एउटै खुट्टा काफी

२०७१ पुस १९ गते, शनिवार ११:३२:०१ बजे

शम्भु कट्टेल

 
फोटो :विकास कार्की
सात वर्षअघि माघ २३ गते। नीलम ढुंगानाका लागि कहालीलाग्दो बनेर आयो त्यो दिन। सेन्टअप परीक्षा दिँदै गरेको समय थियो त्यो। अनि दुई महिनाअघिमात्रै वैवाहिक बन्धनमा बाँधिएर आँखामा भविष्यका सुन्दर सपनाहरू साँचिरहेको क्षण। 
 
सेन्टअप परीक्षा दिन हिँडिरहेका बेला मोरङ र सुनसरी जोड्ने बूढीखोलाको पुलमाथि यमदूतरूपी एउटा मालवाहक ट्रक आइपुग्यो। त्यो ट्रकले च्यापेपछि उनी एउटा खुट्टा गुमाउन बाध्य भइन्। एसएलसीजस्तो फलामे ढोका पार गर्ने बेलामा यस्तो नियति भोग्नुपर्दा कठै नीलमको मन कस्तो भयो होला? 
 
'त्यस्तो अवस्थामा पीडा त हुने नै भयो तर अस्पतालमै बसेर मैले एसएलसी दिई ७९ प्रतिशत अंक ल्याएँ', नीलम सम्झन्छिन्, 'पीडाको समयमा धैर्य र परिवारको सहयोग ठूलो हुँदो रहेछ।' 
 
त्यो दिन ट्रकले च्याप्दा उनीसँग हिँडिरहेकी साथी अञ्जना राईको त मृत्यु नै भयो। उनले थाहा पाउँदा उनको कम्मरदेखि माथिको भाग पुलको रेलिङमा थियो भने बाँकी भाग ट्रकभित्र। उनको खुट्टा जोड्ने ठूलो प्रयास गरे, बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानका डाक्टरहरूले। 
 
तर त्यो प्रयत्न गर्ने चिकित्साविज्ञानले पनि हार खायो। त्यसपछि सुरु भयो, नीलमको जिन्दगीमा विरक्तलाग्दो क्षण। दुई खुट्टाले ठमठम हिँड्ने बानी थियो, एउटा खुट्टाको सहारामा हिँड्न पनि गाह्रो। फेरि समाजमा अपांग भएर हिँडडुल गर्दा हुने हीनताबोध पनि उनको पीडाको अर्को कारण बन्यो। 
 
... 
 
तर, अपांगता भएकी नीलमलाई नवविवाहित श्रीमान्को ठूलो साथ र सहयोग रह्यो। उनले नीलमप्रतिको प्रेममा कहिल्यै कमी आउन दिएनन्, बरु थप प्रेम गर्न थाले। विस्तारै एउटा खुट्टा गुमाएकी नीलमको घाउमा खाटा बस्दै गयो। बाँकी जीवनलाई खुसी र उमंगका साथ बिताउने प्रतिबद्धता पहाडजस्तो भएर उभियो, उनको मनमा। 
देब्रे खुट्टाको तिघ्रामुनिको पूरै भाग गुमाएपछि अहिले वैशाखीको सहारामा हिँड्छिन् उनी। अहिले एउटै खुट्टा काफी छ उनका लागि। एउटा खुट्टाको सहाराले छमछमी नाचेर उनले दर्शकको मन जितिरहेकी छन्। 
 
विभिन्न उत्सव र महोत्सवमा एउटा खुट्टाले नाच्ने नर्तकीका रूपमा उनलाई निम्त्याइन्छ। त्यस्ता उत्सव र महोत्सवमा उनले 'वाहवाही' बटुलिरहेकी छन्। भन्छिन्, 'आत्मविश्वास भन्ने कुरा निकै ठूलो हुँदो रहेछ। आत्मविश्वास पनि मेरो लागि अगाडि बढ्ने सहारा भयो।' 
एउटै खुट्टा काफी छ नीलमका लागि। एउटा खुट्टाको साहाराले छमछमी नाचेर उनले दर्शकको मन जितिरहेकी छिन्। 
उनलाई आफू अपांग भएकोमा कुनै हीनताबोध छैन, बरु उनको क्षमता सांग व्यक्तिको भन्दा कम छैन। सुन्दर व्यक्तित्व, नाच्ने खुबी, स्पष्ट बोलीचाली अनि स्नातक तहको शैक्षिक योग्यता नीलमका सम्पत्ति हुन्। यिनै सम्पत्तिले नीलमको उचाइ थपिदिएको छ, उनले पहिचान प्राप्त गरेकी छन्। 
 
भर्खरै सिन्धुली महोत्सवमा नाचेर दर्शकको मन जित्दा नजित्दै उनलाई धनकुटा महोत्सवमा नाच्नका लागि निम्ता आइसकेको छ। 'सकेसम्म त म निम्तो अस्वीकार गर्दिनँ', उनी भन्छिन्, ' एक खुट्टाले हिँडेको देख्दा नाक खुम्च्याउने दर्शक नृत्य हेरिसकेपछि स्यावासी दिन्छन्।' 
 
धेरै कमाउन नसके पनि नाचेरै उनको जीवन चलिरहेको छ। नृत्यकलाले उनलाई आत्मनिर्भर बनाउँदै लगेको छ। 
 
... 
सुरुमा अपांग हुनुको हीनताबोधले नसताएको होइन उनलाई। 'तर, जीवनमा जे हुनु भइहाल्यो', उनले यसरी नै चित्त बुझाइन्। केही समय विराटनगरस्थित नेपाल अपांग महिला संघमा स्वयंसेवीका रूपमा काम गर्दा त्यहाँ कार्यरत भीमा खतिवडा र मीना आचार्यले उनलाई बिर्सिनसक्नु सहयोग गरे। 
 
उनीहरूको प्रेरणाले क्रमश: नीलमको जीवनको मोड पनि फेरिन थाल्यो। उनले एउटै खुट्टाको सहाराले नाच्न सुरु गरिसकेकी थिइन्। 
 
राष्ट्रिय अपांग महासंघ र अपांग महिला संघले विराटनगरमा विश्व अपांगता दिवस मनाउँदै थियो। र, खोजी भइरहेको थियो- एकजना नृत्यांगनाको। 'संघका दिदीहरूले नाच्नुपर्छ भन्न थाल्नुभयो', नीलम भन्छिन्, 'त्यसपछि म मञ्चमा उक्लेँ। 
सुरुमा डर लागेको थियो, नाच्न थालेपछि तालीको गडगडाहटले मलाई हौसला मिल्यो।' त्यही दिनको नृत्यपछि उनी एउटा खुट्टाले नाच्ने कलाकारका रूपमा परिचित बनिन्। उनको परिचयको सुवास देशभर फैलँदो छ, दिनदिनै। 
 
... 
 
अहिले विभिन्न ठाउँमा सडक दुर्घटना भइरहेका छन्। अनुभवी चालक नभएका कारण यस्ता दुर्घटना हुने गरेका हुन् भन्ने लाग्छ उनलाई। 'म पनि यस्तै अनुभवहीन चालकले चलाएको ट्रकबाट च्यापिएँ सायद', उनको अनुमान छ। 
 
उनले सुनेकी छन्, कतिपय चालकलाई घूसको भरमा लाइसेन्स दिने गरिएको छ। 'त्यसो भएपछि किन दुर्घटना नहोस् त?', उनी भन्छिन्। उनी चालकलाई राम्रो तालिम र शिक्षा दिनुपर्ने माग गर्छिन्। 

साभार अन्नपूर्ण
यसमा तपाईको प्रतिक्रिया

थप नागरिक र जीवन