मोदनाथको प्रश्न : जनै टुप्पी राख्दिँन, पूजापाठ गर्दिँन, म कसरी हिन्दु भएँ ?

२०७१ मंसिर १३ गते, शनिवार १६:४२:१७ बजे

मैले हिन्दु राष्ट्र हुनुपर्छ भनेको छैन : मोदनाथ प्रश्रित

Modnath prasit

अरुण बराल

१३ मंसिर, काठमाडौं । नेकपा एमालेका पूर्वनेता, पूर्वशिक्षामन्त्री एवं संस्कृतिविद डा. मोदनाथ प्रश्रित यतिबेला विवादमा छन् । विशेष गरी जातीय राज्यको आलोचना, नेपाललाई धर्म निरपेक्ष बनाउनुहुन्न भन्ने मान्यता र पृथ्वीनारायण शाहको प्रशंसा लगायतका विषयमा प्रश्रितमाथि आलोचना हुने गरेको छ ।

अनलाइनखबरकर्मीले शनिबार बिहान थानकोटस्थित निवासमै पुगेर प्रश्रितलाई उनीमाथि लाग्ने गरेका आरोप र धर्मसम्बन्धी उनको विचार बुझ्ने प्रयास गर्‍यो ।

कम्युनिष्ट नेता प्रश्रितले आफू हिन्दु नभएको र हिन्दुराष्ट्रको वकालत नगरेको स्पष्ट पारे । हिन्दु राष्ट्र घोषणा गर्दा मुलुकमा साम्प्रदायिकता बढ्ने उनले बताए ।

गढीमाईमा भइरहेको पशुबलीबारे प्रतिक्रिया दिँदै उनले परम्पराभन्दैमा रुढीवादलाई प्रश्रय दिन नहुने बताए । ‘परम्परा भनेर अन्धविश्वासलाई त मान्न भएन नि, उनले भने- ‘परम्परामा त तीनवटी विवाह गर्ने पनि थियो ।’

एक जमानामा तपाईका धेरै फ्यान थिए । अचेल ‘सोसियल मिडिया’मा गाली खान थाल्नुभएको छ, यस्तो किन भएको होला ?

- सत्य कुरा यो हो र यसले राष्ट्रको हित गर्छ भन्ने बुझिसकेपछि त्यसबारे एक्लै भए पनि बोल्नुपर्छ । पृथ्वीनारायण शाहका बारेमा मैले त एक्लै बोलेको हो नि । आखिरमा १० वर्षपछि आएर प्रचण्डले पनि पृथ्वीनारायण शाह ठीक हो भने । अहिले आएर गोपाल किरातीले पनि ठीक हो भने । गोपाल किराती पृथ्वीनारायण शाहका सबैभन्दा विरोधी हुन् पहिले ।

म के हिन्दु भएको छु र ? मैले जनै र टुप्पी राखेको छैन । दलितहरुसँग खाइराखेको छु ।

यस कुरालाई पत्रिकाले विश्लेषण गर्नुपर्ने थियो । आजसम्म मोदनाथले यसो भन्दा राजतन्त्रवादी र दलाल हुने, अनि प्रचण्डले भन्दाखेरि उनी क्रान्तिकारी नै रहने भन्ने हुन्छ र ?

मान्छे सत्य कुरा बोल्दाखेरि कहिलेकाँहि लहरको थिचाइमा पर्छ । तर त्यस्तो कुरोमा जो मान्छे अडिन्छ, एक दिन न एक दिन वास्तविकता अगाडि आउँछ । आँधी आएका बेला बलिया रुखहरुमात्रै अडिन सक्छन् । त्यसैले कसले निन्दा गर्छन् वा कसले प्रशंसा गर्छन् भन्ने कुरा महत्वपूर्ण होइन ।

मोदनाथ त खुँखार जनजाति विरोधी भयो भन्छन् नि ?

- मैले कहाँ जनजातिको विरोध गरेको छु र ? मैले जातीय राज्य हुन्न भन्नुको अर्थ जनजातिको विरोध त होइन नि । मैले ब्राह्मणवादबाट अवहेलित भएका दलितहरु र सबै जातका पक्षमा लेखेको छु । जनजातिका आधारमा राज्य खडा हुन सक्दैन भन्ने जनजाति विरोधी कुरा होइन ।

अरुले जे-जे विश्लेषण गर्छन्, त्यो उनीहरुको कुरा हो । तर, मैले जातीय राज्यबाहेक कहीँ पनि जनजातिहरु बेठीक हुन् भनेर लेखेको पनि छैन, बोलेको पनि छैन । नेपालका सबै दाजुभाइ दिदी बहिनी हुन्, मैले त्यस्तो बोल्नुपर्ने आवश्यकता पनि छैन ।

तर, विगतमा तपाईले आफ्नै ब्राह्मण जातिको विरोधमा त प्रशस्तै लेख्नुभयो नि हैन र ?

- त्यो त लेखें । ब्राह्मणवादको समर्थन र विरोध केबाट हुन्छ भने चार वर्ण भनेको कुनै जन्मशिद्ध होइन, यो श्रम विभाजन हो । यो वर्ण व्यवस्था बेठीक हो ।

अहिले विगतको मोदनाथ र अहिलेको मोदनाथको विचारमा संगति देखिन छाड्यो भन्नेहरु पनि छन्, यस्तो किन ?

- त्यतिबेला वर्ण व्यवस्थाको विरोध गर्नु आवश्यक थियो । वर्णव्यवस्थाले समाजलाई साह्रै छिन्न भिन्न पारेको थियो । जातपात, छुवाछुत, उपाध्याय, जैसी, दशथरि जैसी गरेर मानव समाज विभाजित थियो । यो विभाजनलाई भत्काउनका लागि त गैंती चलाउनै पथ्र्यो । त्यो चलाएर म त दलित मुक्ति आन्दोलनमा लागेको मान्छे हुँ ।

प्रचण्डबहादुरसँग बसेर हामीले जातपातविरोधी अभियान चलायौं । त्यो त हाम्रो लिखितै छ । हामीले कुवाहरुमा गएर पानी उघायौं । मन्दिरहरुमा प्रवेश गरायौं । आफन्तहरुमा कत्रो वैरभाव भयो ।

जनजातिको पक्षमा मैले मानव महाकाव्यमा मानवताको कुरा गरेर सबै मानिस समान हौं है भनेको छु । त्यसपछि ‘जातपात छुवाछुत प्रथा, मानवताको कलंक’मा त्यसलाई अझ गहिरोसँग विश्लेषण गरियो । बाहुन क्षेत्री र मगर गुरुङको वीचमा देखाउनुपर्ने कुरा हली भएर बसेकाहरुका बारेमा मैले ‘आमाको काखमा’ नाटक लेखें । योभन्दा कति गर्ने ? सधैंभरि एउटा मान्छेले मात्रै कति कराइराख्ने ?

तर, अहिले ती चरणहरु हामीले पार गरेर आयौं । अहिले त निर्माणको बेला हो । अहिले मोदनाथले धर्मको प्रचार गर्न थाल्यो भनेर भन्याछन् । तर, मैले धर्मको प्रचार कहाँ गरेको छु ? मैले के भनेको छु भने हरेक देशका आ-आफ्ना विशेषता हुन्छन् ।

तपाई हिन्दुवादी हो कि हैन ?

- म के हिन्दु भएको छु र ? मैले जनै र टुप्पी राखेको छैन । दलितहरुसँग खाइराखेको छु । म पूजापाठ गर्दिँन, जनै टुप्पी राख्दिँन । छविलाल विश्वकर्मा खुरुखुरु यहाँ भान्साभित्र आएर खाना खान्छन् । त्यसैले अब यस विषयमा लड्नुपरेन ।

धर्म निरपेक्ष पनि नभन्ने, हिन्दुराष्ट्र पनि नलेख्ने । नेपालमा सबै धर्मलाई धार्मिक स्वतन्त्रता छ, तर, धर्मको नाममा किनबेच गर्न पाइने छैन भनेर लेख्नुपर्छ

उसोभए तपाई नेपाललाई हिन्दुराष्ट्र बनाउनुपर्छ भन्ने अभियानमा किन लाग्नुभएको त ?

- म हिन्दुराष्ट्र हुनुपर्छ भन्नेमा लागेको छैन । कसैले मोदनाथ प्रश्रतिले हिन्दुराष्ट्रको पक्षमा बोल्यो भनेर कहीँ एकसरो छापिएको देखाउँछ भने देखाओस् ।

नेपाललाई हिन्दुराष्ट्र बनाउनुपर्छ भन्ने तपाईको भनाइ हैन ?

- हैन ।

उसोभए धर्म निरपेक्षताको विरोध किन गरेको त ?

- धर्मनिरपेक्ष भन्नका लागि तपाईले विश्वमा पहिले धर्मका बारेमा के छ, त्यो हेर्नुपर्छ । युरोपमा धर्म निरपेक्ष भन्नेहरुले सपथ ग्रहण गर्दा बाइबललाई छोएरै गरिराखेका छन् । नेपाल पनि धर्म निरपेक्ष भन्छन्, तर भर्म निरपेक्ष भएको छैन ।

अहिले नेपालमा जति इसाइ धर्म प्रचार भइरहेको छ, युरोपेली सरकारका तर्फबाट भइरहेको छ । युरोपका पुँजीपतिले पैसा लगानी गरेका छन् । अरु धर्मको प्रचारले नेपालमा केही पनि हुँदैन । दक्षिणतिर हिन्दुस्तान भएको हुनाले पाकिस्तान र इस्लाम धर्मले हामीलाई धक्क दिन सक्दैन । त्यसैले हामीले इस्लाम धर्मका बारेमा बोल्नुपर्ने आवश्यकता पनि छैन । हाम्रो अर्घाखाँचीका मुसलमानहरुले त दसैं तिहार पनि मनाउन थालिसके ।

तपाईले भन्न खोजेको के हो ? नयाँ संविधानमा धर्मबारे के लेख्ने ?

- मेरो भनाइ के हो भने नेपालले धर्म निरपेक्ष भन्न सक्दैन । किनभने युरोपको आम्दानीको स्रोत साम्राज्यवाद हो, नेपालको आम्दानीको स्रोत भनेको पर्यटन हो । कृषि त हाम्रो सुकिसक्यो । हाम्रो अहिले देखिएकोमा सबैभन्दा ठूलो लुम्बिनीको बौद्ध पर्यटन हो ।

अहिले सरकारले लुम्बिनीको विकासका लागि भनेर बजेट छुट्याएको छ । पशुपतिको विकासको लागि छुट्याएको छ । मुसलमानहरु ह जगर्न जान्छन्, सरकारले पैसा दिन्छ । मन्दिरहरुको मर्मतका लागि सरकारले पैसा छुट्याउँछ । पृथ्वीनारायणको डोला लिनलाई काठमाडौंबाट सरकारले मान्छे पठाउँछ । मन्दिरहरुको टिकट छाप्छ । भर्खरै मनकामना मन्दिरको टिकटमा टाँचा लगाइयो । मन्दिरको टिकट छापेर प्रचार गर्नु भनेको धर्मको प्रचार हैन ?
नेपाल धर्म निरपेक्ष हो भने राज्यले धर्मका लागि खर्च गर्न पाइँदैन । अरु विकास निर्माणमा खर्च गर्न पाइन्छ, तर राज्यले धर्मका लागि खर्च गर्न पाइँदैन । धर्मले राज्यबाट लिने पनि छैन, खर्च गर्ने पनि छैन भनेको हो धर्म निरपेक्ष भनेको । यो कुरो नबुझ्दाखेरि धर्म निरपेक्ष भनिराखेको छ, राज्यबाट बजेट छुट्याइराखेको छ । यो त उल्टो कुरो भयो नि ।

मेरो विचारमा त धर्म निरपेक्ष भइदिए हुन्थ्यो । तर, साँच्चै धर्म निरपेक्ष हुनका लागि राज्य धनी हुनुपर्‍यो नि । सरकार प्रशस्त धनी भएर लुम्बिनी आफैं स्वायत्त ढंगले चल्न सकोस्, पशुपति आफ्नै ढंगले चल्न सकोस् अनि सरकारले धर्ममा गर्ने खर्च अरु क्षेत्रमा, बिजुलीमा खर्च गरिदिए हुन्थ्यो । त्यो गर्न सकेको छैन ।

लुम्बिनीको विकास नगरी भएको छैन भनेर पोखेको पोख्यै छ । धर्म निरपेक्ष भयो भने राज्यले धर्ममा एक कौडी पनि खर्च गर्न पाउने छैन । यो मूल सूत्रलाई चाँहि छाडेर ल मोदनाथले धर्म निरपेक्षको विरोध गर्‍यो भन्नु बेवकुफी हो ।

मैले के भनेको हो भने अहिले नेपालको राजस्व आउने सबैभन्दा महत्वपूर्ण आधार भनेको हाम्रो पर्यटन उद्योग हो । पशुपतिका लागि भनेर भारतबाट लाखौं मान्छे आउँछन् । लुम्बिनीका लागि लाखौं मान्छे आउँछन् । यसले राजस्व र व्यवसायमा वृद्धि हुन्छ । लुम्बिनीको विकासका लागि अहिले सार्कमा पनि त्यत्रो कुरा भयो । जुन देशको विशेषता जे छ, त्यसबाट आम्दानी गर्नुपर्‍यो नि । त्यसैले हाम्रो राज्यको विशेषतालाई नबुझी त्यसै पिटिर-पिटिर धर्म निरपेक्ष भनियो भने प्रगतिशील भइन्छ भन्नु त यान्त्रिक कुरो भयो नि । मोहनविक्रमले पनि यही कुरा गरे । उनलाई केही मतलव छैन, एउटा कुनामा बसेका छन् । कराइराखेका छन् । धर्म निरपेक्षताको गहिरो अर्थ नबुझिकन मान्छेहरु हाहा र हुहु गरिराखेका छन् ।

उसोभए मोदनाथ हिन्दुराष्ट्रको पक्षधर होइन, धर्म निपेक्षताको मात्रै आलोचक हो भनेर बुझ्दा हुन्छ ?

- मैले एउटा कार्यपत्र पेश गर्दा के भनेको थिएँ भने हिन्दु राष्ट्र भन्दा यसले साम्प्रदायिकतालाई वृद्धि गर्छ । त्यसैले हिन्दुराष्ट्र भन्ने पक्षमा म छैन । मेरो कार्यपत्रको आशय नेपालमा पाँचवटा मौलिक धर्महरु छन्, राज्यले पर्यटनको दृष्टिकोणले यी धर्महरुलाई प्रश्रय दिइराखेको छ, त्यसो भएको हुनाले अहिले धर्म निरपेक्ष राख्न सम्भव छैन । अहिले सम्भव छैन, पछि बनेछ भने म स्वागत गर्छु ।

नेपालले आफूलाई धर्म निरपेक्ष राष्ट्र बनाउन सकोस् । कुनै पनि धर्ममा लगानी नगरिकन राज्य चल्ने स्थितिमा जाओस् । त्यो गर्न नसक्ने अनि राँगा काट्नेलाई पनि राज्यले पैसाको व्यवस्था गरिदिनुपर्ने भएपछि यो नमिल्ने कुरा हो ।

तपाईको विचारमा नयाँ संविधानमा धर्मबारे के लेख्दा उचित होला ?

धर्म निरपेक्ष पनि नभन्ने, हिन्दुराष्ट्र पनि नलेख्ने । नेपालमा सबै धर्मलाई धार्मिक स्वतन्त्रता छ, तर, धर्मको नाममा किनबेच गर्न पाइने छैन भनेर लेख्नुपर्छ ।

किनबेच भनेर केलाई संकेत गर्नुभएको हो ?

- नेपालमा धर्मका नाममा किनबेच भइराखेको छ । यो कुरा किटानसाथ भन्नुपर्छ । बुद्ध धर्मले दुनियाँमा गएर साम्राज्यवाद विस्तार गरेको छैन । अहिले हामीलाई इस्लाम धर्मले यहाँ आएर केही गर्छ भन्ने पनि छैन । तर, भएको कुरो त भन्नुपर्‍यो नि । इसाइ धर्मले लगानीसहित यहाँका मानिसको धर्म परिवर्तन गराइराखेको छ । यो कुरो त बोल्नुपर्‍यो नि ।

इसाइहरु धर्म निरपेक्ष भनेर युरोपतिर खुब प्रचार गर्ने, अनि हामीकहाँ आएर पैसा पेली-पेली मान्छे किनी-किनी धर्म प्रचार गर्ने ? यसरी धर्मका नाममा साम्राज्य विस्तार गर्ने अनि धर्म निरपेक्ष भन्न मिल्छ ? मैले उठाएको कुरा यो हो ।

तपाईको कुरो सुन्दा त किरात, वौद्धहरुले खुशी हुनुपर्ने रहेछ हैन ?

- हो । उनीहरुले कुरा नबुझेर विरोध गरिरहेका छन् । किरात धर्मबाट पनि उनीहरुले पर्यटनको विकासको कोशिस गरिराखेका छन् । तर, किरात धर्मावलम्बीहरुले पनि नबुझेर धर्मनिरपेक्षताको कुरा गरेका हुन् ।

गढीमाई मन्दिरमा भइरहेको पशुबलीबारे तीव्र बहस भइरहेको छ । पश्चिमाहरुले समेत यो नेपाली प्रथाको विरोध गरिरहेका छन्, तपाई यसमा के भन्नुहुन्छ ?

- बहस गढीमाईबाट सुरु गरेर हुँदैन, हाम्रा पूर्वजहरुको जंगलयुगबाट सुरु गर्नुपर्छ । जंगलयुगमा मानिसहरुले शिकारबाट गुजारा गर्थे, शिकार गर्दा टाउको चाँहि आफ्ना इष्ट देवतालाई चढाउँथे ।

पहिले पहिले बाहुनहरुले बली दिन्थे । शाकाहारी भइसकेपछि कुभिन्डोलाई प्रतीक बनाएर पनि बली दिन थालियो । गढीमाईमा पनि प्रतीकात्मक रुपमा केही गर्न सकिन्छ

तर, अब त हामी सभ्य युगमा आयौं । अझ हामी त बुद्धको देशमा छौं । अहिंसात्मक देशमा छौं । यस्तो ठाउँमा एक दुईवटा काटिनु ठिकै थियो । तर, असंख्य पशुहरु मार्ने, खान पनि नखाने र त्यत्तिकै काट्ने भनेको त अविवेकको पराकाष्ठा हो नि ।

ती पशुहरु भनेका जनताका सम्पत्ति हनु् । ती पशुबाट किसानलाई कति फाइदा हुन्थ्यो ? दूध खान पाउँथे । राँगाको मासुलाई पनि व्यवसायमा लगाउन सकिन्थ्यो । त्यस्तो ठाउँमा देवीको पूजा गर्दा एक-दुईवटा काटिनु स्वाभाविकै हुन्थ्यो । तर, अन्धविश्वासले गर्दा मान्छेहहरुले त्यस्तो गरेका छन् । यो अन्धविश्वासको जिम्मेवार हामी पनि हौं । तपाई पत्रकार र हामी लेखकहरु पनि हौं ।

तर, यो त एउटा परम्परा हो नि । यसको विरोधमा पश्चिमा मिडियासमेत लागिरहेका छन् । बली त अन्यत्र पनि दिइन्छ, तर गढीमाईमा मात्रै यत्रो विरोध ?

- परम्परा भनेर अन्धविश्वासलाई त मान्न भएन नि । परम्परामा त तीनवटीसम्म विवाह गर्ने पनि थियो । परम्पराका खराब पक्षलाई आधुनिक संसारले के भन्छ भन्ने पनि विचार गर्नुपर्छ । त्यसैले गढीमाईको यो प्रचलन अन्धविश्वासमा आधारित छ ।

अब के गर्ने त ?

- यसलाई हामीले नगर भन्दैमा मान्दैनन् । सामाजिक चेतनाको विकास गरेर यसलाई न्यून गर्दै लानुपर्छ । सरकारले पनि यसलाई अलिकति नियन्त्रण गर्न सक्नुपर्छ । छुवाछुत प्रथालाई सरकारले कानूनै बनायो नि । त्यसैले त्यहाँ पनि कि कानून बनाएर या सम्झाइ-बुझाइ गर्नुपर्छ । बुद्धको देश, हिंसाको देश भनेर दुनियाँलाई घृणा गर्ने ठाउँ दिनु हुँदैन ।

पहिले पहिले बाहुनहरुले बली दिन्थे । शाकाहारी भइसकेपछि कुभिन्डोलाई प्रतीक बनाएर पनि बली दिन थालियो । काँक्राको बोको बनाएर चढाउने चलन पनि छ । यस्तै गढीमाईमा पनि प्रतीकात्मक रुपमा केही गर्न सकिन्छ । यसरुपमा हामीले जानुपर्छ ।

धार्मिक आस्था भनेको मान्छेको रुची रहेछ । तर, हामीले जेबाट देशको हित हुन्छ, जेबाट जनताको हित हुन्छ त्यसमा ध्यान दिनुपर्छ । कसैको पनि धार्मिक मामिलामा उसले ठीकै ढंगले गरेको अवस्थामा हस्तक्षेप गर्नु हुँदैन । तर, विज्ञानको प्रचारद्वारा धार्मिक रुढी र अन्धविश्वासलाई घटाउँदै लाने प्रयत्न गर्नुपर्छ । वर्ण व्यवस्था, जातपात र छुवाछुतको त हामीले विरोधै गर्नुपर्छ । धर्मले राज्यलाई फाइदा हुन्छ भने तबसम्म धर्म निरपेक्ष नभनौं ।

साभार अनलाईन खबर
यसमा तपाईको प्रतिक्रिया

थप अन्तवार्ता