निर्दोष विद्यार्थीहरूको जीवन जोखिममा : डा. शीतलकाजी श्रेष्ठ

डा. शीतलकाजी श्रेष्ठ

डा. शीतलकाजी श्रेष्ठ

२०६८ पुस १२ गते, मंगलवार १२:१४:४६ बजे

गोरखाको धार्मिक तथा पवित्र तिर्थ स्थल जौवारी गाविस-६, गोरखाका डा. शीतलकाजी श्रेष्ठ, २९, को पढाइबारे अभिभावकले धेरै चिन्ता लिइरहनुपरेन । सानैदेखि तीक्ष्ण र चतुर उनी प्राथमिक तह पढ्दापढ्दै एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आँखामा परेर पोखराको गण्डकी स्कुलमा झरे, पूर्ण छात्रवृत्तिमा ।

एसएलसीपछि भारतको पञ्चनगर विश्वविद्यालयबाट भेटनेरीमा स्नातक गरे उनले छात्रवृत्तिमै । स्नातकोत्तर तहका लागि पनि उनी भारत सरकारकै छात्रवृत्तिमा पन्जाबको लुधियाना स्थित गुरु एङ्गड देव विश्वविद्यालयमा भर्ना भए, जहाँ उनले भेटनरी अन्तर्गतको पब्लिक हेल्थमा सर्वोत्कृष्ट नतिजा हासिल गरे । यसरी विश्वविद्यालय टप गरेर काठमाडौँ फर्केलगत्तै निम्बस इन्टरनेसनल प्रालिमा तालिम प्रमुख भएका डा श्रेष्ठ अहिले यति लामो विद्यार्थी जीवनकाल एकै निमेषमा बितेको जस्तो मानिरहेका छन् ।

स्नातकोत्तर तहको शोधपत्र तयार गर्ने क्रममा उनले गरेको अनुसन्धान पनि विशेष उल्लेख्य छ । कारण, उनले बाराको अमलेखगन्जमा वर्षौंदेखि सरकारले विद्यालय हातामै भण्डारण गरेको खतरनाक विषादी (पेस्टीसाइड)को असर परीक्षण गरेका थिए, जसको परिणाम अत्यासलाग्दो छ । भन्छन्, `राज्यको लापरबाहीबाट अनाहकमा निर्दोष विद्यार्थीहरूको जीवन जोखिममा परेको छ ।` डा. श्रेष्ठले विषादी गोदामसँग जोडिएको विद्यालयमा अध्ययनरत ५० बालबालिकाको रगतको नमुना दिएर गुरु एङ्गड देव विश्वविद्यालयको प्रयोगशालामा जाँच गरेका थिए । उनीहरूको स्वास्थ्य स्थिति भारतमा सबैभन्दा बढी विषादी प्रयोग हुने लुधियानाका वयस्क किसानहरूको बराबर पुगेको डा श्रेष्ठ बताउँछन् ।

 

अब उनी अमलेखगन्जको माटो र पानीमा विषादीको मात्रा अध्ययन गरेर विश्व स्वास्थ्य संगठनबाट प्रमाणित गराउने सुरमा छन् । यसबाट के पाउँछन् त उनले ? भन्छन्, `विषादी व्यवस्थापनमा सरकारमाथि दबाब सिर्जना र त्यहाँका मानिसको सुरक्षित स्वास्थ्य ।` अमलेखगन्ज विष भण्डारले भविष्यमा ल्याउनसक्ने भयावह परिणाम प्रति चिन्तित डा. श्रेष्ठ अहिलेलाई आफ्नो अनुसन्धानका निचोडहरू पाकिस्तानको लाहोरमा हुन लागेको एसियन बफेल्लो कंग्रेस र इन्डियन एसोसिएसन अफ भेटनेरी पब्लिक हेल्थ (आईएभीपीएच) सम्मेलनमा प्रस्तुत गर्ने तयारीमा छन् ।

यसमा तपाईको प्रतिक्रिया