खस राजाको नासो

२०७१ माघ ४ गते, आईतवार १०:३४:१५ बजे

शिवप्रसाद उप्रेती

चीनको सांस्कृतिक क्रान्ति भइरहेको समय। तिब्बत-नेपालको सीमा क्षेत्रमा पनि त्यसको प्रभाव पर्ने नै भयो। त्यसबेलाका सांस्कृतिक सम्पदा जोगाउन हम्मेहम्मे परेको थियो। 
 
त्यसबेला तेका पेमा छ्योलिङ गुम्बा (ताघबाई गुम्बा) र त्यहाँ रहेको बहुमूल्य धार्मिक तथा सांस्कृतिक सम्पदा नष्ट गरिए त्यसबेलाका बहुमूल्य सम्पदाहरूमध्ये एउटा ताम्रपत्र भने जोगाएर राखे त्यहाँका लामाहरूले।
 
त्यो प्राचीन ताम्रपत्र अहिले पनि त्यहाँका लामाहरूले संरक्षण गरेर राखेका छन्। त्यो ताम्रपत्र आजभन्दा ६ सय ९३ वर्षअघि सिंजाका खस राजा आदित्य मल्लले त्यहाँका लामाहरूलाई दिएका थिए। अहिले त्यही नासो यहाँका लामाहरूको ऐतिहासिक गौरवको विषय बनेको छ। 
 
तिब्बतसँगको युद्धका बेला युद्ध लड्न जाने फौजले खाना खाने बेलामा सो गुम्बाको व्यवस्थापन गर्न तत्कालीन बासगावा लामालाई जिम्मा दिइएको र सोबापत राज्यलाई तिर्नुपर्ने सबै कर मिनाहा गरेको ताम्रपत्रमा उल्लेख छ। 
 
शाके १२४३ (विक्रम संवत् १३७८) मा राजा आदित्य मल्लको नाममा जारी गरिएको ताम्रपत्र सामागाउँ गाविस ९ साम्दो निवासी ङुइटुप लामाले सुरक्षित राखेका छन्, त्यस ताम्रपत्रलाई। गुम्बामा राख्दा असुरक्षित हुने भएकाले गाउँलेको सल्लाहअनुसार गाउँका अगुवा ङुइटुपलाई राख्न दिइएको स्थानीय नीमा लामा बताउँछन्। 
 
ताम्रपत्रमा यस्तो लेखिएको छ : 
 
ओम स्वस्ति। श्री शाके १२४३ श्री श्री मदादित्य मल्ल देव सपरिवारि श्चि रं जयतु राइका भाष् पसा कि अक्रि । बासगावा लामा सपरिवारि। हाम्रा इं छत्रु नास हो। हामि दान पुनि हो। 
 
हाम्रा रख्या स्वस्ति पायि थान रक्षा बां छन्। कडक आउँदा जाँदा गुम्बा भच् नाकिया। कोही जे घच् नकर त सोन तोला १०० को थारो। तास् भलो नहुं। बराम चल्या भाष् पसा भइ।' 
त्यसबेला तेका पेमा छ्योलिङ गुम्बा (ताघबाई गुम्बा) र त्यहाँ रहेको बहुमूल्य धार्मिक तथा सांस्कृतिक सम्पदा नष्ट गरिए त्यसबेलाका बहुमूल्य सम्पदाहरूमध्ये एउटा ताम्रपत्र भने जोगाएर राखे त्यहाँका लामाहरूले। त्यो प्राचीन ताम्रपत्र अहिले पनि त्यहाँका लामाहरूले संरक्षण गरेर राखेका छन्। त्यो ताम्रपत्र आजभन्दा ६ सय ९३ वर्षअघि सिंजाका खस राजा आदित्य मल्लले त्यहाँका लामाहरूलाई दिएका थिए।
योगी नरहरिनाथले 'इतिहास प्रकाश'मा यसको अनुवाद यसरी गरेका छन्: 

ओम नमस्कार। श्री साके १२४३। श्री श्री आदित्य मल्लदेवका सपरिवारको जय होस्। राजाले भाकापत्र जारी गरी 'करविहीन तुल्याएर' सपरिवार बासगावा लामालाई दिए। हाम्रा यी शत्रु नासिऊन्। हामीलाई दान पुण्य मिलोस्। 
 
हाम्रो पादस्थलको रक्षार्थ राखेका रक्षक त्यहाँ छन्। लड्न आउँदा जाँदा गुम्बालाई नोक्सान नपु:याउनू। यदि कसैले ग:यो भने त्यसलाई एक सय तोला सुनको दण्ड हुनेछ। त्यसको भलो हुने छैन। फौज खाना भएको बेला भाकापत्र जारी भयो। 
 
यो ताम्रपत्र रुइला गाउँमा रहेको तेका पेमा छ्योलिङ गुम्बा (ताघबाई गुम्बा) मा राखिएको थियो। ६४ वर्षअघि चिनियाँ सांस्कृतिक क्रान्ति हुँदा विस्थापित रुइलावासी भागेर साम्दो भन्ने ठाउँमा नयाँ बस्ती बसाएको र सोही नामको गुम्बा पनि यहाँ निर्माण गरेको त्यतिबेला भागेर आएकामध्येका एक ङुइटुप लामा बताउँछन्। 
 
'सबै गुम्बा भत्काएपछि हामी त्यहाँ बस्न नसकेर भागेर यता आयौं', उनी सम्झन्छन्, 'खान लागेको गाँस बरु छाड्यौं तर हाम्रो गुम्बाका धर्मग्रन्थ, अरू सामान, ताम्रपत्र छोडेनौं।' 
 
मुस्किलले यहाँ ल्याएका गुम्बाका महत्त्वपूर्ण मूर्तिहरू पछि तस्करले चोरेर तिब्बततिरै लगेको उनी बताउँछन्। अहिले त्यो गुम्बा पनि नरहेको र ताम्रपत्र पनि नरहेको कतिपय इतिहासकारले लेखेका छन्। तर स्थानीयवासीले सोही नामको गुम्बा साम्दोमा पुनर्निर्माण गरेका छन् भने सो ताम्रपत्र पनि सुरक्षित राखेका छन्। 
 
तिब्बत छाडेर भाग्दा र नेपालमा पनि उपेक्षा हुँदा साम्दोवासीमा ठूलो पीडा छ। 'हामी रुइलावासी नेपाली नै हौं', ६४ वर्षअघि भागेर आएकामध्ये एक दोर्जे लामा भन्छन्, 'तुलसी गिरी प्रधानमन्त्री हुँदा सिमानामा पिलर राख्ने क्रममा नेपालको रुइलालाई पनि तिब्बतिर पारिदिएका हुन्।
 
हामी नेपाली नै हौं भनेर भागेर नेपालको साम्दोमा आएर बस्दा सामागाउँवासीले यिनीहरू तिब्बती यहाँ हकभोग पाउँदैनन् भनेर अदालतमा मुद्दा हाले।' तर मुद्दा चाहिँ दोर्जे लामाहरूले जिते।

साभार अन्नपुर्ण
यसमा तपाईको प्रतिक्रिया

थप लेख रचना