​रित्तै काठमाडौं छिरेका उनको बाटो यसरी मोडियो

२०७१ माघ ४ गते, आईतवार ०७:१०:०६ बजे
विनोद ढकाल 
काठमाडौं, ३ माघ – उच्चमाविमा पढ्ने एक सय ५० विद्यार्थीलाई दुई वर्ष छात्रवृत्ति दिएपछि गोरखाका प्रकाशचन्द्र दवाडीले अर्को योजना घोषणा गरे– सबै उच्च मावि र क्याम्पसमा लेखा विषयको किताब निःशुल्क दिने । 

यस वर्ष जिल्लाका सबै उच्च माविका पुस्तकालयमा १० वटासम्म लेखा विषयको किताब दिने योजना उनले सुरु गरिसकेका छन् । ‘मैले पढ्दाखेरि भोगेको पीडा मेटाउन खोजेको हुँ’ उनी भन्छन्, ‘हामीले जस्तो दुःख अहिलेका भाइबहिनीले भोग्नु नपरोस् ।’ 

२०६६ सालदेखि गोरखामा विद्यालयको भवन निर्माण, छात्तवृत्ति वितरण, शैक्षिक सामग्री सहयोग गर्दै आएका दवाडीले सहयोगका बारेमा यत्ति भने, ‘मेरो कमाईको १० प्रतिशत सामाजिक काममा लगाउने गरेको छु । मैले शिक्षा लिन समस्या भोगेकाले त्यसमा नै फोकस गरेको हुँ ।’ 
अहिलेसम्म उनले गरेको सहयोगको फेहरिस्त लामो छ । ‘सबै सम्झना गर्न गाह्रो छ, श्रीनाथकोटमा दुई कोठे आरसीसी भवन बनाएँ, गाविस, जिविसले केही रकम छुट्याएका २० वटा जति सडकमा पैसा थपिदिएँ,’ शुक्रबार बिहान चक्रपथसँग गफिदै उनले भने, ‘महिला समूह, युवा क्लबको भवन निर्माणमा सहयोग गरेँ, अनि बिरामी परेकाहरुलाई उपचारमा सहयोग गर्ने गरेको छु ।’ 

उनले अहिलेसम्म करोड रुपैयाँभन्दा बढी सहयोग गरिसकेका छन् । तर उनी यसबारे केही भन्दैनन् । ‘मैले अझै धेरै गर्नु छ, यति उति भनेर प्रचार होस् भन्ने चाहना छैन,’ उनले ठट्टा गर्दै भने, ‘सबै हिसाब गर्ने हो भने घर झगडा हुन्छ ।’ 

यति धेरै रकम कसरी कमाए उनले ? 

गोरखाको सिम्जुङ गाविस ४ को सामान्य परिवारमा जन्मेका उनी । एसएलसी पास गरेपछि घरबाट रित्तै काठमाडौं आएका हुन्, काठमाडौंमा केही जागिर खाँदै पढ्नुपर्ला भनेर । ‘त्यो बेलाको क्षण त धेरै दुःखपूर्ण थियो,’ उनले २०५० सालको त्यो समय सम्झिए, ‘घरबाट ल्याएको चामल सकिएपछि १७–१८ छाक पाउरोटी मात्रै खाएको छु भन्दा अहिले मान्छेले पत्याउँदैनन् ।’ 

अभावकै बीच उनले ठमेलको एक हस्तकला सामग्रीको पसलमा काम पाए । दिनभरि सामान बेच्थे, बिहान क्याम्पस पढ्थे । १६ वर्षअघि उनको जीवनमा यस्तो क्षण आयो त्यसपछि उनको बाटै मोडियो । 

ठमेलको पसलमा काम गर्दा चिनेका एकजना जापानी नागरिकले उनलाई जापान लैजाने भए । एक महिने पर्यटक भिसामा जापान जाँदा उनले बोक्न सक्ने जति हस्तकलाका सामान, गार्मेन्ट र गरगहना लिएर गए । 

जापानीले आफ्नो पसल नजिकै छेउमा सामान राखेर बिक्री गर्ने व्यवस्था मिलाइदिए उनका लागि । केही दिनमा नै त्यो सामान बिक्री भयो, कमाई भएछ ९ लाख रुपैयाँ । उनी त्यो रकम लिएर सामान किन्न फेरि नेपाल फर्किए । एउटा पसलभरि सामान राखे । त्यसको बिक्रीबाट ४८ लाख रुपैयाँ कमाई भयो । फेरि त्यो पैसाको सामान किनेर लगे । 

त्यसपछि उनको पसल यसरी बढ्यो कि पहिले एउटा छेउमा राखेको पसल एक, दुई हुँदै १२ वटासम्म पुग्यो । सन् २००२ मा हो उनले धेरै पैसा कमाएको । ‘त्यो बेला त अचम्मै भयो,’ उनलाई नै पत्याउन गाह्रो पर्नेगरी भएछ, ‘जे राखे पनि बिक्री हुन्थ्यो, नाफाको दर पनि धेरै थियो ।’ 
दवाडीले आफ्नो चलिरहेको पसल नै अर्काे नेपालीलाई बिक्री गरिदिए र फेरि नेपालबाट सामान लगेर अरु पसल राखे । ‘त्यो तीन–चार वर्षको बीचमा मेरो व्यापार धेरै राम्रो भयो, त्यसकै बेसमा अहिलेसम्म चलिरहेको छु,’ दवाडीले आफ्नो सफलताको कथा सुनाए । 

उनले नेपालबाट मात्र नभई थाइल्याण्ड, भारत, भियतनामलगायतका देशबाट हस्तकलाका सामान, गार्मेन्ट, गहना र ढुंगाबाट बनेका सामान संकलन गरेर जापानमा बेच्थे । १२ वटा पसल पुर्‍याएपछि भने उनले सोचे– अब धेरै हौसिनु हुँदैन । 

‘मान्छेले आफू के थिएँ भनेर सोच्दैन, माथिमात्र देख्छ,’ उनले आफ्नो हैसियतमा सम्झिए, ‘तर मैले फर्केर पछाडि हेरेँ र नेपाल फर्किएँ, जापान पूरा समय बस्न मन लागेन ।’ त्यसपछि धेरै राम्रो अवस्थामा चलेका चारवटा मात्र राखेर अरु पसल बेचिदिए उनले । अनि नेपाल आउने जाने क्रम पनि बढाए । 

उनले आर्जन गरेको धनको केही प्रतिशत सामाजिक काममा लगाउन थाले । नेपालमा पनि व्यवसाय गर्न थाले । चितवनमा ३ बिघामा कृषिफार्म राखेका छन्, अस्पताल र विद्यालयमा लगानी गरेका छन् । 

नेपाल र जापानको व्यवसायका बारेमा जिज्ञासा राख्दा उनले हास्दै भने, ‘आकाश–पाताल फरक छ, जापानमा सिष्टम छ, त्यसैले म जहाँ बसेपनि सिष्टम फलो भइरहेको हुन्छ, तर यहाँ सिष्टम छैन, यहाँ उसले काम गरेको छैन, म मात्र किन गर्ने भन्ने सोचाई छ ।’ 

चितवनको टाँडी नजिकैको फार्ममा माछा, कुखुरा, बुंगुर र बाख्रापालन गरेका छन् । जापान हुँदैमा ६ वर्षअघि सुरु गरेको उनको फार्ममा १६ जनाले काम गर्छन् । उनले सामाजिक काममा खर्च गरेको रकमबारे उनको जिल्ला गोरखामा धेरै चर्चा हुन्छ । तर उनी भन्छन् ‘म सँग त के छ र धेरै धनी मान्छेहरु छन्, मैले मात्र गरेर हुने पनि केही होइन ।’ 



धेरै डाक्टर इन्जिनियर व्यापारीले आफू जन्मेको गाउँमा सहयोग गर्ने हो भने गाउँको अवस्था फेरिने उनको भनाई छ । ‘मेरै गाउँका धेरै डाक्टर इन्जिनियर, व्यापारीहरु छन्, उनीहरुले वर्षको एक दिन मात्रै आफू जन्मेको गाउँका लागि दिए भने गाउँको विकास हुन्छ,’ दवाडी भन्छन् । 

डाक्टरले स्वास्थ्य शिविर चलाउन सक्छन्, इन्जिनियरले ग्रामीण सडक निर्माणको तरिका सिकाउन सक्छन् । ‘वौद्धिक सर्कलका मान्छेहरु सहरमा यो जानेको छु, त्यो जानेको छु भनेर गफ दिन्छन्, त्यो काम एक दिन भए पनि गाउँमा गरिदिए कति फाइदा हुन्थ्यो,’ उनी भन्न्छन् ।



आफूले गरेको सामाजिक कामको रकम दुरुपयोग नभएको उनी बताउँछन् । ‘मेरो कामबाट कसैले धेरै फाइदा लिएका होलान्, अलिअलि चुहावट त भइहाल्छ, तर मुख्य काम बिग्रेको छैन’ उनी भन्छन् । अहिले उनलाई सहयोगका लागि धेरै विद्यालय, युवा क्लब, महिला समूह आदि क्षेत्रबाट माग आउँछ । धान्नै नसक्ने गरी माग आउँछ,’ दवाडी भन्छन्, ‘म अग्रज वुद्धिजीविसँग सल्लाह गर्छु, अनि कहाँ सहयोग गर्ने निर्णय गर्र्छु ।’ 

सामाजिक काम गदागर्दै राजनीति गर्ने उनको सोचाई छ । ‘मेरो लागि सामाजिक काम र राजनीति एकै हो, राजनीति गर्ने पनि समाजकै लागि हो, आफुमात्रै बन्न त राजनीति गर्ने होइन, समाजकै लागि हो’ दवाडी भन्छन् । उनको बुझाईमा राजनीतिको मुख्य उद्देश्य पनि समाजसेवा हो । ‘मैले गर्ने सामाजिक काममा कसैलाई विभेद गर्दिन, छात्रवृत्तिमा वा अरु सहयोगमा म यो पार्टी उ पार्टी भनेर छुट्याउँदिन,’ नेपाली कांग्रेसमा आबद्ध उनी भन्छन् ‘तर राजनीतिक रुपले सोच्दा त्यसमा फरक पर्न सक्छ ।’ 

साभार चक्रपथ
यसमा तपाईको प्रतिक्रिया