्दै, आफ्नै देशमा नअटाउने आफ्नै माटोमा नअटाउने काठमाडौ पढ्न बस्दाताका दुई तीन महिनामा मुस्किलले एकपल्ट घर गइन्थ्यो। घर पुगेपछि साथीभाइ, इष्टमित्र र छरछिमेकसँग भेटघाट, खानपान निकै रमाइलो हुन्थ्यो। मौका परे केही सामाजिक समारोहमा उपस्थित हुने अवसर मिल्दथो। त्यतिखेर सबैले पढाइसँगै प्रगतिको बारेमा सोध्दथे, अनि मेरो पढाइ देखेर प्रशंसा गर्दथे, मन हर्षले गद्गद् हुन्थ्यो। तर घरको अवस्थाले भने दिक्क बनाउँथ्यो। दिदीबहिनी, दाजुभाइ नभएको, आमाबुवामात्र भएको मेरो घर अलि अस्तव्यस्त हुन्थ्यो। अघिल्लो पटक घर जाँदा जंगलबाट मैले ल्याएका सुनगाभा, सुनाखरीका फूलहरु पछिल्लो पटक जाँदा ओइलाइसकेका हुन्थे। काठमाडौंबाट दुःख गरेर पठाइदिएका भौतिक सामाग्रीहरु फ्रीज, राइसकुकर, व्लेण्डर आदि नचालाइकन राखिएका हुन्थे। म नभएको अवस्थामा घरको छत छिमेकीका वच्चाहरुको खेल मैदान बन्थ्यो। अनि उनीहरुले छाडेर गएका खेलौना टुक्राहरु त्यहाँ अलपत्र हुन्थे। त्यस्तो अस्तव्यस्त देखेर दिक्दारी व्यक्त गर्दै प्रायः म आमासमक्ष गुनासा गर्ने गर्दथे।
आमा, त्यति फूल पनि हेर्न भ्याउनु भएन हगि, यो सामानहरु किन नचलाइ राख्नु भएको, आफ्नो घरको छत किन अरुलाई प्रयोग गर्न दिएको आदि, इत्यादि।
?तँ दुई दिन आउने पाहुना जस्तो मान्छेलाई किन चाहियो यो सब ? हामीलाई यति कै सजिलो छ !,? आमा फुस्फुसाउनु हुन्थ्यो।
यतिखेर म देश छाडेर परदेशमा छु। गोरखालाई छोडेर काठमाडौ बसे जस्तै। घर नगएको पनि झण्डै तीन वर्ष बितिसकेछ। यी हरफहरु लेखिरहँदा घरका रुमानी सम्झनाले मन भारी हुन्छ। दोबाटोको त्यो घर, घरको अस्तव्यस्तता, घरको छत, सुनगाभा र सुनाखरीका ओइलाएका फूलहरु आदि सिनेमाका पर्दा झै आँखामा सल्बलाउँछन्। एउटा कुनै रिसर्च प्रोजेक्ट वा ग्य्रान्ट मिलाउन पाए त क्या मजा हुन्थ्यो, नेपाल जाउआउ भाडा पनि समेट्ने, भेटघाट पनि हुने, यसो पेपर पनि लेख्न पाउने, ?एक गोलीले कति चरा मर्ने? मन यतिखेर घर जानको निम्ति पनि विदेशीको सहयोग सम्झेर आल्हादित हुन खोज्छ।
त्यसताका सँगै पढने साथीहरु घर पुगेर आएपछि उनीहरुको कोठामा निकै जमघट गरिन्थ्यो, एउटा सानोतिनो भोज नै चल्दथ्यो। घरबाट भर्खर आएकोले पैसा, खानेकुराको कुनै कमी हुँदैन थियो त्यतिखेर। घरछिमेकका खबरसँगै ल्याइएका गुन्द्रक, सिन्की र घ्यूका पोकाहरु हामी पालैपालो फुकाउँदै रमाउँथ्यौं। यतिखेर विदेशबाट पनि त्यसरी नै साथीहरुको लर्को स्वदेश जान्छन्, अनि फर्कन्छन्, खबरका डाँकहरु लिएर ओहरदोहर गरिरहन्छन्। फरक यति छ त्यतिबेला बुबाआमाले साथीसँगै पत्र लेखेर पठाउनु हुन्थ्यो। राम्रो पढेर ठुलो मान्छे बन्नु पर्छ भन्दै अर्ती भरिएका पत्रहरु। तर यतिखेर आमाले केरमेट गरी लेखिएको पत्रको साटो घरबाट एक दुई थान भिसिडीमा सन्देश आउँछ। अबको डिजिटल युगमा के को चिठी, के को पत्र ?
उसबेलाको काठमाडौंको डेराको जमघट जस्तै नेपालबाट आउने साथीको अपार्टमेन्टमा जमघट छ यतिखेर। घरबाट ल्याइएको भिसिडीलाई प्लेयरमा राखेर त्यसको दृष्यसँगै हामी साथीको मुखबाट देशको अवस्था पनि सुन्न थाल्दछौं। उसका आफ्ना भोगाइका त्यस्ता खबरहरु, जुन अनलाइन समाचारमा नआएको होस् र नपढिएको होस्। उ भन्दै जान्छ, एयरपोर्टमा यस्तो भयो, यति घुस माग्यो, साला ट्याक्सीले यसरी ठग्यो, जामले गर्दा यो ठाउँमा यति घण्टा बस्न पर्यो आदि। गाउँका सबै युवाहरु विदेशमा भएकोले उनीहरुलाई भेट्न नपाएको गुनासादेखि दोहोरी र डान्स रेस्टुरेन्टका रोमान्चक कथाहरु उ भन्दै जान्छ। अर्ध अमेरिकी आँखाबाट नेपाललाई हेरेर गरिएको उसको गफको समग्र निश्कर्ष नेपाल खत्तम भयो, नेताहरुले देश बिगारे, अब के भनेर नेपाल फर्कनु र भन्ने हुन्छ। उसको कुरा सुनेपछि अघिसम्मको साथीभाइको जमघट अब एकाएक राजनैतिक आमसभामा परिणत हुन थाल्दछ। यो देशमारा, फलाना यस्तो भ्रष्टाचारी, ढिस्काना सामन्ती, यो फटाहा, चोर, डाँका, विखण्डनकारी, त्यो प्रतिकियावादी, त्यो यथास्थितिवादी अनि क्रान्ति, लोकतन्त्रका ठूला-ठूला भाषणहरु। समाचार पढेको भरमा गरिएका तर्क वितर्कका खातहरु त्यहाँ लाग्दछन्।
त्यतिखेर नै भिसिडीको स्क्रिनमा मेरो घरका दृष्यहरु देखिन्छन्। आमा अलि दुब्लाउनु भएछ, बुवा त तन्दुरुस्त नै हुनुहुँदो रहेछ। घर अझै पनि त्यस्तै छ, छिमेकीको राज भएको घरको छत, थन्किएका भौतिक सामाग्रीहरु, ओइलाएको मेरो प्यारो सुनगाभा र सुनाखरीका फूलहरु।
गाउँको खबर सोध्ने क्रममा साथीलाई हेल्थपोष्ट र केही वर्ष पहिले खुलेको प्लस टूको खबर सोधेँ, उसले एक निमेषमा ती दुवै वन्द भएको खवर सुनायो। शिक्षकको अभावको कारण गाउँको प्लस टु बन्द गर्नु परेको उसको भालाभन्दा तीखो जवाफ मेरो मुटु छेडेर निस्कियो। आँखाको आँसु लुकाउन मैले आँखालाई भिसिडीतिर दौडाएँ।
डिग्री सकिसकेपछि मेरो सिंगो गाँउले म गाँउमै फर्किएर भर्खर खुलेको प्लस टुमा कम्तीमा दुई तीन वर्ष पढाओस् भन्ने आशा राखेको थियो। स्थापना कालमा राम्रा शिक्षकहरु राख्न सकेपछि सजिलो होला भन्ने उनीहरुको चाहना थियो। बिचरा हेडसर कम्ता धाउनु भएन काठमाडौँको मेरो डेरामा। अन्य शिक्षकलाई भन्दा मलाई बढी सुविधा दिने कुरा पनि गर्नुभयो। तर काठमाडौँ आइसकेपछि के गोरखा फर्कनु भनेर मन मान्दै मानेन, बरु काठमाडौँमा कोठे कोचिङ्ग पढाएर बसेँ केही महिना म।
पढाइसकेपछिका पछिल्ला दिनहरुमा घरको अस्तव्यस्तताको बारेमा आमालाई गुनासा गर्दा उहाँको जवाफ ठाडो पाउने गर्दथेँ म। उहाँ भन्नुहुन्थ्यो आफूलाई चाहिने जस्तो बनाउन यहीँ आएर बस। आफूले चाहे जस्तो घरमा फूलबारी बनाउ, सबै भौतिक सामाग्रीहरु जोड, छतमा काँडे तारबार लगाउ इत्यादि। आमाको त्यो आग्रहलाई त्यतिखेर गाउँमा आफूलाई सुहाउने एउटै जागिर नभएको भनेर सजिलै टारिदिएको थिएँ मैलै। साधारण साक्षर मेरी आमालाई कस्तो भयो होला त्यतिखेर, मलाई अहिले अनुमान गर्दा पनि मन भक्कानिएर आउँछ। उहाँलाई त्यतिखेर लागेको थियो होला, ए रात्तै ! छोरा त निकै ठूलो पो भएछ, आफ्नै घरआँगनमा नअटाउने, आफ्नै गाँउठाउँमा नअटाउने।
नेताहरुलाई गाली गरिसकेपछि साथीहरु मेरा गाउँलेहरुलाई गाली गर्दै थिए। यारको लवजमा एकजना भन्दै थिए ?देख्यौ खुलाएको जाबो एउटा प्लस टु पनि राम्रोसँग चलाउन सकेनन् मूर्खहरुले। त्यस्तो गाँउमा पनि के विकास हुन्छ ? हामी सँधै पछि पर्नुको यो पनि एउटा कारण हो?। उसले कुनै विकासे संस्थाको कन्सल्ट्यान्टले जस्तो रेडिमेड कारण पेश गर्यो। अरु साथीहरुले हो मा हो मिलाए।
विदावारी हुने बेलामा पढाइसकेपछि के गर्ने भन्ने कुरा चल्यो। एउटा साथीले भन्यो मोलिक्युलर बायोलोजीको त ल्याब नै छैन नेपालमा, फर्केर मेरो पढाईको के काम ? मैले पढेको पनि सबै बिर्सन्छु। रिसोर्स म्यानेजमेन्ट पढ्नेले आफूलाई थाहा भएका एनजिओ आइएनजिओको नाम हेर्दै भन्यो ?यार आफ्नो लागि त त्यही हो काम गर्ने ठाउँ। भ्याकेन्सी हेर्छु र यहीँबाट कोशिस गरेर काम दियो भने गइन्छ नत्र यस्तै हो?। फिजिक्स, कम्प्युटर विज्ञान आदि सबै पढ्नेको पालो आयो। निस्कर्ष केही वर्ष पहिला मैले गाँउको प्लस टूमा पढाउन जान नमानेको भन्दा भिन्न थिएन।
विदावारी भइसकेपछि बाटोमा भिसिडीका दृष्यहरु आइरह्यो। घरको छतमा अरुका केटाकेटी खेलेका, ओइलाएका सुनागाभा र सुनाखरी, अलपत्र परेका भौतिक सामाग्रीहरुको दृष्यहरुले पछ्याइरहेको थियो। घरमा जस्तै देशको छतमा छिमेकीका सिपाही कुदेका, देशमा पनि दक्ष मानिसको अभावमा छरपष्ट भएका प्रयोगविहीन भौतिक उपकरणहरु, अनि ओइलाएका सिर्जनाका सुनाखरी र सुनगाभाहरु। घरदेश, देशघर, देशघर, घरदेश, मेरो दिमागमा फनफनी घुम्न थाल्यो। मलाई मेरो घर र देश उस्तै लाग्यो। झट्ट आमाका भनाइहरु सम्झिएँ, आफूले चाहे जस्तो घर बनाएर बस्न तँ आफै आइज?..। तँ दुई दिनको पाहुना जस्तो मान्छेलाई के मतलब??.। मेरो आमालाई जस्तै मेरो देशलाई पनि पछुतो लाग्दो हो- निकै ठूलो नागरिक जन्माइएछ भन्दै, आफ्नै देशमा नअटाउने आफ्नै माटोमा नअटाउने। अपार्टमेन्टको ढोका खोलेर कोठाभित्र पस्दा भित्तामा झुण्डिएको सगरमाथा मलाई हेरेर फिस्स हाँसे जस्तो लाग्यो। कतै म देशको पाहुना त भइनँ ?