नेपालको सबै भन्दा ठुलो गाई फारम गोरखामा
२०६८ पुस १२ गते, मंगलवार ११:५९:११ बजे
गोरखा जिल्लाको च्याङली गाउं बिकास समितिका वडा न. ८ हरिना पाखामा रहेको गाई फारम नेपालको सबै भन्दा पुरानो र ठुलो हो तर सम्बन्धित निकायवाट पर्याप्त सहयोग नपाउंदा यो संकटमा परेको छ ।
कृषि प्रदान देशका मानिसलाई कृषि क्षेत्र त्यो पनि पशु पालनमा गरिएको विभेदले राजेन्द्रराज पन्तलाई सताएको छ । उहांले भन्नुभयो, सरकारले मलाई अनुदान नदेओस् तर किसानका लागि व्याजदरमा पांच प्रतिशत मात्र कायम गरोस् अनि मात्र खेती तर्फ ध्यान पुग्छ र बेरोजगार युवा विदेश जान छोड्छन । हलिस्टेन, फ्रिजन, जर्सी, टेरनटाइज लगायतका जातका गाईहरु फारममा पालिएका छन् । गाइलाई खुवाउनको लागि २५० रोपनी क्षेत्रफलमा स्टाइलो, मलाटो, किम्बु, नेपियर र स्थानिय जातका घांस लगाइएको छ । गाइ पालन गरेपनि उहांलाई ऋणले भने छोडेको छैन । अहिले मासिक एकलाख २५ हजार व्याजमात्र तिर्नुपरेको उहांले बताउनुभयो । सरकारले कृषकको लागि ऋणको व्याज धेरै बनाएकोमा उहांले चिन्ता व्यक्त गर्नुभएको छ । सरकारले पशुपालनका लागि छुट्टै निति बनाउनुपर्ने उहांको माग रहेको छ । निति निर्माण लागि बरु आफु सहयोग गर्न समेत तयार रहेको पन्त बताउनुहुन्छ ।
काठमाण्डौबाट एक सय ३२ कि.मि र पोखराबाट ६८ किमीको दुरी वीचमा पर्ने बन्दीपुर गाउं विकास समितिको चुनपहरा पारी सो फारम पर्दछ । यो काम रहरले नभै एउटा प्रतिवद्धता, समर्पण र सोच विचारले मात्र गरिएको उहांले बताउनु भयो । नेपाल कृषि प्रधान देश हो । यो देशका ८० प्रतिशत भन्दा बढी मानिसहरु कृषि पेशामा आश्रीत छन् । तर आजकल कृषि पेशा भन्ने वित्तिकै नाक खुम्च्याएर हेर्ने दृष्टिकोण नेपालीमा छंदैछ । नेपालका बौद्धिक वर्गले आफ्ना छोराछोरीलाई अरु सामुन्ने चिनाउन डाक्टर, इन्जिनियर, पाइलट, आदि भन्न मन पराउंछन् र आफ्ना छोराछोरीलाई विदेश पठाई आफ्नो शीर उच्च भएको ठान्दछन् ।
इतिहास र राजनिति शास्त्र विषयमा स्नातक पास गरेर आपनो गाउंमा फर्केर कृषि तथा पशुपालन पेशा मार्फत देशलाई चिनारी दिन सफल विरलै जन्मेका गोरखाका बहादुर, साहसी र दृढ सफल पशुपालक कृषक किसान हुनुहुन्छ राजेन्द्रराज पन्त ।
२०३० सालमा सातसय उन्नत जातका आंप र दुइसय लिची तथा एक हजार बोट केराका विरुवा लगायर कृषि पेशा सुरु गर्नुभएका पन्त पशुसेवा विभागलाई सरकारले घुसुवा वालीको रुपमा लिएको बताउनुहुन्छ । उहां भन्नुहुन्छ ?एक बालि लगाइएको ठाउंमा भए होस् नभएपनि नहोस भनेर घुसुवा बालि लगाइने गरिन्छ पशुपालनलाई पनि त्यही व्यवहार गरेको छ ।?
२०५२ साल चैतबाट सातवटा गाईबाट गाईपालन शुरु गरिएको यस गाई पालन केन्द्रमा हाल हलिस्टयान्ड फ्रिजन गाई ८० वटा, जर्सि गाई ३० वटा र टेरनटाइज प्रजातिका १२ वटा गाई रहेका छन् । धेरै दुध दिने गाईले दैनिक ३० लिटर दुध दिने र यस्ता गाईको मुल्य एक लाख भन्दा बढी पर्ने बताउंदै यी गाईहरु आफनो गाईपालन केन्द्रमा ७० वटा भन्दा बढी भएको कृषक पन्त बताउनुहुन्छ । हल्याण्ड, अमेरीका, न्युजिल्याण्ड देखि यी गाइहरु ल्याउने गरिन्छ । यो गाइलाई उच्च प्रविधिको नश्लको विर्यबाट गर्भाधान गराउने गरिन्छ । छिमेकी मुलुक भारतबाट पनि ३५ देखि ८० हजार मुल्य सम्मका गाईहरु नेपाल भित्र्याउने गरिन्छ । गाइको स्वास्थ्य सुधारको लागि मानिसको जत्तिकै व्यवस्था हुनुपर्ने पन्तको भनाईरहेको छ । तर नेपालमा पशुको लागि पनि के उपचार गर्ने भन्ने पुरानो चिन्तन अझै नहटेको उहांले बताउनुभयो ।
यस गाईफारम केन्द्रको क्षेत्रफल २५० रोपनी र घांसले ढाकेको घांसे मैदानको क्षेत्रफल २५० रोपनी गरी कुल ५०० रोपनी क्षेत्रफल रहेको छ । यस केन्द्रको हालको लागत एक करोड भन्दा बढी भएको र गाईको दुध बिक्रिबाट आएको रकम मध्ये ७५ प्रतिशत दाना, चोक्कर, स्टाफ खर्च तथा अन्य खर्च भई २५ प्रतिशत नाफा हुने गर्दछ । यस गाईपालन केन्द्रमा अहिले जम्मा १२२ गाई रहेका छन् । जसमध्ये दुध दिने गाई ७७ वटा छन् । यस केन्द्रबाट दैनिक १००० लिटर भन्दा बढी दुध पोखरामा अवस्थित पन्थी डेरीले एस.एन.एफ.र चिल्लो पदार्थको आधारमा गाइको दुध लिटरले नापेर किन्ने कृषक पन्त बताउनुहुन्छ ।
गाईपालनको निम्ति अहिले यस केन्द्रमा ११ जना स्टाफ रहेको र रुपमा बार्षिक रुपमा करिब पांच हजार मानिसले अस्थाइ रोजगारी पाउने गरेका छन् । यस गाई पालन केन्द्रमा पशुपालक कृषक राजेन्द्रराज पन्तलाई उहांका ३२ बषिर्य जेठा छोरा राजिवराज पन्त, २८ वर्षिय कान्छा छोरा राजकुमार पन्तले अरु जागिर नखाई आफनो बुबाको पेशालाई साथ दिएका छन् ।
नेपालको सबैभन्दा ठूलो र धेरै संख्यामा गाई पालेको यस कामधेनु गाई पालन केन्द्र च्याङली, गोरखा औपचारिक रुपमा दुनियां हल्लाउने दश वर्षे जनयुद्धसंग संगै शुरू भएको बताउंदै कृषक पन्त भन्नुहुन्छ माओबादीले जनयुद्ध फागुनबाट शुरु गरे मैले गाईपालन चैतबाट ।तर त्यहि कारणले यो गाइफारमलाई जनयुद्धसंग जोडेर नभएको कुरालाइ वढाइचढाइ गरेर केहि पत्रपत्रिकाले छापेकोमा पनि राजेन्द्रराजले आपत्ती प्रकट गर्नुभएको छ । विभिन्न मिडिया र पत्रिकाले आफ्नो फारमलाई नै असर पर्ने गरी समाचार सम्प्रेषण गरेकोमा खेद व्यक्त गर्नुभएको छ । साथै गोरखा जिल्लामा बसेर पित पत्रकारीता गरिराखेकाहरुलाई पत्रकारीताको काम छोड्न समेत उहांले सुझाव दिनुभएको छ । आफ्नो गाइफारमलाई कामदारको आवश्यक परेकोले आफैले उनीहरुलाई रोजगार दिने समेत उहांले बताउनुभएको छ ।
उहांलाई गाइपालन गर्दाको अवधिमा भोग्नु परेको पिडा ताजै छ । एउटा हो २०५४ सालमा १४ गाइ खोरेत रोगका कारण मरे अर्को जनआन्दोलनको समयमा करिब एक लाख ५० हजार लिटर दुध खोलामा फाल्नु पर्यो । एक हजार लिटर दुध घटेर दुइ सयमा झर्यो । आन्दोलनका समयमा त क्षतिपुर्ती दिइन्छ भनेका थिए ।
बैंकको व्याज पनि मिनाहा हुन्छ भनेका थिए तर उल्टै जरिवाना तिर्नुपर्यो कारण थियो नेताहरुको गुलामी गर्न नजान्नु उहांले दुःख मान्दै भन्नुभयो । एन.वि.ए र विभिन्न राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनु भएका राजेन्द्रराज आफुलाई विदेशीले मागेजति पारिश्रमिक दिन्छौं हिड् विदेश भन्दा पनि नगएको बताउनुहुन्छ । जति नै लोभ देखाएपनि किन जाने विदेश उहां प्रतिप्रश्न गर्नुहुन्छ । उहांलाई आफ्नो गाउं र देश छोड्ने विचार कहिल्यै आएन ।
राज्यले पशु निति राम्रो नल्याएको स्पष्ट पार्दै उत्प्रेरणा होइन हतोत्साही गर्ने गरेको उहांले बताउनुभयो । माओवादी नेता प्रचण्डले भने झैं रुदारुदै हांस्नु परेको र हांस्दा हांस्दै रुनुपरेको जस्तो छ यो पेशा ।म जहिले पनि त्यहि उक्ति सम्झन्छु राजेन्द्र राजले भन्नुभयो ।उत्पादनको लागि लगानी जरामा गर्नुपर्ने हो तर यहां हांगामा भएको छ । जरा किसान हो । किसानका लागि बैंकमा सजिलै कर्जा पनि पाईदैन, व्याज पनि महंगो तिर्नुपर्छ । तर घर बनाउन वा अन्य व्यापारीक प्रयोजनको लागि ऋण लिन जाने हो भने सजिलो, छिटो र थोरै व्याजदरमा पाइन्छ । यसबाट कृषि प्रधान देश र समग्र किसानको उपहास भएको उहांले बताउनुभयो ।
२०३८ सालमा १० भैंसीबाट जम्मा ४० लिटर दुध लिने गर्नुभएको थियो । उहांले २५० गाइपालन गर्ने उदेश्य राख्नु भएको छ । थप गाइ पालनको लागि गोठ निर्माणको कार्य भैरहेको छ ।
गोरखाका यी किसानबाट पाठ सिकेर सबैले काम गर्ने हो भने नयां नेपाल कहिले बन्ला भनेर बाटो हेरिरहनु नपर्ने प्रष्ट छ । कोही विदेश जानको लागि एकलाख खर्च गर्दै हुनुहुन्छ भने राजेन्द्रराजका छोरा राजीवको सल्लाह लिनु उचित होला । उहां भन्नुहुन्छ ?विदेश जान एक लाख लगानी गर्न सक्नेले आफ्नै देशको माटोमा लगानी गर्न किन नसक्ने ? कृषि पेशालाई घृणाको पेशा मानिएको कारण यस्तो भएको हो एक लाख लगानी गर्ने हो भने अर्को साल तीन लाख हुन्छ यही माटोमा । विदेश जान लागेका दाजुभाइहरुलाई आफ्नै देशमा केही लगानी गरेर काम गर्न सल्लाह दिन्छु, असम्भव केही छैन ।?
ammar thapa : च्याङली 3
malai dherai khusi lagyo ajhai pargatiko kamana gardachu.
RANGA NATH DAHAL : hetauda, makawanpur
bidesh ma gayara hotel, sadak, faktri ma kam garera mashik 600 to 1200 diram khayara ma lahure bhanne haru lai 1 patak yes cow farm hearna aanurodh gar6u.......
राज : गाेरखा
la la mohodaya, Congratulation.... dherai dam earn garera sansar lai nai chakit tulaynus