पेटस्क्यान खरिदमा अनियमितता आशंका

२०७१ माघ १२ गते, सोमवार ११:१७:२५ बजे
अतुल मिश्र

hospital

काठमाडौ, माघ १२ - बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका लागि 'पेटस्क्यान' उपकरण खरिद प्रक्रियामा ठूलो रकमको चलखेल भइरहेको पाइएको छ। गुणस्तरहीन उपकरण ल्याई मोटो कमिसन खाने धन्दामा अधिकारीहरूले एउटै कम्पनीलाई पर्ने गरी खरिद 'स्पेसिफिकेसन' तयार गरेको जानकार स्रोतले जानकारी दियो।

उक्त उपकरणमा सानोखाले साइक्लोट्रोन (माइक्रो साइक्लोट्रोन) राख्न आवश्यक पर्ने प्राविधिक स्पेसिफिकेसन तयार पारिएको हो। माइक्रो साइक्लोट्रोन खास गरी विश्वविद्यालीय अध्ययनका लागि बनाइएको हो। एक न्युक्लियर मेडिसिन विज्ञले कान्तिपुरसँग भने, 'यो जनावरको उपचारमा प्रयोग हुन्छ। कहींकहीं मानिसमा प्रयोग गरिए पनि यसबारे व्यापक

विवाद छ।'

साइक्लोट्रोनबाट उत्पादित रेडियो सक्रिय पदार्थ (आइसोटोप) को गुणस्तर परीक्षणपछि मात्र मानव शरीरमा प्रयोग गरिन्छ। माइक्रो साइक्लोट्रोनमा यो परीक्षण विधि नै हुँदैन। 'अहिले किन्न लागिएको मेसिनबाट बन्ने आइसोटोप मानव स्वास्थ्यका लागि उपयुक्त भए/नभएको यकिन नै नगरी प्रयोग गर्नुपर्ने स्थिति आउनेछ,' ती विज्ञले भने, 'हाम्रा छिमेकी राष्ट्रको सरकारी स्वास्थ्य निकायमा उपयोग गरिने पेटस्क्यानलाई आधार बनाएर मुलुकमा नयाँ मेसिन भित्र्याएको भए बरु अनुकूल हुन्थ्यो।'

उपकरण खरिद प्रक्रियामा भएको गडबडीबारे नेपाल हिमाल इक्युपमेन्ट सेन्टरका प्रबन्ध निर्देशक राजेशमणि घिमिरेले अस्पतालका निर्देशकसमक्ष लिखित उजुरीसमेत दिएका छन्।

अस्पतालकै रेडियोलोजी विभागका एक चिकित्सकका अनुसार उक्त उपकरण क्यान्सर उपचारनिम्ति चिनिएका राम्रा केन्द्रहरूमा प्रयोग हुँदैनन्, कहींकहीं अनुसन्धानका लागि मात्र उपयोग हुन्छ।

'भारत, पाकिस्तान, बंगलादेश, श्रीलंकामै हेरौं न, त्यहाँ नभएको मेसिन यहाँ किन ल्याउन खोजिएको छ?' ती चिकित्सकले भने, 'यसको एक मात्र उद्देश्य पैसा हो, करोडौंको चलखेल। यसमा प्रभावशाली व्यक्तिहरूकै संलग्नता छ।'

नेपाल भित्रिन लागेको एबीटी कम्पनीद्वारा सन् २००८ मा निर्मित साइक्लोट्रोन ७.३ मेगा इलेक्टोन भोल्ट मेसिनलाई अमेरिकाकै फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले मानव शरीरमा उपयोगनिम्ति स्वीकृति दिएको छैन। एफडीएले अनुसन्धाननिम्ति मुसालगायत जनावरमा उपयोग गर्नचाहिँ अनुमति दिएको छ।

घिमिरेको दाबीअनुसार विश्व स्वास्थ्य संगठनले उक्त उपकरणलाई गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जीएमपी) कम्प्लाइन्स सर्टिफिकेट दिएको छैन। युरोपियन युनियन, बेलायत, भारतमा यसलाई विश्वविद्यालयमा जनावरमा अनुसन्धान गर्नमात्र अनुमति दिइएको छ।

रुसको स्वास्थ्य संस्था 'घोस्ट' समेतले मानव शरीरमा उपयोग गर्न स्वीकृति दिएको छैन। उजुरीमै एबीटी कम्पनीले केही विश्वविद्यालयमा अनुसन्धानका लागि मात्र साइक्लोट्रोन उत्पादन गरेको उल्लेख छ। 'एबीटी कम्पनीले यो पेटस्क्यान ३७ करोडमा दिने प्रस्ताव गरेको छ,' घिमिरेले भने, 'पेट सिटी, साइक्लोट्रोन र सिभिल वर्कस गरी तीन आइटमका लागि उक्त रकम प्रस्ताव गरिएको हो।'

अस्पतालका निर्देशक डा. चीनबहादुर पुनले पेटस्क्यानको टेन्डरमा अनियमितता भएको भनेर गुनासो आएपछि विस्तृत अध्ययन भइरहेको जानकारी दिए।

मुलुकमा पेटस्क्यान ल्याउने श्रेय वर्तमान राष्ट्रपति डा. रामवरण यादवलाई जान्छ। शरीरका केही भागमा शंकास्पद दाग देखिएपछि डा. यादव नेपाली चिकित्सकको सल्लाहअनुसार उपचारका लागि जापान गएका थिए। उनको त्यहाँ पेटस्क्यान प्रविधिद्वारा जाँच गरिएको थियो।

डा.यादवले जापानबाट फर्केपछि उक्त प्रविधि ल्याउन सरकारसँग आग्रह गरेका थिए। सरकारले आर्थिक वर्ष २०७०/७१ मै त्यसका लागि बजेट व्यवस्था गरेको हो।

पोजिट्रान एमिसन टोमाग्राफीको सुविधाले चिकित्सा जगत्मा क्रान्ति आएको छ। यसले सजिलै क्यान्सरको अवस्था थाहा पाइन्छ। रेडिएसन, न्युक्लियर इमेजिङ मेडिसिन (ग्लुकोज वा अमोनिया) को सहयोगले शरीरको गतिविधिको रंगीन तस्बिर बन्छ।

साभार ई कान्तिपुर
यसमा तपाईको प्रतिक्रिया

थप राष्ट्रिय समाचार
धेरैले पढेको