ताहरिर स्क्वायरदेखि टाइम स्क्वायरसम्म

२०६८ पुस १२ गते, मंगलवार ११:३०:१७ बजे

Uttam Babu Shrestha, Gorkha, Nepalन्युर्योक शहरका गगनचुम्बी भवनहरुको जंगल बिच रहेका रुखहरुका पातहरु पहेंलो, रातो र खैरो रंगमा परिवर्तन हुने भएकोले सरद ऋतुमा यो शहर झनै सुन्दर लाग्छ । रंग परिवर्तन गर्ने रुखहरुले गर्दा यहाँका पार्कहरु अन्य मौसमहरुमा भन्दा बढि आकर्षक देखिन्छ । यतिबेला न्युर्योकको जुकोटी पार्क संसारको आर्कषणको केन्द्र बनेको छ र पार्कको सुन्दरतालाई आन्दोलनकारीहरुले नयाँ रंग थपिदिएका छन् । ?वालस्ट्रिट कब्जा गरौं? भन्ने आन्दोलनकारीहरुले विश्वै कै आर्थिक राजधानीको मुटुलाई नयाँ रगत भर्ने जमर्को गरिरहेका छन् । सेप्टेम्बर १७ बाट न्युर्योकको जुकोटी पार्कबाट शुरु भएको यो आन्दोलनको यतिखेर अमेरिकाको करिब १०० वटा शहरहरु फैलिएको छ, जहाँका मुख्य आर्थिक इलाकामा मानिसहरु क्याम्प बनाएर दिनरात धर्ना दिइरहेका छन् । गत शनिबार मात्रै विश्वभरका १५०० शहरहरुमा यो आन्दोलनको समर्थनमा जुलुस निस्कीएको थियो । हिजो सोमबार काठमाडौंमा पनि यो अभियानको समर्थनमा जुलुस निस्कीएको छ । शुरुवातका दिनमा सयौंको संख्यामा भएका आन्दोलनकारीहरु यतिखेर हजारौंको संख्यामा पुगेका छन् । अहिलेसम्म उनीहरुले आन्दोलनको लागि करिब ३ लाख डलर आर्थिक सहयोग जुटाएको दावी गरेका छन् । टाइम म्यागेजिनले गरेको पछिल्लो सर्वेक्षण अनुसार, ५४ % अमेरिकीहरुले यस आन्दोलनलाई जायज ठहराएका छन् । संभवत करिब ५० बर्षपछि अमेरिकीहरु यसरी सडकमा आएका छन् र भनेका छन् ?अब अति भयो (ENOUGH!)


प्रश्न उठ्न सक्छ, समृद्घ भनिएको विश्व कै सबैभन्दा शक्तिसाली देशका मानिसहरु किन सडकमा आएर आन्दोलित हुन पर्यो ? कोलम्बीया युर्निभरसिटीका प्राध्यापक तथा नोवेल पुरस्कार बिजेता अर्थसास्त्री जोसेप स्टीग्लीजसँग यसको सटिक जवाफ छ ? उदारिकरणको नाममा आर्थिक नितिहरुलाई यसरी विकृत गरियो कि ?प्रजातन्त्र १ प्रतिशतले १ प्रतिशतद्वारा १ प्रतिशतको लागि शासन गर्ने व्यवस्थामा रुपान्तरित हुन पुग्यो ।? आफ्नो भनाइलाई स्टीग्लीज अझै प्रष्ट पार्छन् । ?ठुला वित्त कम्पनी र कर्पोरेशनहरुले सबैजसो राजनितिज्ञलाई चन्दा दिन्छन् । उनीहरुले पैसाको आडमा चुनाव जित्छन् त्यसैले उनीहरु वित्त कम्पनीहरुको हितमा काम गर्न वाध्य हुन्छन् र उनीले त्यसो गरेनन् भने उनीहरुले अर्को चुनावमा सजाय पाउँछन् अर्थात हार्छन् ।? ओपन सेक्रेटडटअर्गका अनुसार वृत कम्पनीहरुले सन् २००९ देखि अहिलेसम्म ५७ करोड डलर गठियारहरु (Lobbyist) पोस्नको लागि र १७ करोड डलर चुनावी अभियानहरुमा चन्दाको रुपमा खर्च गरेका छन् । त्यस्ता नाफाखोर कम्पनीहरुको नितिनिमार्ण तहमा प्रभाव पार्ने हुनाले आर्थिक संकटको अवस्थामा पनि ठुला बैंक तथा वित्त कम्पनीहरु भने अरबौं डलर नाफा कमाइरहेका छन्, वोनस बाँडिरहेका छन् । तर आम मानिसहरुको अवस्था भने झनै खस्कँदो छ ।

तथ्यांकहरु भन्छन्, अमेरिकामा राज्यको एक चौथाई आय १ प्रतिशत धनाढ्यहरुको पोल्टामा जान्छ । धनी १ प्रतिशतले राज्यको कुल ४० प्रतिशत सम्पत्तिमाथि कब्जा जमाएका छन् । करिब ४०० धनी अमेरिकनहरुको सम्पत्ति १५ करोड गरिबहरुको कुल सम्पत्ति बराबर छ । सन् १९७० मा एक सामान्य कामदारको भन्दा बैंकको सिइओको तलब २० गुणा बढि थियो भने अहिले त्यो १००० गुणासम्म पुगेको छ । ?खराब आर्थिक निति कै कारण उपल्लो १ प्रतिशतका लागि राम्रो घर, राम्रो शिक्षा, राम्रो स्वास्थ्य व्यवस्था, राम्रो जीवनशैली हुनपुग्यो बाँकी ९९ प्रतिशत मान्छेहरु शिक्षा, स्वास्थ्य र सबैखाले अवसरबाट बन्चित हुन पुगे र पुग्दैछन्? अर्थसास्त्री स्टीग्लीजको ठम्याई छ । अमेरिकामा यतिखेर धनी गरिब विचको खाडल इतिहास मै सबैभन्दा गहिरो भएको छ । मुद्रा स्फ्रितीलाई समायोजन गर्ने हो भने अमेरिकीहरुको सरदर आय घटेर हाल १९९७ पछि कै सबैभन्दा कम बिन्दुमा पुगेको छ । यहि आर्थिक असमानता र दिग्दारी नै वालस्ट्रिट कब्जा गरौं अभियानको अनेक कारकहरु मध्ये एक प्रमुख कारक हो सिएनएन आफ्नो अनलाइन संस्करणमा लेख्छ । त्यसो त वालस्ट्रिट कब्जा गरौं आन्दोलनले अहिलेसम्म ठोस लक्ष्य हासिल गर्न सकेको छैन र यसका प्रर्दशनकारीहरुले नाफाखोर बैंक, भ्रष्ट राजनितिज्ञ, सरकारी सुविधा कटौति र धनी र गरिब विचको खाडलका विरुद्वमा आवाज उठाएका छन् । उनीहरुले आफुहरु अरब देशहरुमा यसैबर्ष भएको बसन्त बिद्रोहबाट प्रभावित भएर परिवर्तनको लागि आन्दोलनमा लागेको वताइरहेका छन् ।

असन्तोषका भावनाहरु घरबाट निस्केर सडकमा पोखिएपछि आन्दोलन बन्छ । आन्दोलन कुनै मिठो खान पकाए जस्तो हुदैन ठीक सुत्र, ठीक सामाग्री र उचित समयको समायोजन गरेर गर्ने । समयक्रममा आन्दोलनले लक्ष्य निर्धारण आफै गर्न सक्छ । तर आन्दोलन आफैले कुनै निति वा विधान बनाउन सक्दैन जबसम्म यसमा राजनिति वा राजनितिज्ञ मिसिदैन । त्यसैले यो आन्दोलन अहिलेसम्म राजनितिक वा नितिगत परिवर्तनको चरणमा भन्दा पनि सामाजिक जागरणको चरणमा छ । हाललाई यसको प्रभाव, संलग्नता र नेतृत्व हेर्दा वालस्ट्रिट कब्जा गरौं आन्दोलनले अमेरिकालाई नयाँ दिशादिने नितिगत परिवर्तनको आशा अहिले नै गर्नु धेरै छिटो हुनेछ । आन्दोलनकारीको वेभसाइटमा उनीहरुले २०१२ सम्मका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । तर सरद ऋतुको समाप्तिसँगै न्युर्योक र अमेरिकाका थुप्रै सहरहरुमा हिँउले ढाकेपछि टेण्ट नै टाँगेर आन्दोलन गरिरहेका आन्दोलनकारीहरु यहाँको चिसोमा टिक्लान्/नटिक्लान् यो अहिले भन्न सकिन्न् । तर यो आन्दोलनले सुदखोरहरुको केन्द्रलाई (पुँजीवादको होइन) भने एकपल्ट हल्लाइदिएको भने पक्कै हो ।

यसमा तपाईको प्रतिक्रिया

थप लेख रचना