अमेरिकादेखि आरुपोखरीसम्म
२०६८ पुस १२ गते, मंगलवार ११:३९:३९ बजे
कक्षा ४ देखी १२ सम्म बूढानीलकण्ठमै पढेका सुवास स्नातक तहको अध्ययन गर्न अमेरिका हान्निए। त्यहाँ त सबैलाई चकित नै पारेर दे खाइदिए। मिनिसोटाको सेन्ट ओलफ विश्वविद्यालयमा अध्ययनरत विश्वभरका ७ सय १९ जना विद्यार्थीलाई उछिन्दै सर्वोत्कृट भए। विश्वविद्यालयका प्रेसिडेन्ट डेभिड एन्डरसनले उनलाई 'डिस्टिङ्गुइस्ड सिनियर लिडरसिप एवार्ड' ले सम्मानित गरे।
अन्तर्राष्ट्रिय सम्बन्ध र राजनीतिशास्त्रमा स्नातक उत्तीर्ण सुवासले त्यही योजना बनाएका थिए, फलस्वरूप उनले आफू जन्मिएको गाउँ आरुपोखरीमा एउटा स्कुल खोल्नका लागि आफ्नै अध्यक्षतामा 'सरस्वती पिस फाउन्डेसन' संस्था खोले।
सात वर्षपछि आफ्नो जन्मथलो गोरखाको आरुपोखरी पुग्दा उनी कम खुसी थिएनन् । नहुन् पनि किन ? उनी आँखाभरि सपना, मनभरि रहर र उमंगहरू बोकेर अमेरिकाबाट फर्किएका थिए । आरुपोखरीमा आफूले छरेका आशाका बीउ फलाउन र फुलाउन अमेरिकाको प्रतिष्ठित अनुसन्धान संस्थाको जागिरलाई समेत उनले बाईबाई गरे । तलब पनि लोभलाग्दो थियो, वाषिर्क ५० हजार डलर । तैपनि उनलाई अमेरिकाले मोहनी लगाउन सकेन ।
उनले आफ्नो पुरानो विगत सम्झिरहेका थिए । १४ वर्षअघि आरुपोखरीको दरबार माविमा चार कक्षामा अध्ययनरत हुँदा पेसाले इन्जिनियर अंकल चूडामणि घिमिरेले काठमाडौँबाट खबर पठाए ।
बूढानीलकण्ठ स्कुलले देशभरका उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पढाउने व्यवस्था गर्दैछ । 'परीक्षामा राम्रो गर्यौ भने तिमीले पनि अवसर पाउनेछौं ।' मुलुकभरका ४ हजार विद्यार्थीको परीक्षा लियो बूढानीलकण्ठ स्कुलले । सुवास परीक्षा दिन दमौली पुगे । त्यसको केहीपछि रिजल्ट सार्वजनिक भयो । चार हजार विद्यार्थीमध्ये ३२ जना छानिए । रेडियो नेपालले बिहान र बेलुकी ७ बजेको समाचारपछि उत्कृष्ट विद्यार्थीको नाम र ठेगाना प्रसारण गर्यो र सूचना दियो, 'आफ्ना अभिभावकका साथमा भर्ना हुन बूढानीलकण्ठ आउँनु' भनेर । बुबा रविलालसँग पहिलो पटक उनी काठमाडौँ हिंडे । आरुपोखरी देखी धादिङबेसीसम्म नौ घण्टा पैदल हिंडेपछि बल्ल गाडी चढ्न पाइयो अनि उनले देखे शहरका ठूलठूला भवन, बिजुली, गाडी, मोटर र अरू थुप्रै चीज ।
गाउँको सामान्य स्कुलबाट एक्कासि राजधानीको बूढानिलकण्ठ स्कुल पुग्दा अनौठो र गाह्रो दुवै महसुस भयोे । बिस्तारै बानी पर्दै गयो । पढाइमा राम्रो गर्दै गए । ५ कक्षा पढ्दा नेपालीमा ९७ र कलामा ९४ नम्बर ल्याए । 'राजा वीरेन्द्रले सम्मान दिएका थिए,' उनले सम्झँदै भने, 'एसएलसीको बोर्डमा जम्मा ६ नम्बरले परिएन ।' कक्षा ४ देखी १२ सम्म बूढानीलकण्ठमै पढेका सुवास स्नातक तहको अध्ययन गर्न अमेरिका हान्निए । त्यहाँ त सबैलाई चकित नै पारेर देखाइदिए । मिनिसोटाको सेन्ट ओलफ विश्वविद्यालयमा अध्ययनरत विश्वभरका ७ सय १९ जना विद्यार्थीलाई उछिन्दै सर्वोत्कृट भए । विश्वविद्यालयका प्रेसिडेन्ट डेभिड एन्डरसनले उनलाई 'डिस्टिङ्गुइस्ड सिनियर लिडरसिप एवार्ड' ले सम्मानित गरे ।
अन्तर्राष्ट्रिय सम्बन्ध एवं राजनीतिशास्त्रमा स्नातक उत्तीर्ण सुवासले त्यही योजना बनाएका थिए, फलस्वरूप उनले आफू जन्मिएको गाउँ आरुपोखरीमा एउटा स्कुल खोल्नका लागि आफ्नै अध्यक्षतामा 'सरस्वती फाउन्डेसन' संस्था खोले । त्यतै बस्दा काम पनि सुरु गरे । अन्य केही साथीले उनको काममा साथ दिए । 'क्लिन्टन ग्लोबल इनिसियटिभ युनिभर्सिटी' ले सुवासलाई 'डेभिस पिस ग्रान्ट- २०१०' बाट सम्मान गरेपछि त थप ऊर्जा मिल्यो । सहयोगस्वरुप ६ हजार अमेरिकी डलर दिएपछि त पैसाभन्दा काम नै ठूलो रहेछ भन्ने लाग्न थाल्यो र अन्ततः उनी स्वदेश फर्किए ।
केही साताअघि गोरखामा पाइला टेक्दा उत्तरतिरको चुरुङ र दक्षिणमा तान्द्राङ कुहिरोले ढपक्क छोपिएका थिए । यिनै दुई होचा पहाडको बीचमा छ, आरुपोखरी, जहाँ अमेरिकामा भोगिरहेको शानको जीवन त्यागेर स्वदेश फर्किएका सुवास घिमिरेले मुलुककै नमुना स्कुल स्थापना गरेका छन् । सुवासले योजना बुनेको आरुपोखरीको सरस्वती शान्ति स्कुल मुलुककै लागि नमुना स्कुल हुनसक्छ । त्यही भएर होला, गोरखाबजारबाट गाउँतिर गुडेका बसहरूभित्र प्रायःजसो यात्रुहरूले उक्त स्कुलका बारेमा कुरा गरिरहेका भेटिन्छन् । गाउँघरतिर पानी, पूधेरा र चौतारीमा जम्मा भएका गाउँलेहरू पनि सरस्वती स्कुलकै बारेमा गफिइरहेका हुन्छन् ।
आरुपोखरी वरपरका स्कुलका प्राथमिक तहका कक्षाहरू प्रायः रित्ता भैसकेका छन् । अझ पोखरा, बुटवल, चितवन, काठमाडौँ आदिका बोर्डिङ स्कुलमा पढाइरहेका अभिभावकले आफ्ना सन्तान फिर्ता ल्याइसके । कारण हो, सरस्वति शान्ति स्कुलमा आफ्ना सन्तानलाई पढाउने चाहना । मानिसहरू किन यति धेरै लालायित भए ? किन भने यहाँ पढाउने शिक्षकहरू अमेरिकाबाट आउँदैछन् र अध्यापनको शैली पनि अन्तभन्दा फरक हुनेछ । 'पढाइमा अभिरुचि जगाउन चित्रकला, नाटक, अभिनय, कथा वाचन आदि शैली अपनाउनेछौँ,' सुवास भन्छन् । गरिब, जेहेन्दार तथा सशस्त्र द्वन्द्वमा आमा बुबा गुमाएका बालबालिकाहरूले यहाँ निःशुल्क पढ्न पाउनेछन् । त्यसबाहेक अरूले भने शुल्क तिर्नुपर्नेछ । युद्धको मनोवैज्ञानिक असर परेका, टुहुरा बालबालिकालाई पढाउने लक्ष्य लिएको बताउँछन् सुवास । घिमिरे भन्छन्, 'पालनपोषण गर्ने, हुर्काउने, पढाउने, अभिभावक गुमेपछि कलिला बालबालिकालाइ कसले पढाइदिने ?' 'कम्तीमा २० जना राम्रा विद्यार्थी जन्मिए भने उनीहरूले देशलाई केही योगदान देलान् ।' भर्ना आवेदन खुलेकोे एक साताभित्रै ४ सय जनाले आवेदन दिए । त्यो संख्या अझ बढेकाले भर्ना नै रोक्नुपर्यो ।
अबको केही महिनाभित्रै पढाइ सुरु हुने सरस्वती शान्ति स्कुलमा अमेरिकाबाट एक दर्जन शिक्षक आउँदैछन् । ती युवा शिक्षकले एक वर्षसम्म आरुपोखरीको सरस्वती शान्ति स्कुलमा निःशुल्क पढाउनेछन् । विकासोन्मुख र द्वन्द्वबाट गुजि्ररहेको देशमा अनुभव बटुल्न ३५ जनाभन्दा बढीले यहाँ आउन आवेदन दिएका थिए । तीमध्ये एक दर्जनलाई सुवास र उनका साथी निकोलस काङले छनोट गरेका हुन् । चाँडोभन्दा चाँडो नेपाल आउन उत्सुक अमेरिकन शिक्षकहरू नेपाली भाषा, संस्कृति, परम्परा एवं बोलीचालीको अध्ययन गरिरहेका छन् ।
भगवानले भन्छन् रे, 'तँ आँट म पुर्याउँछु ।' सुवासको सुन्दर अभियानलाई धेरैले साथ दिँदैछन् । लन्डनको इन्भेस्टमेन्टकी निर्देशक एनिया लिचोटाले सुवासको कामबाट प्रभावित भएर १५ हजार डलर दिइसकिन् । विकासोन्मुख देशलाई सहयोग गर्दै आएको अमेरिकाको 'इपिक चे न्ज' संस्थाले पनि १२ हजार डलर प्रदान गरिसकेको छ । त्यस्तै अमेरिकामा सँगै अध्ययन गरेका साथीहरू पनि बेलाबेलामा कार्यक्रम आयो जना गरेर पैसा उठाउँछन् र सुवासलाई प्रदान गर्छन् । अमेरिका जान मरिहत्ते गर्नेले सुवासबाट धेरै कुरा सिक्न सक्छन् । उनलाइ पैसा मात्रै कमाऊँ भन्ने लोभलालच कहिल्यै लागेन । पढ्न, बुझ्न र सिक्नका लागि मात्र अमेरिका जानुपर्छ, तर सधैँका उतै बस्न होइन भन्ने मान्यता बोकेका छन् उनले । 'पैसा कमाउने भए यहाँ आउँथे र ?' उनले भने, 'आफू मात्र खुसी भएर भएन । आफू जन्मिएको गाउँ पनि त बनाउनुपर्यो नि ।' सुवास मुस्काराउँदा पर हिमाल खुलेको थियो ।
- UMass Boston PhD Candidate Uttam Shrestha Receives Conservation Trust Grant
- नारायणलाई हेर्न तँछाडमछाड
- प्रेम एकअर्काको आत्मीयता, साझापन र लगावको अनुभूति
- Prof. Malla Ramesh B., Ph.D. (University of Massachusetts - 1986)
- Deputy Inspector General (DIG) Parvati Thapa Magar
- बारपाक र नारदपोखरी चिनाउ गोरखा बारपाकका सात दिदी वहिनी
- मिहनेत मरुभुमीमा गरे पनि खेर जाँदैन
- नारायणलाई हेर्न तँछाडमछाड
- Deputy Inspector General (DIG) Parvati Thapa Magar
- Prof. Malla Ramesh B., Ph.D. (University of Massachusetts - 1986)
- प्रेम एकअर्काको आत्मीयता, साझापन र लगावको अनुभूति
- अमेरिकादेखि आरुपोखरीसम्म
- बारपाक र नारदपोखरी चिनाउ गोरखा बारपाकका सात दिदी वहिनी
- UMass Boston PhD Candidate Uttam Shrestha Receives Conservation Trust Grant
- मिहनेत मरुभुमीमा गरे पनि खेर जाँदैन