शहिद कमला भट्ट र विमला भट्टकी आमासँग गरिइएको कुराकानी
२०६८ पुस १२ गते, मंगलवार ११:३४:३२ बजेमहिला नेतृ तथा महान् जनयुद्धको क्रममा २०५४ साल भाद्र ४ गते तत्कालिन अनेमसंघ क्रान्तिकारी की गोरखा जिल्ला सचिव सहिद कमला भट्ट शशी र महान् जनयुद्धकै क्रममा २०६१ कार्तिक १९ गते सहिद भएकी तत्कालिन अनेमसंघ क्रान्तिकारी की गोरखा जिल्ला अध्यक्ष विमला भट्ट सरु की सिम्जुङ्गको झ्यावाको दवाडी गाउँमा जन्मनुभई ६० वर्ष अगाडि ताकुमाझ लाकुरीबोट- ५ जफदीका दिनानाथ भट्टसँग विवाह बन्धनमा बाँधिएकी ७१ वर्षीया वृद्धा आमा गंगा देवी भट्ट वहाँ गॊरखाको सबैभन्दा बढी सहिद छोरीहरु जन्माउने आमा हुन्छ सँग वहाँको जीवनको सेरोफेरोमा रहेर ऋषिराम भट्टराईले लिएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ ।
आमाको विवाह कति वर्षको उमेरमा भयो ?
१० वर्षको थिएँ म वहाँ श्रीमान् दिनानाथ ११ वर्षको हुनुहुन्थ्यो ।
विवाह भएको याद छ त?
१० वर्षको कच्चै थिएँ १० वर्षको मान्छेले के याद गर्नु विवाहको ।
पहिलेको जमानामा सासुको व्यवहार चर्को हुन्थ्यो भन्ने भनाइ छ तपाइलई कस्तो भयो ?
खेती किसान ढिकी जाँतो मेलापात दुःख त गर्नै पथ्र्यो सासुबाट अरुबाट सुनेको जस्तो दुःख पाइन ।
पहिलो सन्तान जन्मदा कति उमेरको हुनुहुन्थ्यो ?
जेठी छोरी मिठु एकमाया जन्मदा २२ वर्षको थिएँ ।
छोरा छोरी कति जन्मिए ?
७ ओटा छोरी र ३ ओटा छोरा । १ छोरा जन्मेको केही दिनपछि नै खेर गयो । त्यति बेला मलाई ठेउलाको रोगले सतायो । ७ ओटा छोरी सग्लै थिए २ लडाईँमा परे कमला र विमला ।
अहिले घरमा कति जना हुनुहुन्छ नि ?
२ जना हामी मेरी दिदी साँहिली छोरीको छोरी कान्छी बुहारी र नातिनी जेठो छोरा विष्णु माओवादी पार्टीको काम गर्छ जेठी बुहारी पनि पार्टी मै कान्छो छोरा फुजेलमा मास्टरी गर्छ । सबै छोरीको विवाह भयो कािहंली छोरीलाई पनि घरका मान्छेले सताएर मारेका भन्ने सुनिन्छ आफ्नै घरमुनि आरसिपी भवनमा कान्छी र ठुली मान्छीको तल दरौंदी किनारको अर्कुलमा सेना पुलिसले ज्यान लिए ।
अहिले आफ्नी दिदी पनि पाल्नु भएकी रहेछ ?
पालेकी छु । ७४ वर्ष भइन् उनी दिदीको ९ वर्षको उमेरमा लप्सी बोटे अधिकारीसँग विवाह भयो । भिनाजुले हेला गरी १०-१२ वर्ष पछि अको विवाह गर्नु भयो । ९ वर्ष अघि भिनाजु बित्नु भयो । दिदीबाट जायजन्म भएन सहारा कोही नभएपछि मैले ल्याएर पालेकी छु ।
कमला छोरीको बारेमा बताइदिनुहोस् न ?
पढ्न टाठी थिई ऊ । मनाङसम्म भित्तामा लेखी पाटीको काममा हिड्थी ऊ । ऊ गोरखा क्याम्पसमा भर्ना भई गाउँकै च्यानडाँडाको स्कूलमा पढाउँदै पाटीको काममा खट्थी । गाउँका मान्छेहरु तेरी छोरीलाई मार्छन् अब भनेर हल्ला िफंजाउँथे । म थरर्र काम्दै रुन्थें । कमला रातोदिन पाटीकै काममा लागिरहन्थी कहाँ जान्थी मलाई त्यति थाहा हुँदैनथ्यो ।
कमला छोरीलाई दरौंदी किनारको अर्कुलमा मार्नु अघिल्लो दिन कमला कहाँ हुनुहुन्थ्उ भन्ने केही थाहा छ तपाईलाई ?
ऊ च्यानडाँडाको स्कूलमा पढाउँदै थिई त्यसै अघिल्लो दिन मुच्चोक कुसुण्डेकी जेठी दिदी औषधी लिन आँपपिपल गएको भन्ने सुनें कमला छोप्राकको बुढो मामलीमा बसेकी भन्ने सुनें । अनि त्यतैबाट अमराई हुँदै भोलिपल्ट रिम रिम उज्यालोमा हतार हतार पढाउन पुग्नु छ भन्दै तल्लो गोहोरेमा आई बसेको भन्ने कुरा सुनें चिया पनि नखाइकन अर्कुलतिर झर्ने ओरालो झर्दै गर्दा अनेक रंगका मानछेले सोधी खोजी गरेछ भन्ने सुनें लुक्कन छपन गरे जस्तो गरे सोध्ने मान्छेले पछि त्यहीं पुलिसले पछ्याउँदै अर्कुलको ओरालोमा नानाभाँती गरेर मारेको भन्ने गाउँलेहरुले दरौंदी किनार अर्कुलमा देखेछन् ।
उनीलाई मारेको ठाउँ अर्कुलमा तपाईं पुग्नु भयो त ?
के जानसक्नु नि म जान सकिन । बा जानु भयो अनि गाउँलेहरु गए ।
विमलालाई मारेको दिन विहान विमला सहित साथीहरु घरमै आउनु भएको थियो हो ?
भात खाने बेलामा बिहान ११ बजेतिर ३ जना हाम्री छोरी १ छोरामान्छे र अर्की केटी आएका थिए । चिल्लो राखेर भात पकाई ख्वाएँ । उनीहरु केहीबेर आराम गरेर पर्खालमा बसे । म बारीमा साग टिप्न गएँ दिउँसो तिर ।
कति बजेतिर उनीहरुलाई मारे ?
म तोरीको साग ६ ७ मुठा टिपें होला ३ ४ ओटा मुठाको जरा काट्दै थिएँ ३ ४ चोटी ढ्याङ्ग ढ्याङ्ग आवाज सुनें २ मुठा जति सागको जरा काट्न बाँकी रहँदा फेरि ढ्याङ्ग ढ्याङ्ग आवाज आयोपछि बन्दुकको आवाज भन्ने पत्तो भएन मलाई । स्कूले नानीहरु स्कूलबाट फर्किसकेकाले साँढे ४ बजे तिर होला मारेको ।
गोली चलेपछि गाउँमा होहल्ला भएन ?
तलका जिम्वाल साँइलाले डाँडाघरेलाई बोलाइदेओ भन्ने हल्ला सुनें उनैले बोलाए अरे गाउँतिरका सारालाई तल आरसिपी भवनमा विमलालाई गोली लाग्यो भन्ने गाईं गुईं कानमा पर् यो । त्यत्तिकै आगनमा लडें मुर्छा परें । मलाई केही भएको छैन भनेर गाउँलेहरुले सम्झाएछन् पनि म उत्तानो परेर मुर्छामा परेछु । उसका बा त्योबेला काठमाण्डौ जानु भएको थियो । मलाई वज्रले हाने जस्तो भयो । मेरो त्यस्ति अपारकी छोरीलाई खाईदिए असती आर्मि प्रहरीहरुले ।
आर्मि प्रहरीले छोरीहरु मारी सके पछि तपाई र गाम्लेहरु आरसिपि भवनमामारेको स्थान जानु भयो त?
सय डेडसय सेना प्रहरीले त्याहु घेरेर बसेको छ भन्ने पछि सुनँे म अहिले सम्म गएको थिइन् पोहोर र अहिले फोटोमा फूलमाला र अविर चढाउन विमला मारेकै दिन १९ गते आरसिपि भवनमा गएँ । विमलालाई मारेको वेलाँ गाँउलेहरुलाई पनि सेनाप्रहरीले वरपर नवस भनेर हप्की दप्कि लाएपछि गाँउलेहरु फर्केछन् आरसिपि भवनकै पश्चिम दछिनमा दुई खाल्टो खनी छोरा मान्छेलाई क्षेत्र वहादुर महत एउटामा अर्को खाल्टोमा हाम्री छोरीविमलार अर्कि नानी सुजना त्रिखत्रीत्यतिकै पुरपार पारि सेना हिडेको गाँम्लेले भने पछि थाहा पाएँ ।
सहिद छोरी विमलाको वारेमा केहि वताई दिनुहोस्न ?
ऊ गाँउकै हाई स्कुलमा पढ्दा देखिनै पार्टिको काममा हिडिरहन्थी पढ्नमा तेज थी एस।यल।सि दिदादिदै जौंवारी स्कुलबाटै उ पार्टिमा हिडेको दिन उ हम्सपुरको अधिकारी गाउँ पुगेको थिएँ भनेर दुई हप्ता पछि घर फर्के पछि जनता र देशको लागि जनयुद्धमा हिडेको आमा भन्थी । उ अपारकी छोरी थिईन ।
जनयुद्धकालमा आर्मी र प्रहरीले घरमा आएर यातना दिने काम गर् यो कि?
किन नआउननि पटक पटक रात साँझमा घरमा छापा मार् यो । बुवालाई पिट्ने थुन्ने धान कोदोबको भकारी फोर्ने जाँतो हुर् याइदिने ट्याँका फोर्ने देखिको काम गरेर रातमा बाँच्न त्राही त्राही बनायो ।
खेती लगाएर वर्षभरि खान पुग्छ त?
यो वर्ष पनि वर्षात राम्रो भएन धान कोदो गरेर दुखले ४ महिना जति खान पुग्छ ।
जनयुद्धमा आफ्नो कोखवाट जन्मेको दुई छोरी गुमाउनु भएको छ । छोरीहरुको सम्झनामा गाँउमा के - के चिज बनाइएको छ त?
एक पल्ट पार्टिले चौतारा वनाउने कुरा गरेको थियो । तर अहिले सम्म्ा गाँउमा चौतारापाटीपौवा वनेको छैन । अन्त्ा त धेरै काम गरेको भन्ने सुन्छु ।
तपाईको विचारमा सहिद छोरीहरुको नाममा के बने देखि राम्रो हुन्थ्यो होला ?
पार्टी पौवा नै बनाई दिए राम्रो हुन्थ्यो । घाम पानीले जोगिने थिए भरिया बटुवाहरु । गरिवले रात काट्न पनि पाउँथ्यो ।
दुई छोरी सहिद जन्माउनु आमाको नाताले एनेकपा माओवादी पार्टीलाई कस्तो होस् भन्न चाहनु हुन्छ?
हाम्रा छोरीहरु जस्तै १० १२ हजारले नयाँ नेपाल बनाउनलाई ज्यान दिए गरिवको सपना सहिदको सपना पूरा गर्नको लागि व्यक्तिगत लालच त्यागी काम गर्नु पर्छ त्यो सबैले हेर्न चाहेका छन् । नराम्रो काम नगरोस् सरकारमा गएर देशको राम्रो र विकासको काम होस् । म यही चाहन्छु ।
सहिद परिवारलाई सरकार र पार्टीबाट के आशा गर्नुभएको छ ?
हामी बुढाबूढी भइयो काम गर्न सकिदैन बुढाबूढी र बालकको हेरचाह गर्छ भन्ने हामीलाई आश छ । गरिवको दिन फिर्ने छन् सबैले सुख पाउने छन् । हाम्रा छोरीहरुको रगत खेर नजाओस् ।
मिति : २०६६।७।२३ गोरखा
यसमा तपाईको प्रतिक्रिया
थप अन्तवार्ता
धेरैले पढेको