बिना अपराध साढे १४ बर्ष भारतीय जेलमा बिताएका नेपालीको कथा भूपालमान दमाई उर्फ युसुफ नेपाली

२०७१ मंसिर ३ गते, वुधवार ०८:४५:१३ बजे
भूपालमान दमाई उर्फ युसुफ नेपालीको पक्राउ, यातना र जेल जीवनको खुलासा


Bhupal_Damai
भूपालमान दमाई उर्फ युसुफ नेपाली । तस्विर : रवि मानन्धर/नेपाल

काठमाडौ, मंसिर २ - १९ कात्तिकको मध्याह्न। काठमाडौँको गौशालास्थित होटल महाराजानजिकै एक जना अधवैँशे दुवै खुट्टा फैलाएर सडकमा लम्पसार थिए। हातले पछिल्तिरका फलामे डन्डीको बारमा पक्रिएका उनको एक छेउमा बेमतलबसँग फालिएको झोला थियो। पसिनाले निथु्रक्क अनुहार बनाएका उनको एक घुट्को पानी पिएपछि मात्र वाक्य फुट्यो, "चक्कर आइरहेको छ।" लगत्तै उनले तीनपटक बान्ता गरे।

रिँगटा लागेर सडकमा ढलेका यी व्यक्ति थिए, साढे १४ वर्ष भारतीय जेलमा बिताएपछि निर्दोष ठहरिएका भूपालमान दमाई उर्फ युसुफ नेपाली, ५२। ९ पुस ०५६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँ दिल्लीका लागि उडेको इन्डियन एयरलाइन्सको आईसी-८१४ विमान अपहरणको त्रासदीपूर्ण घटनामा सहयोग गरेको अभियोगमा भूपालमानले आफ्नो जीवनको उर्वर समय भारतको जेलमा बिताउनुपर्‍यो। ३८ वर्षको उमेरमा जेल परेका उनी १४ वर्ष ७ महिनापछि निर्दोष साबित भए र २२ चैत ०७० मा मुक्त भएका हुन्।

उनलाई अपहरणकारीलाई बन्दोबस्ती सहयोग र हतियार उपलब्ध गराएको आरोपमा १५ पुस ०५६ सालमा मुम्बईबाट पक्राउ गरिएको थियो। पक्राउपछि उनीमाथि विमान अपहरणका लागि खर्च जुटाउन बैंक र कार चोरीको अभियोगसमेत लगाइएको थियो। अढाई दशक पन्जाबको पटियाला र मुम्बईको आर्थर रोड जेलमा बिताएपछि भूपालमानलाई पन्जाब-हरियाणा उच्च अदालतले निर्दोष त ठहर्‍यायो तर यतिन्जेल उनको सब थोक गुमिसकेको थियो।

लामो समय भारतीय जेलमा बसेकाले होला, उनको लबज भारतीयको जस्तै बनिसकेको छ। शारीरिक र मानसिक यातना र प्रताडनाले खाएको शरीर जीर्ण छ। उमेरभन्दा निकै पाको। रोगको भकारी। खानेबस्ने बन्दोबस्त छैन। आफ्नो जीवन बर्बाद भएकामा उनी निराश र हतास छन्। कुनै कुरा सोध्यो भने केही बेर घोरिन्छन् र ढिलो गरी जवाफ फर्काउँछन्। छाती बेस्सरी पोल्छ। आधा घन्टा हिँड्यो भने खुट्टा दुखेर पाइला सार्नै सक्दैनन्। युरिक एसिड, अल्सर, मधुमेहजस्ता रोग उनका साथी बनेका छन्।

बिनाअपराध विदेशी जेलमा बसेर निस्कँदा उनका पक्षमा आज कोही मानव अधिकारवादी, नागरिक समाज वा राजनीतिकर्मी बोलिरहेका छैनन्। तिनै गुमनाम भूपालमान नेपालको लामो प्रयासपछि आफ्नो अलपत्र जीवनबारे बोल्न राजी भए।

यी हुन् भूपालमान

बिन्जेल-५, सिन्धुपाल्चोकको एक गरिब परिवारमा जन्मिएका हुन्, भूपालमान। उनी ११ वर्षको छँदा परिवारले मुस्लिम धर्म अपनायो। त्यसपछि भूपालमान युसुफ नेपाली भए। तर, नागरिकता भने भूपालमान दमाईकै नाममा छ। भारतमा भूपालमानलाई युसुफ नेपाली भनेरै सार्वजनिक गरिएको थियो।

गरिबीकै कारण भूपालमानको पढाइ ७ कक्षाभन्दा अघि बढेन। पढाइ छाडेर राजधानी आए। केही समय ज्यालादारी काम गरे। पछि बागबजारमा चियानास्ताको सानो होटल थाले।

होटलबाट मात्र पाँच जनाको परिवारको गुजारा नचल्ने भएपछि समयसमयमा सुन्धारा, असन, कमलादी, कालीमाटीजस्ता मुख्य बजार र चोकमा पुगेर फुटपाथमै कपडा र जुत्ताचप्पल बेच्ो । पसलका गोदामबाट उठाइएका यस्ता सामान खासमा मिति गुजि्रएका हुन्थे। "दोकानमा नचलेर गोदाममै थन्क्याइएका सामान हामी फुटपाथमा बेच्थ्यौँ," भूपालमान सम्झन्छन्। होटल श्रीमतीको जिम्मामा हुन्थ्यो। भारी बोक्ने काम पाउँदा त्यही गर्थे। भन्छन्, "पिठ्यूँमा भारी बोकेर बनेपासम्म जान्थेँ।"

जहाँबाट मोडियो यात्रा

उनको होटलमा एक नियमित ग्राहक थिए। पाकिस्तानमा पठित ती मंगोल मुस्लिमसँग अरू दुई जना पनि आउजाउ गरिरहन्थे। कुराकानीकै क्रममा ती नेपाली मुस्लिमले भूपालमानलाई भारतको मुम्बई गए यहाँभन्दा गतिलो होटल मिल्ने देखाए। उनी बारम्बार भन्थे, मुम्बईमा होटल चलाएर मासिक ६०-७० हजार रुपियाँ भारु आरामले कमाइ हुन्छ। बागबजारमै घर भएका, परिचित व्यक्ति। आफ्नो भलो हुने कुरा। धौधौसँग परिवार चलाउनुपरेको पीडाले उनलाई थिचेको थियो। मनै त हो, लोभियो। उनी भन्छन्, "यता मेरो होटलमा मासिक १० हजार रुपियाँको व्यापार पनि हुँदैनथ्यो। ५०/६० हजार रुपियाँ कमाइ हुने भएपछि मुम्बई जान मन लाग्यो।"

भूपालमान ३० हजार भारतीय रुपियाँ बोकेर मुम्बई हिँडे। गोरखपुर हुँदै ५० घन्टाजतिको यात्रा गरेर मुम्बई पुगे। भूपालमान मुम्बई सहर त पुगे तर त्यो नयाँ दुनियाँमा चिनेको कोही थिएन। त्यो महँगो सहरमा होटल गरेर बस्ने त उनले सोच्नै सकेनन्। काठमाडौँको होटल अरूलाई नै एक वर्षका लागि जिम्मा लगाएर गएकाले र्फकन पनि सकेनन्। त्यहीँ कपडा किनेर फुटपाथमा बेच्न थाले। "प्रतिरात १५/२० भारु तिरेपछि बस्न पाइने खोलीहरू पाइँदो रहेछ," उनी भन्छन्, "त्यहीँ बस्न थालेँ।" दिनभरि फुटपाथमा लत्ताकपडा बेच्नु, राती खोलीमा सुस्ताउनु उनको दैनिकी बन्यो।

अँध्यारो जीवनको अध्याय

१५ पुस ०५६ को मध्याह्न। मुम्बई पुगेको १५-२० दिन मात्रै भएको थियो। उनी फुटपाथमै सामान बेचिरहेका थिए। मुम्बई प्रहरीको क्राइम ब्रान्चले थानामा काम छ भन्दै नियन्त्रणमा लिएर बोरिवली थानामा पुर्‍यायो। २० पुस ०५६ मा पत्रकार सम्मेलन गरी प्रहरीले भूपालमानलाई जोगेश्वरी, मुम्बईको अपार्टमेन्टबाट विस्फोटक पदार्थ र घातक हतियारसहित पक्राउ गरेको सूचना सम्पे्रषण गर्‍यो। ती सामान आतंककारी गतिविधिमा प्रयोग भएको हुन सक्ने प्रहरी आशंका थियो।

काम छ भन्दै लगेको प्रहरीले उल्टै गम्भीर आरोप लगाएपछि भूपालमान भीरबाट खसेजस्तै भए। "मेरो त दिमागै फनफनी घुम्यो। केही समझमा आउन सकेन," उनी भन्छन्। होस खुल्दा उनको हातमा हत्कडी थियो। उनकै शब्दमा, थाना पुग्नेबित्तिकै प्रहरीले पहिल्यै तयार गरिएको कागजमा हस्ताक्षर गर्न भन्यो। उनले कागजमा लेखेको विवरणबारे सोधे। जवाफमा कुटाइ मात्र पाए। प्रहरीले दुवै कानमा फलामको रड घुसाएर करेन्ट लगाइदिए। "घुरुर्र दुवै कानमा करेन्ट लगाउँदा दिमाग नै सर्ट भएजस्तो भयो," चार-पाँचचोटि यसरी करेन्ट लगाएको स्मरण गर्दै उनी भन्छन्, "त्यसपछि मैले औँठाछाप लगाएँ।" अहिले दुवै कानको श्रवणशक्ति कमजोर छ। कानमा सुनिने उपकरण राखेर मात्रै सुन्न सक्छन्।

भूपालमान हिन्दी पढ्न सक्दैन थिए। ल्याप्चे लगाएपछि मात्रै पत्तो पाए, बैंक र कार डकैतीको आरोपपत्र रहेछ त्यो। जहाज अपहरणमा रकम जुटाउन मुम्बईमा बैंक र कार चोरिएको प्रहरीको आरोप थियो। "म तीन छक परेँ," लामो श्वास तानेपछि उनी भन्छन्, "हामीले जे भन्छौँ, खुरुखुरु औँठाछाप लगा भन्यो, नमाने कुट्थ्यो।"

भारतीय प्रहरीले केही महिना मुम्बईको आर्थर रोडस्थित जेलमा राख्यो। चार महिनापछि उनलाई दिल्ली पुर्‍याइयो, सेन्ट्रल ब्युरो अफ इन्भेस्टिगेसन -सीबीआई)को मुख्यालय। सीबीआईले विमान अपहरणको घटना अनुसन्धानको नेतृत्व लिएको थियो। त्यहाँ पनि पहिलेजस्तै भूपालमानलाई तयारी कागजपत्रमा हस्ताक्षर गर्न लगाइयो। सीबीआईको हेडक्वार्टरमा उनलाई अँध्यारो कोठामा एक्लै राखियो। हस्ताक्षर गर्न माथिल्लो तलामा जाँदा मात्रै दिन या रात थाहा हुन्थ्यो। नभए २४ घन्टा नै अँध्यारोमा। "कुनै कागजमा हस्ताक्षर गराउनुपर्‍यो भने मात्रै माथि बोलाउँथे," उनी सम्झन्छन्।

मुद्दा अदालतमा दायर हुँदासम्म उनीमाथि अरू आरोप थपिए। विमान अपहरणकारीलाई काठमाडौँमा कोठा खोजिदिएर र हतियारको बन्दोबस्त गरिदिएर अपहरण योजनामा सामेल भएकोे अभियोग लगाएर सीबीआईले मुद्दा दर्ता गरायो, जिल्ला अदालत पटियाला हाउसमा। "त्यतिबेलासम्म मलाई हाइज्याक र अपहरण भन्ने कुरा नै थाहा थिएन," भन्छन्, "जुन कुराको मलाई छेउटुप्पो थाहा छैन, त्यही आरोप लाग्यो।"

उनले दुईवटा जेलको अनुभव लिए, आर्थररोड जेल, मुम्बई र सेन्ट्रल जेल, पटियाला। सुरुमा करिब तीन महिना र पछि साढे तीन वर्ष आर्थर रोड जेलमा बसे। बाँकी ११ वर्ष पटियाला जेलमा। मुम्बईमा पटियालामा भन्दा बढी दुःख पाएको उनको अनुभव छ। पटियाला जेलमा विमान अपहरणकै अरू दुई अभियुक्त पनि थिए। उनका भनाइमा, यस मुद्दाका सबै अभियुक्तलाई अलगअलग राखिएको थियो। र, सुनुवाइसमेत जेलभित्रै गरिएको थियो। "हाम्रा लागि जेलभित्रै बहस हुन्थ्यो," उनले भने, "मिडियालाई समेत त्यसबारे थाहा हुँदैनथ्यो।"

केही गल्ती नगरेकाले एक दिन छुटिएला भन्ने आशा थियो, उनमा। आशैआशमा साढे १४ वर्ष जेलमै बिताए। ती साढे १४ वर्ष उनलाई साढे चार सय वर्षजस्तो लागिरहेछ। "ती दिन अहिले सम्भिmन पनि सक्दिनँ। जीउमा काँडा उम्रेजस्तो हुन्छ," पीडामिश्रति स्वरमा उनी भन्छन्।

जेलमै मृत्युको चिट्ठी

जेल बसेको करिब सात वर्षसम्म घरपरिवार कसैले सम्पर्क गरेनन्। एकपटक साला भेट्न गएबाहेक आफन्त, परिवार, इस्टमित्र सबैसँग सम्पर्क छिनिसकेको थियो। जेल परेको करिब पाँच वर्षपछि भेट्न पुगेका सालाबाटै उनले सुने, श्रीमती अर्कैसँग हिँडिन्। छोराछोरी सम्पर्कमा छैनन्। परिवार बर्बाद छ। यस्तो खबरले जेलमै भक्कानिए। "दुःख पर्दा कोही कसैले हेर्दैन रहेछ," उनी भावुक बने।

जेल परेको कति वर्ष भयो भन्ने पनि उनलाई ख्याल हुन छाडिसकेको थियो। उनका वकिलले यति समय भयो भन्दा मात्र उनको मुखबाट निस्कन्थ्यो, 'ओहो !' सात वर्षपछि जस्तो लाग्छ उनलाई, एक्कासि घरबाट चिट्ठी आयो, 'जेठा, उपचार नपाएरै तेरी आमाले संसार छाडिन्।' चिट्ठी कसले लेखेको थियो भन्ने पनि नपढी उनले एकातिर थन्क्याइदिए। "मलाई ऐँठन भयो। के गरूँ र कसो गरूँ भयो," यति भन्दै उनको स्वर पनि मलिन भयो।

मर्ने बेलामा आमाको मुख हेर्न नपाउनु भूपालमानलाई जीवनकै सबैभन्दा खट्किने बोझ बनिरहेको छ। "छोरा घरमै बस् भन्नुहुन्थ्यो। आमाको छायाँ एक महिनासम्म घुमिरह्यो। धेरै समय म एक्लै जेलभित्र रोएरै बिताएँ," यति भन्दा उनका आँखा रसाइसकेका थिए ।

आजीवन कारावास

बन्दी बनेको आठ वर्षपछि उनलाई आजीवन कारावासको सजाय सुनायो, पटियाला हाउस कोर्टले। २२ माघ ०६४ मा यो सजाय सुनाउँदा उनी अदालतमै थिए। अन्य अभियुक्त, जो भारतीय नागरिक हुन्, दिलीपकुमार भुजेल र अब्दुल लतिफलाई पनि आजीवन कारावासकै सजाय सुनाइएको थियो। "म पागलजस्तै भएँ। अब परिवार, नातागोता, इस्टमित्र कसैलाई पनि भेट्न नपाउने भएँ भनेर भक्कानिएँ। रिँगटा लाग्यो, ब्रह्मान्ड नै घुमेजस्तो भयो," फैसलाबारे बताइरहँदा भूपालमानका आँखा रसाइरहेका थिए, "घरबार बर्बाद भयो भनेर छटपटाएँ। गल्तीबिनै यति कठोर सजाय पाउँदा के हुन्छ ?"

२० दिनसम्म त उनले पानीबाहेक केही खाएनन् रे ! दुब्लाए । दिनरात रोइरहे। निद्रा लाग्न छाड्यो। "ए बाबा, मैले त केही अपराध गरेकै छैन। किन भगवान् पनि यति कठोर भएका होलान् भन्ने लाग्यो," उनी भन्छन्, "विष खाएर मर्नु पनि भएन। जिन्दगी यस्तै रहेछ भनेर चित्त बुझाएँ।"

न्यायको खोजी

आजीवन कारावासको सजाय सुनाइएपछि उनले वकिलमार्फत न्याय खोज्ने विचार गरे। तर, पैसा नभएकाले वकिल राख्न सकेनन्। त्यसपछि नेपाल सरकारले पहल गरे मुक्ति पाइएला कि भन्ने आशमा दिल्लीस्थित नेपाली दूतावासमा चिट्ठी पठाए, 'म नेपाली नागरिक। भारत सरकारले विमान अपहरणको आरोपमा जीवनभर जेल बस्नुपर्ने फैसला सुनाएको छ। तर, निर्दोष छु। मेरो वकिल छैन। वकिल राख्ने पैसा पनि छैन। सरकारले मेरो पैरवी गरेर बाहिर निकाल्न सहयोग गर्नुपर्‍यो।' तर, दूतावासले त्यसको जवाफै दिएन।

नेपालले बेवास्ता गरेपछि भूपालमानले भारत सरकारले कमजोर आर्थिक अवस्था भएका बन्दीहरूका लागि दिने वकिलको साथ लिए। पन्जाब र हरियाणा उच्च अदालतमा उनले आफू निर्दोष भएको भन्दै पुनरावेदन गरे। त्यही बीचमा बैंक र कार डकैतीको मुद्दामा मुम्बई अदालतबाट सफाइ पाए। तर, के गर्नु ? विमान अपहरण अभियोगमा आजीवन कारावासको सजाय उनी भोगिरहेकै थिए।

अन्ततः फागुन ०७० मा पन्जाब-हरियाणा उच्च अदालतबाट अपहरणमा सघाएको अभियोगबाट पनि सफाइ पाए। 'सीबीआईले विमान अपहरणमा संलग्न भएको प्रमाण दिन सकेन,' टाइम्स अफ इन्डियाको २६ फेब्रुअरीको अनलाइन संस्करणमा उच्च अदालतको फैसला उद्धृत गर्दै लेखिएको छ । भूपालमान भने अदालती आदेशको एक महिनापछि रिहा भए । मुक्तिको कामना गर्दै जीवनको उर्वर अवधि जेलमा बिताएका उनलाई उच्च अदालतको सफाइको फैसलाले भने त्यति दंग बनाएन रे ! किनभने, साढे १४ वर्षमा उनले गुमाउन बाँकी केही थिएन। "किस्मतमा जे थियो त्यही भयो," पन्जाबी लबजमा उनी भन्छन्, "उपरवालाको खेल हो सबै।"

बेखर्ची भूपालमानलाई पटियाला जेल प्रशासनले भारतका जुनसुकै ठाउँ गए पनि २४ घन्टाका लागि निःशुल्क यात्रा गर्न पाउने गरी हातमा छाप लगाएर रिहा गरेको थियो। "छाप लगाइदिएको थियो," दाहिने नाडी देखाउँदै उनले भने, "तर, मैले बाहिर निस्किएर मेटाइदिएँ। जेल बस्दा साथी बनेकाहरूले आपसमा उठाएर ६ हजार रुपियाँ बाटोखर्च दिए। त्यही रकमले दिल्ली हुँदै बसमा काठमाडौँ आएँ।"

काठमाडौँ झरेपछि उनी ठमेलमा एक जना साथीको घरमा बसे। भूपालमान आफ्नो जन्मथलो बिन्जेल पनि पुगे, काठमाडौँ आउनासाथ। उनले त्यहाँ झन् आफ्नोभन्दा बेसी दुःख देखे। ७३ वर्षका वयोवृद्ध बाबु एक वर्षअघि गाडीले किचेर हातखुट्टा नचल्ने भएका छन्। कान्छो भाइ विदेशतिर हिँडेछन्। माइलो भाइ गाडी चलाउँछ भन्ने खबर पाए। तर, भेट हुनु त परै जाओस्, फोनमा कुराकानी पनि भएको छैन। "बा हिँडडुल गर्न सक्नुहुन्न। उपचार गरौँ भने आफ्नै गाँसबास अलपत्र छ। बाको दुःख हेर्न सकिनँ र काठमाडौँ फर्किएँ," उनी बाध्यता सुनाउँछन्।

भगवान्को इच्छा र आफ्नो भाग्यले दुःख पाएको ठान्ने भूपालमानले काठमाडौँ आएर चार महिना तीर्थव्रतमा बिताए। पूर्वदेखि पश्चिमका विभिन्न मस्जिद डुले। थुपै्र रात व्रत बसे। तर, उनको दुःखको पहाड भने दिनदिनै अग्लिरहेको छ।

क्षतिपूर्ति: जिउने एक मात्र आशा

शरीरभरि रोग र मनभरि पीडा बोकेका भूपालमानको अबको एक मात्र आशा क्षतिपूर्ति रहेको छ। निर्दोष साढे १४ वर्ष जेलमा बिताएबापत भारत सरकारले क्षतिपूर्ति दिनुपर्ने उनको माग छ। तर, उनले कानुनी प्रक्रिया अगाडि बढाउने मेसो पाएकै छैनन्। कानुन व्यवसायी राख्न खर्च छैन। कसैले न्यायका लागि लडिदेला भन्ने आशा पनि छैन। परिवार, आफन्त, घर, समाज सबै गुमाए। शरीर छियाछिया भयो। मानसिक यातना र पीडाको कुनै हिसाब छैन। छातीको बायाँतर्फ हात राख्दै उनी भन्छन्, "तर, यहाँभित्र लागेको चोटको कसले हिसाब गर्छ ? कसले निको पार्न सक्छ ? बिनाकसुर जेलमा कोचियो। निर्दोष पनि भन्यो। तर, केही नदिई पठायो। त्यो अवधिको मेरो जीवनको बर्बादीको शोधभर्ना कसले गर्ने ?"

के थियो घटना ?

०५६ पुस ९ गते, बेलुका ४ः४५ बजे। इन्डियन एयरलाइन्सको आईसी-८१४ जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँबाट भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलका लागि उड्यो। उडेको करिब २५ मिनेटपछि आतंककारीहरूको अपहरणमा परेको उक्त विमान भारतको अमृतसर, पाकिस्तानको लाहोर, संयुक्त अरब इमिरेट्सको दुबई अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अफगानिस्तानको कान्दाहार पुर्‍याइएको थियो। विमानमा १ सय ७६ जना यात्रु र १५ जनाको चालक दल थियो। हर्कत-उल मुजाहिद्दिन नामक इस्लामिक आतंकवादी समूहले भारतीय जेलमा रहेका आफ्ना उच्च तहका नेता तथा कमान्डर छुटाउनका लागि यो विमान अपहरण गरेको थियो।

अपहरणकारीले विमान लखनउको आकाशबाट सोझै लाहोर पुर्‍याउन खोजे पनि पर्याप्त इन्धन नभएकाले अमृतसरमा अवतरण गराइयो। तर, भारतीय सुरक्षाफौजको हस्तक्षेपका कारण अमृतसर विमानस्थलमा तेल भर्न नसकेपछि पर्याप्त इन्धनबिनै जोखिम मोलेर पाकिस्तानको लाहोर विमानस्थल लगियो। सुरुमा लाहोरमा अवतरणको अनुमति दिन अस्वीकार गरिएको थियो। तर, पछि अवतरणको अनुमति दिइएको थियो।

काठमाडौँबाट उडेको पाँच घन्टापछि लाहोरमा इन्धन भरेर विमानलाई दुबई लगियो। दुबईमा पश्चिमा मुलुकका २७ यात्रुलाई छाडियो। त्यहीँ रुपिन कटियाल नामक यात्रु अपहरणकारीको छुरा प्रहारबाट मारिए। उनको शव पनि त्यहीँ छाडियो। त्यसपछि विमान कान्दाहारतिर उड्यो। कान्दाहार त्यतिबेला तालिवानी लडाकूको नियन्त्रणमा थियो। तालिवानी अधिकारीहरूले नै भारतीय अधिकारीहरूसँग विमान सकुशल मुक्त गराउनेबारे मध्यस्थताको भूमिका निर्वाह गरेका थिए। अन्ततः भारत सरकार आतंकवादी गतिविधिमा लागेको आरोपमा आफ्नो जेलमा रहेका मौलाना मसुद अजहर, अहमद ओमार सइद शेख, मुस्ताक अहमद जरगारलाई छोड्न राजी भयो र बदलामा सबै यात्रु सकुशल रिहा भए। मसुद हर्कत उल मुजाहिद्दिनका नेता थिए भने पाकिस्तानी मूलका बेलायती नागरिक सइद मुजाहिद्दिन र अलकायदाजस्ता आतंकवादी संगठनसँग सम्बन्ध बनाएका व्यक्ति थिए। जरगारले अलउजार मुजाहिद्दिन नामक संगठन चलाएका थिए। तीनै जनालाई छुट्टाछुट्टै अपहरण र हत्याको मुद्दामा भारतीय जेलमा राखिएको थियो। तीनै जनालाई विशेष विमानमा राखेर तत्कालीन भारतीय गृहमन्त्री जसवन्त सिंह कान्दाहार पुगेका थिए। र, बन्धक यात्रुलाई सोही विमानबाट भारत फिर्ता ल्याइएको थियो।

भारतको सेन्ट्रल ब्युरो अफ इन्भेस्टिगेसन (सीबीआई)ले विमान अपहरणबारे अनुसन्धान गरी अपहरण काण्डमा संलग्न भन्दै १० जनाको नाम सार्वजनिक गर्‍यो। तीमध्ये भारतीय नागरिकद्वय अब्दुल लतिफ र दिलीपकुमार भुजेल, नेपाली नागरिक भूपालमान दमाई -युसुफ नेपाली) छुट्टाछुट्टै पक्राउ परे। पक्राउ परेका तीनै जनालाई पन्जाबको पटियाला हाउस कोर्टले सन् २००८ मा आजीवन कारावासको सजाय सुनाएको थियो। तीमध्ये दमाई र भुजेललाई पन्जाब-हरियाणा उच्च अदालतले निर्दोष भन्दै १४ वर्षपछि रिहा गरिसकेको छ। लतिफविरुद्ध मृत्युदण्डको माग राख्दै उच्च अदालतमा मुद्दा दायर गरिएको थियो। अदालतले मृत्युदण्डको सजायचाहिँ अस्वीकार गरेको छ र उनी कारावासको सजाय भोगिरहेका छन्। सन् २०१२ मा जम्मु कश्मीरबाट विमान अपहरणका अर्का अभियुक्त मेहराजुद्दिन डाँड पक्राउ परे। उनीमाथि पनि अपहरणमा बन्दोबस्तीको सहयोग गरेको आरोप छ। बाँकी ६ जना भने फरार छन्, जसमध्ये पाँच जना अपहरणकारी भनिएका छन्। इब्राहिम अथर (मसुद अजहरका भाइ), सन्नी अहमद कजी, जहुर इब्राहिम, डाक्टर भनिने सइद अख्तर सइद, मोहम्मद शाकिर, युसुफ अजर र अब्दुल रउफ फरार छन्।

-@ नेपाल साप्ताहिक

 

 

साभार ई कान्तिपुर
यसमा तपाईको प्रतिक्रिया